भर्ना अभियानः मन्त्री पुनले लिइन् आदित्यकाे अभिभावकत्व

समाधान संवाददाता २०७६ वैशाख ३ गते १२:१०

ईश्वर देवकोटा
पोखरा

नयाँ शैक्षिक सत्रमा बालबालिकालाई विद्यालय पढ्न पठाई शिक्षामा जागरण ल्याउने हेतुले थालिएको भर्ना अभियानले निरन्तरता पाएको छ । सबै नागरिकहरुलाई निशुल्क उच्च शिक्षा व्यवस्था गरिएअनूरुप पाइक पर्ने सामुदायिक सरकारी विद्यालयमा भर्ना अभियान सञ्चालनमा ल्याइएको हो ।

पोखरा २१ निवासी आदित्य कुँवरलाई कक्षा १ मा भर्ना गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भर्ना अभियान थालिन् । कुँवरलाई घर छेउको श्री भविष्य निर्माण माध्यमिक विद्यालय कृस्ती नाच्नेचौरमा मन्त्री पुनले अभिभावकत्व ग्रहण गर्दै भर्ना गरेकी हुन् ।

Advertisement

कुँवरको आमा छैनन् । बुवा बरालिँदै हिड्ने गरेको र उचित रेखदेख अभावका कारण अभिभावकत्व लिन विद्यालय व्यवस्थापन समितिले मन्त्री समक्ष समन्वय गरेको थियो ।

अभिभावकत्व ग्रहण प्रचार मात्रै नभई कुँवरको पठनपाठनको फलोअप गरिरहने प्रतिबद्धता मन्त्री पुनले गरिन् । ‘ठूलो मान्छे होइन, असल मान्छे बनाउन म प्रेरित गर्नेछु,’ उनले भनिन्, ‘बच्चाहरुको बालमनोविज्ञान बुझेर अभिभावकले निर्णय लिन पर्ने समय आएको छ । उनीहरुको इच्छाअनुसारको वातावरण सम्बद्ध सबैले मिलाउनुपर्दछ ।’

Advertisement

बेसहरा नानीबाबुहरुले पनि शिक्षा, आहारबिहार र संरक्षण पाउनुपर्ने भन्दै मन्त्री पुनले त्यस्ता बालबालिकाको जिम्मेवारी राज्यले लिनपुर्ने औल्याइन् । समक्ष व्यक्तिले त्यस्ता बालबालिकाको अभिभावकत्व लिएर सदासहायता देखाउन समेत उनको आग्रह थियो ।

विद्यार्थीको सिकाई प्रभावकारी बनाउन विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिएको व्यवस्थापन समिति अध्यक्ष कमलकुमार भुजेलले जानकारी दिए । ‘निजी सरह सामुदायिक विद्यालयले पनि अंग्रेजी शिक्षा घरआँगनमै दिन सक्षम छन्,’ उनले भने, ‘चर्को शुल्क तिरेर बजार झारेर बालबालिकालाई पढाउनुपर्ने बाध्यता यहाँका अभिभावकलाई छैन् ।’

नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुने विद्यालयमा ४ सय १६ विद्यार्थी छन् । नयाँ शैक्षिक सत्रमा सय विद्यार्थी थप गर्ने लक्ष्य सहित भर्ना अभियान प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि लगायतको सहयर्का रहेको अध्यक्ष भुजेलले जानकारी दिए । ३ देखि ८ कक्षासम्म अंग्रेजी पाठ्यक्रममा कक्षा सञ्चालन गरिएको छ । प्लस टुमा शिक्षा र व्यवस्थापन संकायमा अध्यापन गराइरहेको विद्यालयकाका सहायक प्राध्यानाध्यापक बालकृष्ण कार्कीले जानकारी दिए ।

संघीय शिक्षा विज्ञान प्रविधि मन्त्रालयले यस वर्ष छनोट गरेको प्रविधि सूचना कक्षा सञ्चालनका लागि विद्यालय सूचिमा समावेश भएको कार्कीले जनाए । कक्षाकोठाको उचित व्यवस्थापन पश्चात्त कार्यक्रम लागू गरिने उनले सुनाए । कक्षा ३ देखि ८ सम्मका विद्यार्थीलाई विद्यालयले कम्प्युटर शिक्षा पठाइरहेको छ ।

अंग्रेजी पाठ्यक्रममा आधारित शिक्षा र प्रयोगात्मक सिकाईका कारण विद्यालयमा विद्यार्थीको आकर्षण बढेको कार्कीले जानकारी दिए । नजिता सुधार्न विद्यालयले गतवर्षदेखि एसइई परिक्षा दिने विद्यार्थीलाई अनिवार्य छात्रावास व्यवस्था गरेको छ ।

७ जना बालबालिकाको अभिभावकत्व ग्रहण
भविष्य निर्माण माध्यमिक विद्यालयले आरम्भ गरेको भर्ना अभियानमा मन्त्री पुन सहित ७ जनाले बालबालिकाको अभिभावकत्व लिएका छन् । गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पनव सुवेदीलाई कक्षा ८ मा भर्ना गराएर अभिभावकत्व लिए । वडा २१ का अध्यक्ष खगराज आचार्यले सन्दीप सुवेदीको अभिभावकत्व लिएका छन् । उनले सुवेदीलाई कक्षा ९ मा भर्ना गराए ।

सोही विद्यालयका पूर्व विद्यार्थी झपट रानाभाटले दीप्सन जिसीको अभिभावकत्व लिएका छन् । जिसीलाई उनले कक्षा १ मा भर्ना गराए । पूर्व विद्यार्थी बाबुराम दाहाल सलिना कुँवरको अभिभाकत्व लिदैँ कक्षा १ मा भर्ना गराएका छन् ।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्य खड्ग हमालले सुस्मिता कुँवरको अभिभावकत्व लिए । उनले कक्षा ६ मा नयाँ विद्यार्थीको रुपमा कुँवरलाई भर्ना गराएका हुन् । व्यवस्थापन समिति सल्लाहकार दीपक सुवेदीले पनि कक्षा ५ मा दीपिका भण्डारीलाई भर्ना गराएर अभिभावकत्व लिएका छन् ।

‘छोराछोरी पढाउन बजार नझरौं’
‘अंग्रेजी पढाउन भनेर मरिहत्ते नगरौं । ५५ डिग्रीको तातो घाममा पसिना काढेर छोराछोरीलाई महँगो निजी स्कूलमा पढाउनु पर्दैन् । घर आँगनका सामुदायिक विद्यालयले स्तरीय कक्षाबाट पढाउन थालिसकेका छन्,’ उनले भनिन्, ‘छोराछोरी पढाउन बजार नझरौं, श्रीमान् विदेश गएर पैसा कमाउन दुःख गर्ने । श्रीमती पनि बच्चा पढाउन बजार झर्ने । गाउँका बारी बाँझो राखेर बजार झर्नुपर्दैन ।’

गाउँमै बसेर पढ्ने वातावरण घर परिवारबाट नै मिलाउन आग्रह गर्दै मन्त्री पुनले त्यसो गर्न सके घर छेउको जग्गा जमिन बाँझो नहुने र उत्पादनमा जोडिन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । इच्छाशक्ति र सकारात्मक चिन्तन जागृत गर्न सके समाज परिवर्तन गर्न समय नलाग्ने उनको भनाई थियो ।

मनाङ र मुस्ताङमा मन्त्रालयले यसै वर्षदेखि आवासिय शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको उनले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया