आँधीखालामा एकै पटक ५ मोटरेबल पुल बन्दै

समाधान संवाददाता २०७६ वैशाख ६ गते ११:४९


निर्माण तीव्र पारिएको जुग्लेखोला पुल । तस्बिरः अर्जुन काफ्ले

समाधान संवाददाता
स्याङ्जा

आँधीखोला गाउँपालिकामा २ मोटरेबल पुलको निर्माणले गति लिएका छन् भने १ पुल पटक पटक निर्माण रोकिएर अलपत्र छ । २ पुल निर्माणको तयारीमा छन् ।

Advertisement

आँधीखोलाको वडा नम्बर २ र ४ जोड्ने दारेढुंगा भैरवकुण्ड तथा ५ र ४ जोड्ने जुग्ले पुल निर्माण तीव्र पारिएको छ भने वडा नं ५ र ६ जोड्ने सेतीदोभान पुल निर्माण रोकिएको छ भने बास्कोट र पातीखोलामा निर्माणको तयारीमा छ ।

सेतीदोभान र भैरवकुण्ड मोटरेबल पुल सडक डिभिजन तथा जुग्ले र निर्माणको तयारीमा रहेका २ पुल पूर्वाधार कार्यालयले बनाउन लागेको हो ।

Advertisement

सिंगल स्पामका ५ वटा पुलमध्ये सेतीदोभान—भैरवकुण्ड पुल पर्यटकीय गाउँ सिरुबारी हुँदै पर्वत, जुग्ले—बास्कोट पुल कार्किनेटा हुँदै पर्वत जोड्ने र पातीखोला पुल आँधीखोला करिडोर जोड्ने मोटरेबल पुल हुन् ।

निर्माणले तीव्रता पाएको जुग्ले पुल गजिन्द्र निर्माण सेवाले २०१८ जुन ६ मा १ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता गरी काम अघि बढाएको हो । २२ दशमलव ६ मिटर लामो पुल एसएनआरटिपी कार्यक्रम अन्र्तगत पूर्वाधार कार्यालयले निर्माण अघि बढाएको हो ।

पुल २ करोड २० लाख ७० हजार ६ सय ६२ रुपैयाँ ७७ पैसाको लागतमा निर्माण हुने पूर्वाधारका इन्जिनियर नवीनचन्द्र अधिकारीले बताए । निर्माण कम्पनीका सदस्य भगवत प्रकाश मल्लले पुल तोकिएको समय अगावै सक्ने दाबी गरे । निर्माण थालेको १० महिनामा ७५ प्रतिशत काम गरेको बताउँदै मल्लले बाँकी काम १ महिनामा सक्ने उल्लेख गरे । यस्तै भैरवकुण्ड मोटरेबल पुल गत असार २७ गते सम्झौता गरेर २०७५ फाल्गुण ३० गते निर्माण सक्ने गरी तीव्र पारिएको हो ।

५ करोड ७४ लाख ७९ हजार १ सय ४६ रुपैयाँ १० पैसामा निर्माण सक्ने गरी एमएस हिदङ एन्ड थोकर ÷जय धनन्जय जेभी बालाजु काठमाडौंले निर्माण अघि बढाएको हो ।

सम्झौता गरिए पनि सर्भे गर्दा प्राविधिक समस्या मिलाउँदा २ महिना पुल निर्माणले ढिला भएको बताउँदै निर्माण कम्पनीका सदस्य तिलक थापाले पुलको १ पिलर बनाएको र असार सम्ममा अर्को पिलर बनाउने र तोकिएको समयमा काम बताए ।

अलपत्र सेतिदोभान पुल
पटक पटक निर्माण हुँदै रोकिँदै आएको देशकै पहिलो ग्रामीण पर्यटकीय होमस्टे सिरुवारी पुग्ने मोटरेबल पुल पुनर्निर्माण रोकिएको छ । ०७१ असोज २६ गते सम्झौता गरिएको मोटरेबल पुल ०७३ असोज २५ गते सक्नुपर्नेमा निर्माण थालनी भएको ६ महिनामा रोकिएको थियो ।

३० महिना पहिले हस्तान्तरण गर्नुपर्ने पुल प्राविधिक समस्या रहेको जनाउँदै कम्पनीले १५ प्रतिशत काममै पहिलो पटक रोकेको थियो ।
३ करोड २७ लाख लागत रहेको ४० मिटर लम्बाइ र चौडाइ ७ मिटर रहेको पुलको कान्छाराम आशीष जेबीले निर्माण गर्ने जिम्मा लिएको थियो । सम्झौता मितिको लामो समय बितिसक्दा पुल अलपत्र अवस्थामा हुँदा आवतजावतमा समस्या भएको हो । पहिलो पटक रोकिएको पुल फेरि दोस्रो पटक कात्तिक ६ गते निर्माण थालनी भई वैशाख मसान्तसम्म सक्ने कम्पनीले जनाएको थियो ।

दोस्रो पटक पुल निर्माण समयमै नसकिनुमा निर्माण कम्पनीका ऋषिराम गौतमले प्राविधिक समस्या भएको जिकिर गरे । दोस्रो पटक दोस्रो पिलर सकेर पुलको मुख्य बिम ढलान गर्ने अवस्थामा फर्माको रड सानो भएको भनी सडकले रोकेपछि पुल निर्माण अलपत्र बनेको गौतमले बताए ।

पहिलो पटक पुलको फाउन्डेसन निर्माणपश्चात् रोकिएको पुलको पुनः मूल्याङ्कनपश्चात् निर्माण थालिएको थियो । ठेकेदार गौतमले दोस्रो पटकको सम्झौता अवधिमा पुल जिम्मा लगाउने गरी काम अघि बढाएपनि रडको नाममा फेरि निर्माण रोकिँदा योजना असफल गौतमको भनाइ थियो । सडक डिभिजन कार्यालयले फर्मा सर्पोट रड हतारमा डिजाइन पेस नगरी काम गर्दा काम रोकिएको जनाएको छ ।

फर्माको सर्पोर्टको डिजाइन पास नगरी सिधै काम गरेकाले रोकेको बताउँदै सडकका इन्जिनियर सन्तोष थापाले कन्ट्याक्रले छलफल गरेको भए पास हुन सक्थ्यो तर त्यसै फालेको आरोप लगाए ।

पुल निर्माण सम्पन्न भए पोखराबाट २७ किलोमिटर यात्रापछि स्याङ्जाको नाँगडाँडा हुँदै २१ किमी यात्रापश्चात् सिरुवारी पुग्न सकिने गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए । दोस्रो पटक आफ्नै पहलमा निर्माण थालेको बताउँदै पौडेलले निर्माण ढिलाइ गर्नेलाई सम्बन्धित निकायले कारबाही गर्नुपर्नेमा उल्लेख गरे । समयमै पुल निर्माण नहुँदा सिरुवारी पुग्ने पर्यटकले हाल झण्डै ४० किमी थप यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए ।

२ पुलको तयारी
यस्तै आँधीखोला ५ बास्कोट र आँधीखोला ६ पातीखोलामा पूर्वाधार विकास कार्यालयले २ पुल निर्मााणको तयारी गरेको छ । बास्कोट पुल पर्वत जोड्ने नागडाँडा—कार्किनेटा सडकमा निर्माण गर्न लागिएको हो भने पातीखोला पुल डिजाइनको अन्तिम चरणमा रहेको पूर्वाधारका प्रमुख नारायण बरालले बताए ।

१० मिटर लम्बाई हुने बास्कोट खोला पुल ९ दशमलव ९ मिटर चौडाई रहेको बरालले बताए । पुल १ करोड ६० लाख लागत स्टमेट रहेको बताउँदै सुचना प्रकाशित भइसकेकाले १ महिनाभित्र सम्झौता गरिने बताए ।

तपाईको प्रतिक्रिया