घान्द्रुकमा ७ गाउँ फेरो लाएर मौलो पूजा

समाधान संवाददाता २०७६ वैशाख १ गते १३:३६

ईश्वर देवकोटा
कास्की (घान्द्रुक)

बडा दसैं र रामनवमीमा घान्द्रुक कोट गाउँमा उत्सवजस्तै रौनक छाउँछ । ७ सय घान्द्रु्रकबासीको आस्थाको केन्द्र मुगल (गुरुङ भाषामा) बराह मौलाकोट मन्दिरमा गुरुङ भाइखलक जम्मा हुन्छन् । पूजा गर्छन् । देवीको प्रतीक मान्ने मौलोकोटलाई परिसरमा ठडिएको मौलोलाई राँगो बलि दिइन्छ । मुखिया पुस्तौनेदेखि चलेको थिती गाउँपालिकाको शासन संरचनामा आइपुग्दासम्म एउटा राँगो बलि दिने प्रचलन कायमै छ ।

अन्नपूर्ण गाउँपालिका १० र ११ मा पर्ने साविक घान्दु्रक गाविसका गुरुङ समुदायलाई ७ सय घरधुरी भन्ने चलन छ । समुदायले चढाउने एउटा बलि राँगो यसपालि पनि गाउँपालिकाले व्यवस्था गरिदिएको स्थानीय अगुवा रुपबहादुर गुरुङले बताए ।

Advertisement

यसपालि रामनवमीमा भने केही फरक दृश्य देखियो । परम्परा झैं ध्वजा, धूपबत्तीसहित मौलो पूजा गर्दा राँगो बलि मात्रै दिइएन । दलित समुदायको सहकार्यमा बाजा बजाइयो । डोलीमा देवीको तस्बिर सहित पूजाका विभिन्न सामग्री राखियो । ५ कन्याले कलश लिएर बाटो देखाए । ७ गाउँका प्रतिनिधि मूल बाटो फेरो लाइयो । मौलोकोटमा पूजा गरेर अक्षता लगाइयो र राँगो बलि दिइयो ।

मौलाकोटको रुप फेरिएको छ । २ सय भन्दा बढी मनकारीहरुले पूर्खादेखि पुज्दै मौलाकोटको सभ्यता जोगाइराख्न मन्दिर पुनर्निर्माण गरेका छन् । झण्डै ४० लाख लागतमा मन्दिर पुनर्निर्माण सकिएको टेकबहादुर गुरुङले जानकारी दिए । उनको अगुवाईमा मन्दिर पुनर्निर्माणको काम थालिएको थियो ।

Advertisement

तोरो घ्रो ( बाघ बस्ने ठाउँ) उनी त्यसै इलाकाका भाइखलक भएर त्यसको जिम्मेवारी पाएका । मौलोकोट संरक्षणको जिम्मेवारी पुराना मुखिया हुँदै उनकै पुस्तौनी नालका भाइखलकले गर्दै आएको स्थानीय अगुवाले जानकारी दिए । ‘मन्दिर पुनर्निर्माण गरिएकोले मात्रै यसपालि ७ गाउँ फेरो लगाइएको हो,’ टेकबहादुर गुरुङले प्रस्ट्याए, ‘ठूलो दसैं र रामनमवीमा परम्परागत नै पूजा गर्छौं ।’

मन्दिरमा पुजारीको व्यवस्था मुखिया खलकबाटै गरिन्छ । वयोवृद्ध खटनसिंह गुरुङ मूल पुजारी छन् । ८७ वर्ष पुगेका उनी केही अशक्त हुँदा उनलाई थापना राख्दै छोरा नातिले उक्त भूमिका निर्वाह गर्दै आइरहेको टेकबहादुर गुरुङले बताए ।

मौलोकोटमा झुन्डाइएको एउटा घन्टी ३ सय ४३ वर्ष पुरानो भएको बताउँदै आएकाले मन्दिर सदियौं पुरानो भएको स्थानीय दाबी गर्छन् । घान्द्रुक कोटगाउँमा बसाईं सरेर दर्जनौं गाउँ विस्तार भए पनि मौलोकोटको गरिमा कायमै रहेको स्थानीय बेलबहादुर गुरुङले सुनाए ।

तपाईको प्रतिक्रिया