६ महिनादेखि बन्द ढोर फूलबारी सहिद अस्पताल सञ्चालनमा

समाधान संवाददाता २०७६ वैशाख २ गते १२:२५

समाधान संवाददाता
दमौली/दुलेगौंडा

जनशक्ति अभावले ६ महिनादेखि बन्द तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलबारी सहिद अस्पताल सञ्चालनमा आएको छ ।

गत असोजदेखि बन्द रहेको अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृत सहित ३ कर्मचारी नियुक्त गरेपछि आइतबारबाट अस्पताल सञ्चालनमा आएको हो । समुदायबाट सञ्चालित फूलबारी सामुदायिक अस्पताल गत भदौ ३१ गते ढोरफिर्दी स्वास्थ्य चौकीमा समायोजन भएसँगै अस्पताल बन्द भएको थियो ।

Advertisement

अस्पतालको सेवा शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले बन्द अवस्थामा रहेको अस्पतालमा सरकारको तर्फबाट दरवन्दी सिर्जना नभएपछि आन्तरिक स्रोतबाट नै तलब खुवाउने गरी अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले नगरको आन्तरिक स्रोतबाट १ मेडिकल अधिकृत, १ स्टाफ नर्स र १ ल्याब असिस्टेन्ट नियुक्त गरिएको बताए । उनका अनुसार अस्पतालमा १५ शड्ढया सञ्चालनमा छ ।

Advertisement

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दलबहादुर थापाले लामो समयदेखि अस्पताल बन्द हुँदा सर्वसाधारणलाई समस्या भएकोले नगरपालिकाको तर्फबाट दरबन्दी सिर्जना गरी अस्पतालमा सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘अझै पनि दरबन्दी अभाव नै छ तर केही कर्मचारी नियुक्त गरेर भए पनि सेवा शुभारम्भ गरेका हौं ।’

६ महिनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीय स्वास्थ्य उपचारबाट वञ्चित थिए । सोही वडाका स्थानीयवासी भिमबहादुर थापाले अस्पताल सुचारु भएसँगै उपचारका लागि अन्यत्र धाउनु नपर्ने भएकोले सहज हुने बताए ।

जर्मनी स्वंयमसेवीहरुको संस्था इभी कास्यलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो । विसं २०५५ साल फागुनमा जर्मनी स्वंयमसेवीहरुको संस्था इभी कासेलकोे सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रुपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित थियो ।

अस्पतालबाट तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङ्जाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया