पत्रकारिता साइबर अपराध होइन

समाधान संवाददाता २०७६ वैशाख ३ गते ११:५१

पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ताण्डव र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई साइबर क्राइमसम्बन्धी उजुरी परेका आधार प्रहरीले समातेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी परेपछि काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी कास्की प्रहरीको सहायतामा पत्रकार गिरीलाई सोमबार काठमाडौं लगिएको छ ।

अर्काे समाचार लेखनको विषय साइबर अपराध होइन । विद्युतीय कारोबार ऐन अनुसार पत्रकारलाई मुद्दा लगाउन मिल्दैन । पत्रकार र पत्रकारिताबारे आकर्षित हुने कानुन त्यो होइन । किनभने उक्त ऐनको प्रस्तावनामा प्रष्टसँग ‘विद्युतीय तथ्यांक आदान–प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेख सिर्जना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि कानुनी व्यवस्था गर्न’ भनिएको छ ।

कानुनको सामान्य सिद्धान्त के हो भने कुनै विषयसँग सम्बन्धि विशेष र खास कानुन छ भने त्यो विषय खास वा विशेष कानुन नै आकर्षित हुन्छ । समाचारको मामलामा आकर्षित हुने कानुन थुप्रै छन् । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, प्रेस काउन्सिल ऐन र राष्ट्रिय प्रसारण ऐन पत्रकार र पत्रकारिता वा समाचार तथा लेखबारे आकर्षित हुन्छन् ।

त्यसैले एउटा विषयलाई अर्काे कानुनका आधारमा आरोपित गरेर पत्रकार पक्राउ गर्नुबाटै प्रहरीको नियतमै खोट भएको बुझ्न कठिन हुँदैन । यो विषय पत्रकारहरु आफ्नो छाता संगठन नेपाल पत्रकार महासंघमार्फत धेरैपटक उठाइसकेका छन् । प्रहरीले यो नबुझेको पक्कै छैन । विद्युतीय कारोबार ऐन आएयता प्रहरीले झन्डै सयजना पत्रकारलाई पक्रेर दुख दिइसकेको छ ।

समाचारमा सन्तुलन हुनुपर्छ भनिन्छ । ताण्डवले व्यवसायी विपिन बतासले जग्गा कारोबारका क्रममा ठगी गरेको समाचार लेख्दा उनको भनाइ राख्ने धर्म निर्वाहको प्रयास गरेको छ । विपिनको भिडियो अन्तर्वार्ता नै लिएर उनका आफ्ना कुरा राख्न मौका दिएको छ । एकतर्फी कुरामात्रै लेखेको छैन । त्यस हिसाबले पत्रकारिताकै धर्म पनि उसले निर्वाह गरेको देखिन्छ । त्यसो हुँदाहुँदै पत्रकारलाई दुख दिने मनसाय राखी साइबर अपराध गरेको उजुरीलाई स्वीकारेर पक्राउसम्म गर्नुबाट प्रहरी कतैबाट प्रभावित भयो कि भन्ने शंका उठ्नु स्वाभाविक छ ।

यसै पनि बतास ग्रुपलाई शक्तिशाली व्यक्ति, नेता, कर्मचारी, प्रहरी प्रशासनमा प्रभाव राख्ने भनेर आममानिसहरुले शंका गर्दै आएका छन् । यो घटनाले त्यस्तो शंकालाई मलजल गरेको छ । विपिनबाट पीडित भयौं भन्नेहरुले गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको छैन तर समाचार लेखेकै भरमा पत्रकार गिरीलाई भने पक्राउ गरिएको छ । यत्तिबाटै प्रष्ट हुन्छ कि प्रहरी संगठनका अधिकारी प्रेसप्रति कति निर्मम छन् ।

संविधानले नै सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको हकलाई आघात पुर्‍याउँदै प्रहरीबाट भएगरेका यस्ता कार्यले सरकारकै छविलाई धुमिल पारेको छ । तसर्थ सरकारले प्रहरीलाई निर्देशन जरुरी छ कि समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ नगर्नू र पत्रकारिता साइबर अपराध होइन । होइन भने देशभरका पत्रकार फेरि पनि प्रेस स्वतन्त्रताको लडाइँ लड्न तयार छन् । पत्रकारिता पेसा आखिर संघर्षकै अर्काे नाम हो ।

तपाईको प्रतिक्रिया