पाेखरामा आजबाट प्याराग्लाइडिङ, देशभरीका ५९ जना खेलाडीले सहभागीता जनाउने

समाधान संवाददाता २०७६ वैशाख ६ गते १३:३०

समाधान संवाददाता
पोखरा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा शुक्रबारबाट प्याराग्लाइडिङ सुरु हुने भएको छ । करिब २० वर्षे इतिहास बोकेको नेपालको प्याराग्लाइडिङ पहिलो पटक राष्ट्रिय खेलमा समावेश गराइएको हो ।

आठौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुन ५९ जना खेलाडी पोखरा आइपुगेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका (नेफा) का महासचिव शैलेन्द्र राउतले जानकारी दिए । प्रतियोगितामा प्रदेश १ बाट २ महिलासहित १२ जना, प्रदेश ३ बाट १ महिलासहित ११ पुरुष, गण्डकी प्रदेशबाट ४ महिलासहित १४ जना, कर्णाली प्रदेशबाट ४ पुरुष, प्रदेश ७ बाट ४ पुरुष र नेपाली सेनाको त्रिभुवन क्लबबाट ३ महिलासहित १३ जना सहभागी हुनेछन् ।

Advertisement

वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्याराग्लाइडिङका २ इभेन्ट हुनेछन् । टिम इभेन्टतर्फ एक्युरेसी र टिम क्रस कन्ट्री तथा व्यक्तिगत एक्युरेसी र व्यक्तिगत क्रसकन्ट्री हुने छन । कुल ६ वटा स्वर्ण पदकका लागि प्रतियोगितमा खेलाडीहरु भिड्ने नेफाका सचिव इन्द्र भण्डारीले बताए ।

गण्डकी प्रदेश सभा सदस्य राजीब पहारीले प्रतियोगिताको उद्घाटनपछि प्याराग्लाइडिङबिनाको पोखरा अब कल्पनासमेत गर्न नसकिने बताए । पहारीले प्रतियोगिताको इभेन्ट म्यानेजर तथा १८ औं एसियाड रजत पदक विजेता विमल अधिकारीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरे ।

Advertisement

‘नेपाल अब हिमाल र बुद्ध जन्मिएको देशले मात्रै चिनिने छैन, प्याराग्लाइडिङ खेलाडी उत्पादन हुने देश पनि हो भनेर चिनिनेछ,’उनले भने, ‘पोखराको नयाँ विमानस्थल सञ्चालनपछि पोखराबाट प्याराग्लाइडिङ खेल हट्छ भनेर हल्ला फैलाउने काम भएको छ, यो भ्रम मात्रै हो ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले प्याराग्लाइडिङ अब व्यवसायमा मात्रै सीमित नरही साहसिक खेल पर्यटनको गन्तव्य बनेको बताए । खेलका मिट डाइरेक्टर अजयकुमार शर्माले यो प्रतियोगितालाई दुर्घटना न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर खेल सञ्चालन गरिने बताए ।

नेफाका अध्यक्ष रुपनारायण ढकालको अध्यक्षतामा भएको कार्याक्रममा नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष एवं प्याराग्लाइडिङ मुख्य प्रशिक्षक योगश भट्टराई, ना का उपाध्यक्ष कृष्ण भण्डारी, खेलकुद पत्रकार केशव पाठक, नेपाली सेनाका मेजर माधव जोशी, एसियाली रजत पदक विजेता विमल अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया