कांग्रेस कोषाध्यक्षको १४ बुँदे पोखरा घोषणापत्र जारी

समाधान संवाददाता २०७५ चैत ३० गते १०:०३

पोखरा, समाधान

नेपाली कांग्रेस कोषाध्यक्षको तेस्रो राष्ट्रिय सम्मेलनले १४ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । पोखरामा २ दिने भेलापछि जारी घोषणापत्रमा महासमिति बैठकका विषयलाई पार्टीको विधानमा समावेश गर्न, माथिल्लोदेखि तल्लो तहसम्म निर्वाचनबाट नै कोषाध्यक्ष चयन गर्न, निष्ठा, लोकप्रियता, निरन्तरता, योग्यता र स्वच्छ छवि भएकालाई पार्टीमा उचित स्थान दिन माग गरिएको छ ।

सम्मेलनले प्रशिक्षण जस्ता कार्यक्रम अघि बढाउन, भातृ तथा शुभेच्छुक संस्थाको निर्वाचन निर्धारित समयमा गराउन, क्रियाशील सदस्यता पारदर्शी, वैज्ञानिक र निष्पक्ष भएर वितरण गर्न, मुलुकमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार विरुद्व विरोधका कार्यक्रम अघि सार्न पार्टीलाई आग्रह गरिएको छ ।

Advertisement

समितिका अध्यक्ष गोविन्द पुडासैनीद्वारा हस्ताक्षर गरिएको घोषणापत्रमा कास्की जिल्लाको क्षेत्र नम्बर २ लगायत संघ, प्रदेश र स्थानीय तहका रिक्त स्थानमा संविधान वमोजिम निर्वाचन गराउन सरकारसँग माग गरेको छ । कोषाध्यक्ष सम्मेलनले कांग्रेस उम्मेद्वारलाई विजयी गराउन सक्रिय बन्ने, जिल्लामा आर्थिक अभाव हुन नदिन लेबी संकलन गर्ने र ६ महिनाभित्र सबै जिल्लामा १० लाख रुपैयाँको आर्थिक कोष निर्माण गर्ने उल्लेख छ ।

त्यस्तै, प्रत्येक जिल्लामा आपतकालीन कोष व्यवस्था गर्नका लागि जिल्ला समितिलाई निर्देशन दिन केन्द्रीय समितिलाई आग्रह गरिएको छ । अहिलेसम्म खाता नखोलिएका जिल्लामा खाता सञ्चालनका लागि पहल गर्ने र २०७६ सालको नया वर्षसँगै पार्टी संगठन सुदृढ गर्न देशव्यापी अभियान संचालन गर्ने घोषणापत्रमा उल्लेख छ ।

Advertisement

सम्मेलनले गत चैत १७ गतेको आँधीहुरीका कारण बारा र पर्सा जिल्लामा भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै मानवीय सहयोगका लागि अनुरोध गरेको छ भने पूर्वसांसद रुद्रमणि भण्डारीको निधनमा दुख व्यक्त गरेको छ ।

सम्मेलन सफल पार्न सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै सरकारले महिलामाथि गर्दै आएको विभेद अन्त्य गर्न दबाब आवश्यक भएको कोषाध्यक्ष राष्ट्रिय कार्य समितिकी महासचिव लक्ष्मी पाण्डेले बताइन् ।

तपाईको प्रतिक्रिया