पाेखराकाे २ स्थानमा बम फेला, सेनाका धर्म घाइते

समाधान संवाददाता २०७६ वैशाख ५ गते ९:१४

समाधान सम्वाददाता

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको बन्दको दिन बिहीबार पोखराका दुई स्थानमा बम फेला परेका छन् ।

पोखरा ३ नदीपुर गण्डकी प्रदेशसभा भवन नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । उक्त बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजा घाइते भएका छन् । सबेरै फेला परेको बम डिस्पोज गर्ने क्रममा कालिभन्ज्याङ गणका नायक धर्म बहादुर थापा घाइते भएका हुन् ।

घाइते थापाको हातमा चोट लागेको र उपचारका लागि फिस्टेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यस्तै, पोखरा २९ स्थित सैनिक बस्तीमा सकेट बम फेला परेको इलाका प्रहरी कार्यालय शिशुवाका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए । घटनास्थलमा नेपाली सेनाको टोली डिस्पोजका लागि पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया