प्रदेशका नेता तथा जनप्रतिनिधिद्वारा आर्थिक वर्षकाे योजना सामूहिक रुपमा लैजाने निर्णय

समाधान संवाददाता २०७६ वैशाख ६ गते १३:१८

समाधान संवाददाता
पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका अगुवा नेता तथा जनप्रतिनिधिले आगामी आर्थिक वर्षको लागि योजना छनोट गरी सामूहिक रुपमा संघीय सरकार समक्ष पेस गर्ने निर्णय गरेका छन् । उनीहरुले प्रदेशका राष्ट्रिय गौरवका योजनाको कार्यान्वयनका लागि सामूहिक रुपमा पहल गर्ने निर्णयसमेत गरे ।

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा, राष्ट्रिय सभाका सदस्यले गतवर्ष सामूहिक रुपमा प्रस्तुत नहँुदा संघीय सरकारबाट ठगिन पुगेको उल्लेख गरेका छन् । नेकपा गण्डकी प्रदेश संगठन कमिटीले प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग गरेको अन्तक्रियामा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले दुवै सदनका प्रतिनिधिले अबदेखि एकल ढंगले योजना पेस नगर्ने प्रतिबद्धता जनाए ।

Advertisement

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला तथा प्रदेशमा गएर योजना छनोट गरेर ल्याउन निर्देशन दिएको उल्लेख गर्दै उनले प्रदेशका दुवै सदनका प्रतिनिधिले सामूहिक योजना निर्माण र कार्यान्वयनमा ध्यान दिने बताए । ‘विगतका वर्षमा गण्डकी प्रदेशका सांसद शालीन र सभ्य हुँदा ठगिन परेको थियो,’ पार्टीका केन्द्रीय सदस्यसमेत रहेका शर्माले भने, ‘अहिले सबै सामूहिक रुपमा आवाज उठाएर कमण्डलु नभएर रोंचा लिएर जाने हैसियत बनाएका छौं ।’ उनले प्रदेश तथा जिल्ला तहका योजनाको छनोट र कार्यान्वयनमा समेत ध्यान दिने बताए ।

नेकपाका प्रतिनिधि सभाका मुख्य सचेतक देव गुरुङले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदलाई वैशाख ९ गतेसम्म योजना छनोट गर्न समय सीमा तोकेको जानकारी दिए । पार्टीका स्थायी समितिका सदस्यसमेत रहेका गुरुङले सदनको बैठक बस्नु अगावै वैशाख १० गतेभित्र सबै योजना पेस गर्ने बताए ।

Advertisement

नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रदेशमा राष्ट्रिय गौरवका आयोजना धेरैभन्दा धेरै पार्न पहल गर्ने बताए । गण्डकी प्रदेशका सांसदको ऐक्याबद्धताले प्रदेशको आर्थिक समृद्धि र दिगो विकासमा सहयोग पुग्ने उल्लेख गर्दै उनले गण्डकी प्रदेशमा राष्ट्रिय महत्वका योजना पार्न प्रधानमन्त्री ओली, अर्थमन्त्री युवराज खतिवडासँग भेटेर पहल गर्ने धारणा राखे । संघीय सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको चर्चा गर्दै उनले ३ तहका योजनाको वर्गीकरण र प्राथमिकता निर्धारण गरी कार्यान्वयनको लागि सामूहिक रुपमा लबिङ गर्नुपर्ने उल्लेख गरे ।

फरक प्रसंगमा नेता श्रेष्ठले कार्यकारी पदमा रहेकाको कार्य क्षमताको गुणात्मक विकास गरी विकास आयोजनाको सफल कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे । सरकारले दिगो विकास र आर्थिक समृद्धिमा ध्यान नदिए कम्युनिस्ट आन्दोलनमाथि प्रश्न उठ्ने उल्लेख गर्दै उनले एकीकृत कम्युनिस्ट पार्टीले पाएको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दाबी गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यले संघीय सरकारसमक्ष योजना पार्न गरेको लबिङले प्रदेश सरकारलाई सहयोग पुग्ने बताए । सरकारले प्रदेशका गौरवका योजना निर्धारण गर्ने जानकारी दिँदै मुख्यमन्त्री गुरुङले प्रदेशको लगानी सम्मेलन गर्ने जानकारी दिए । योजनाबद्ध विकास आजको आवश्यकता भएको उल्लेख गर्दै उनले प्रदेशका योजनाहरु राष्ट्रिय परिवेश र दिगो विकास लक्ष्य हासिल गर्नतर्फ केन्द्रित हुने बताए ।

पार्टीका स्थायी समितिका सदस्य तथा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले प्रदेशका साझा सबाललाई सामूहिक ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरे । अहिलेको नीति तथा कार्यक्रम र बजेटले जनताले चिया पसलमा उठाउने गुनासालाई सम्बोधन गर्नुपर्ने धारणा राखे ।

नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सहइञ्चार्ज खगराज अधिकारी, संघीय सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्याल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगर, गण्डकी पार्टीका प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डे, सचिव गोविन्द नेपाली, प्रतिनिधिसभा सदस्यहरु पदम गिरी, केदार सिग्देल, किसान श्रेष्ठ, नारायण मरासिनी, गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत लगायतले बोलेका थिए ।

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा, राष्ट्रियसभा र गण्डकी प्रदेशसभाका सदस्यहरुबीच भएको कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरिधारी शर्मा पौडेलले प्रदेशको सामाजिक आर्थिक सूचकको वर्तमान स्थिति तथा प्रथम आवधिक योजनाका प्राथमिकताका बारेमा आधारपत्र पेस गरेका थिए । संघीय तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाको सन्दर्भमा जनप्रतिनिधिको साझा धारणा तय गर्न कार्यक्रम गरिएको हो ।

तपाईको प्रतिक्रिया