भानुभक्तको गाउँमा गुन्जिए कविता

समाधान संवाददाता २०७६ वैशाख १ गते १३:४७

कृष्ण न्यौपाने
दमौली

‘पर्यटनको लागि साहित्य, साहित्यको लागि पर्यटन’ भन्ने मूल नाराका साथ गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले शनिबार भानु नगरपालिका–४ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलनको आयोजना गर्‍यो ।

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँलाई विश्वमाझ परिचित गराउने उद्देश्यले आयोजना गरिएको कवि सम्मेलनमा विभिन्न देशबाट आएका कविहरुले आआफ्नो कविता सुनाएका छन् ।

Advertisement

सम्मेलनमा चीनबाट आएका लि वाङ, म्यानमारबाट आएका अमित घिमिरे, भारतको सिलगुढीबाट आएका सुकराज दियाले, भारतको जयगाउँबाट आएका दुर्गा चाम्लिङ राई, अमेरिकाबाट आएका गोविन्द गिरी प्रेरणा लगायतले आ–आफ्नो कविता प्रस्तुत गरे ।

कवि सम्मेलनमा नेपालका विभिन्न जिल्लाबाट भानुभक्तको जन्मगाउँ आइपुगेका राधेश्याम अधिकारी, हिरण्यकुमारी पाठक, सुभद्रा भट्टराई, बाला बस्नेत लगायतले समेत कविता मार्फत् आ–आफ्ना रचना सुनाए ।
क्षेत्रप्रताप अधिकारीको ५ औं स्मृति दिवसको अवसर पारेर मञ्चले देश तथा विदेशका कविहरुलाई एकै थलोमा सहभागी गराएर कविता प्रस्तुत गर्ने अवसर जुराएको हो । मञ्चका अध्यक्ष आकाश अधिकारीका अनुसार कवि सम्मेलनमा देश तथा विदेशबाट गरी ६० जना भन्दा बढि साहित्यकार सहभागी भएका छन् ।

Advertisement

उनले भने, ‘भानुभक्त आचार्यको व्यक्तित्व विश्व सामु परिचित गराउने, चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र भाषिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले कवि सम्मेलन आयोजना ग¥र्यौ, जुन अत्यन्त सफल भएको अनुभूति गरेका छौ ।’

३ स्रष्टा सम्मानित
उक्त अवसरमा क्षेत्रप्रताप स्मृति पुरस्कार काभ्रेका मोहन दुवाल, गीतल प्रभात युवा पुरस्कार पुरु लम्साल र गीतल प्रभात प्रतिभा पुरस्कार दुर्गा किरण तिवारीलाई प्रदान गरिएको छ । क्षेत्रप्रसाद स्मृति पुरस्कारको राशि १० हजार, गीतल प्रभात युवा पुरस्कारको राशि ८ हजार र गीत प्रभात प्रतिभा पुरस्कारको राशि ५ हजार रुपैयाँ छ ।

उनीहरुलाई प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, वरिष्ठ साहित्यकार तुलसी दिवस लगायतले सम्मान गरे । सोही अवसरमा प्रतिनिधि सभा सदस्य श्रेष्ठले तनहुँका साहित्यकारहरुका लेख रचना समेटिएको गीतल गुन्जन नामक पुस्तकको समेत विमोचन गरेका छन् ।

उक्त अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य श्रेष्ठले आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा गरिएको कार्यक्रमले भानुभक्तको योगदानलाई विश्वमाझ फैलाउन सहयोग पुगेको धारणा व्यक्त गरे । उनले भानु जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत नै राख्न आफूले पहल गरिरहेको समेत बताए ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले भानुभक्त जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत राख्न प्रधानमन्त्री समक्ष समेत माग गरिएको भन्दै यो क्षेत्रको वृहत्तर विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

भानुभक्त आचार्यको योगदान सम्मान गर्नका लागि आगामी असार २९ गते भानु नगरपालिकामा सार्वजनिक विदा दिने तयारी भएको नगर प्रमुख गौलीले जानकारी दिए ।

पाहुनालाई भानुभूमिको माटो उपहार
यसैबीच आयोजकले कार्यक्रममा सहभागी भएका सबै पाहुनालाई भानु भूमिको माटो उपहार प्रदान गरेको छ । भानुभक्त आचार्यको योगदान स्मरण गराउने उद्देश्यले भानुभक्तकालीन बिर्के टोपी र भानुभक्तको जन्मघरको माटो उपहारको रुपमा प्रदान गरिएको मञ्चका अध्यक्ष अधिकारीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा सहभागी हुन १ सय ५० भन्दा बढीलाई भानुभूमिको माटो उपहारको रुपमा प्रदान गरिएको छ । उनले भने, ‘माटो र टोपी सम्झनाको रुपमा चिनो दिँदा भानुको योगदान स्मरण गर्न टेवा पुग्ने विश्वास लिएका छौ ।’

कार्यक्रममा सहभागी हुन आएका पाहुनालाई शुक्रबार भानुको जन्मस्थल नजिकै रहेको रानागाउँ भालडाँडा घरबासमा बास बसाइएको थियो । सोही दिन साँझ घरबासमा सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया