११ औँ खैरेनीटार महोत्सवमा सर्प संरक्षण अभियान

समाधान संवाददाता २०७६ वैशाख २ गते १२:१०


समाधान संवाददाता
दमौली

सर्प देखे मार्न वा लखेट्न अगाडि सर्ने प्रवृत्ति कायमै छ । सर्पले वातावरण संरक्षणका लागि कस्तो भूमिका खेल्छ भन्ने कमै मात्र सर्वसाधारणलाई थाहा छ । सर्प बचाउन सकिए वातावरण संरक्षण गर्न सकिन्छ भन्ने भावना जगाउने उद्देश्यले सर्प संरक्षण समाजले तनहुँको शुक्लागण्डकी नगरपालिकामा जारी ११ औँ खैरेनीटार महोत्सवमा सर्प संरक्षणका लागि जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सबै सर्प विषालु नहुने र विषालु भए पनि मानिसले नजिस्काएसम्म सर्पले आक्रमण नगर्ने भएकोले सर्प देख्ने वित्तिकै मार्न र लखेट्न नहुने समाजका अध्यक्ष महेन्द्र कतिलाले जानकारी दिए । उनका अनुसार सर्प मानिसको शत्रु नभई मित्र भएको र सर्पको विषले औषधी बन्छ । उनले भने,‘मुसा खाएर किसानको बाली संरक्षणमा समेत सर्पले सहयोग पु¥याउने तथा पारिस्थितिकीय चक्रमासमेत महत्वपूर्ण भूमिका खेल्न सहयोग पु¥याउँछ ।’

Advertisement

महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई सर्प बचाउन सकिए वातावरण संरक्षणमा टेवा पुग्नेबारे जानकारी प्रदान गरिएको उनले जानकारी दिनुभयो । उनका अनुसार बढ्दो सहरीकरण र मानिसको नकारात्मक सोचले सर्पको जीवन खतरामा पर्दै गएकाले त्यस बारेमा सचेतना जगाउन आवश्यक रहेको छ ।

महोत्सवमा विषालु कोब्रा, करेत, मुगा, हरेउ, हिमालयन किल ब्याग, कुमन क्याट लगायतका प्रजातिका सर्पको नमूना प्रदर्शनी गरिएको छ । वन विज्ञान क्याम्पसमा अध्ययनरत सर्प संरक्षणमा लागेका युवा रोहित गिरीले हिन्दू समाजमा सर्पको फोटोलाई नागदेवता भनेर पूजा गरे पनि व्यवहारमा त्यस्तो नभएकोले सचेतना फैलाउन कार्यक्रम गरिएको बताए ।

Advertisement

महोत्सव अवलोकनका लागि आउने धेरै सर्वसाधारणले उत्साहपूर्वक आफूहरुको अभियानमा साथ दिएको उनले बताए । उनका अनुसार सर्वसाधारणलाई सर्पदंश के हो ? सर्पदंश हुँदा के गर्ने ? सर्पदंशबाट बच्ने उपाय के हो ? लगायतका बारेमा सिकाइएको छ । महोत्सवमा आउने दर्शकलाई सर्प संरक्षणको सचेतना जगाउने उद्देश्यले महोत्सव मूलसमारोह समितिले समाजलाई ३ स्टल उपलब्ध गराएको महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया