यू-१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको सानदार जित

समाधान संवाददाता २०७६ वैशाख २ गते १२:२२

क्वालालाम्पुर/एजेन्सी

लेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ।

९३ रनको लक्ष्य पाएको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै सहज जित हात पार्‍यो।

Advertisement

यो जितसँगै नेपालले प्रतियोगितामा दोस्रो जित निकालेको छ।

नेपालका लागि ओपनर रित गौतमले नटआउट ३९ रन बनाउँदा अर्का ओपनर पवन सरार्फले १९ तथा आसिफ शेखले २६ रन बनाए।

Advertisement

कप्तान रोहित शर्माले पहिलो बलमै छक्का प्रहार गर्दै जित दिलाएका थिए।

यसअघि टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको नेपालले  निर्धारित ५० ओभरको खेलमा ३३.५ ओभरमा अलआउट गर्दै ९२ रनमा समेटेको थियो।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सरार्फ र कुशल मल्लले ३-३ तथा कलम सिंह ऐरीले २ विकेट लिए। सागर ढकालले १ विकेट लिँदा बाँकी १ खेलाडी रन आउट भए।

मलेसियाका लागि लेज्यात डानियल फिक्वारीले सर्वाधिक ३७ रन बनाए। कप्तान मोहम्मद आमिरले १३ तथा विकेटकिपर हाकिम हारिसनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

यसअघि सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने वर्षाको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो।

यो सँगै अघिल्लो चरणको यात्रा नेपालको कठिन बनेको थियो। यता यूएईले आजै भएको अर्को खेलमा कुवेतलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदे उपाधि यात्रामा अघि बढेको छ। अब बाँकी खेलमा नेपालले जित र युएईले कुनै एक खेलमा हार भएको अवस्थामा मात्र नेपालले विश्वकप खेल्न पाउनेछ।

युएईले कुवेतलाई ५६ रनमा समेटेको थियो। ५७ रनको लक्ष्य युएईले २ विकेट गुमाएर मात्र ८ ओभरमा पुरा गर्‍यो। यो सँगै युएई तीन खेलबाट शतप्रतिशत जितसहित शीर्ष स्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया