लेकसिटी पोखराबाट नेपाल भ्रमण वर्ष घोषणा

समाधान संवाददाता २०७६ वैशाख १ गते ८:२१

ईश्वर देवकोटा

२० लाख पर्यटक भित्र्यााउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष सन् २०२० पोखराबाट सुरुआत भएको छ । सफ्ट लन्चिङ स्वरुप पोखराबाट भ्रमण वर्ष शुभारम्भ गरिएको हो । यसअघि सन् १९९८ र २०११ लाई भ्रमण वर्ष मनाइसकेको नेपालले आउँदो २०२० लाई ‘लाइफ टाइम एक्सपेरियन्स’ नारासहित भ्रमण वर्ष उद्घोष गरेको हो ।

भ्रमण वर्षको शुभारम्भपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन नै समृद्धिको सूचक भएको बताए । ‘पर्यटनलाई प्रदेश विकासको पहिलो सूचक सरकारको कार्यनीतिमै व्यवस्था गरिसकेका छौं,’ उनले भने, ‘संघीय सरकारको कार्यक्रम पोखराबाट शुभारम्भ गर्न पाउँदा उत्साही छौं ।’

Advertisement

हवाई र सडक यातायातको तीव्रतर स्तरोन्नति एवं विस्तारले पर्यटक आवागमनलाई बल पुग्ने विश्वास उनले व्यक्त गरे । त्यस समयसम्म २० लाख पर्यटक भिœयाउन सबै किसिमका पूर्वाधार तयार गरिसक्नुपर्ने बाध्यता पनि भएकाले सरकारको जिम्मेवारी थपिएको मुख्यमन्त्री गुरुङले बताए । पर्यटन क्षेत्र पर्याप्त रोजगारीको अवसर सिर्जना गर्ने माध्यम भएको हुँदा सरकारको योजनालाई मात्रै कार्यक्रमको रुपमा नबुझ्न उनले आग्रह गरे ।

राष्ट्रिय भ्रमण वर्षलाई सहयोग गर्न प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष मनाइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जनाए । ग्रामीण स्तरबाटै पर्यटन क्षेत्रको विकास गर्न होमस्टे सञ्चालनमा समेत मन्त्रालय अग्रसर भएको उनले उल्लेख गरे ।

Advertisement

विदेशी पर्यटकको नेपाल यात्रा उनीहरुले जीवनभर संस्मरण गर्न लायक बनाउन अतिथि देवो भवः भन्ने मूलमन्त्रसहित स्वागत गर्न भ्रमण वर्ष कार्यक्रम संयोजक सुरज वैद्यले अनुरोध गरे । ‘पर्यटकले के चाहन्छन् भन्ने मूल कुरा हो,’ उनले भने, ‘नेचर, कल्चर र एडभेन्चरसहितको बसाई बनाउन अब सम्पूर्ण पर्यटन सम्बद्ध नेपाली व्यवसायीले हातमा हात मिलाउनुपर्ने बेला आएको छ ।’

भ्रमण वर्षको व्यापक प्रचारका लागि केही दिनभित्रमा नै नेपाल, भारत र चीनका महिलाले संयुक्त रुपमा सगरमाथा आरोहण तयारी गरिरहेको उनले जानकारी दिए । कार्यक्रम लक्षित नेपाल पर्यटन लगानी सम्मेलन पोखरामा नै गर्ने सम्भावना बढेको संयोजक वैद्यले सुनाए । इभेन्टको रुपमा मात्र नभई समग्र पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारको योजना सफल पार्न निजी क्षेत्रको समेत उत्तिकै भूमिका रहेको उनको भनाइ छ ।

वर्षेनी आउने १२ लाख पर्यटकको संख्या बढाएर २० लाख पु¥याउने लक्ष्य देशको राजस्व आम्दानीसँग पनि जोडिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बताए । आगमनको प्रवेश बिन्दु त्रिभुवन विमानस्थलको स्तरोन्नतिको काम सुरु भइसकेको पर्यटन सचिवले जानकारी दिए ।

‘बुटिक एयरपोर्टको रुपमा विकास गर्न प्रधानमन्त्रीको चासोमा काम सुरु गरिसकेका छौं,’ उनले भने, ‘गौतमबुद्ध विमानस्थलको आगामी भदौमै परीक्षण उडान गर्ने तयारी छ । त्यस्तै, निर्माणाधीन पोखरा विमानस्थललाई सयमै सम्पन्न गरी पर्यटक आवागमनलाई सहज बनाउने योजना छ ।’ सहज हवाई तथा सडक मार्गले नै पर्यटकलाई नेपाल भित्रिन प्रेरित गर्ने हुँदा पूर्वाधार निर्माणमा मन्त्रालयले कार्ययोजना अघि बढाइसकेको उनले बताए ।

नेपाल पर्यटन बोर्डका सदस्य एवं भ्रमण वर्ष कार्यान्वय इकाइ समिति सदस्य विप्लव पौडेलले पोखराबाट भ्रमण वर्ष शुभारम्भले पोखरेली पर्यटन व्यवसायीलाई उत्साही बनाएको बताए । ‘पर्यटकलाई हँसिलो मुहारले स्वागत गर्दै भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रबाट सहयोग गरौं,’ उनले भने । पर्यटन प्रवद्र्धन र व्यवसायको सम्बद्र्धन आफ्नो लक्ष्य रहेको सुनाउँदै पौडेलले भ्रमण वर्ष सरकारको योजनामात्रै नभई देशकै गरिमा भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया