स्मार्ट सिटी वालिङ अब पेपर र क्यास लेस

समाधान संवाददाता २०७६ वैशाख ८ गते १२:१०

वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच सम्झौता पत्र साटासाट हुँदै । तस्बिरः अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा

वालिङ नगरपालिकामा भुक्तानी गर्नुपर्ने काम अब अनलाइन पद्धतिबाट हुने भएको छ । सेवाग्राहीले नगरपालिकालाई र नगरपालिका कार्यालयले सेवाग्राहीलाई रकम चेकबाट भुक्तानी हुँदै आएकोमा अब अनलाइन पद्धतिबाट सिधै खातामा रकम पुग्ने भएको हो ।

Advertisement

स्मार्ट सिटीका पूर्वाधार बनिरहेको वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको हो । वालिङ नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलीपप्रताप खाँण र नेपाल क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानबीच सम्झौता भएको हो । वालिङ नगरपालिकालाई हामीले पेपरलेस र क्यास लेस नगर बनाउन खोजेको बताउँदै नगर प्रमुख खाँणले भने, ‘नगरपालिकाले पहिलो चरणमा नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेका छौं, आगामी दिनमा अन्य संस्थासँग पनि सहकार्य गर्दै लैजान्छौं ।’

नगरबासी काम विशेषले वालिङभन्दा बाहिर अन्य जुनसुकै ठाउँबाट नगरपालिकाले निर्माण गरेको एप्सको माध्यमबाट सेवा लिन सक्ने र भुक्तानी पनि मोबाइलबाट घरमै बसेर गर्न सकिने नगर प्रमुख खाँणले बताए ।

Advertisement

अनलाइन सेवाका लागि नगरपालिकाको टिम तयारी सकेर बसेको बताउँदै नगर प्रमुख खाँणले भने, ‘ डिजिटल हस्ताक्षरको पर्खाइमा छौें, अनुमति प्राप्त हुनासाथ कार्यान्वयनको चरणमा अघि बढ्नेछौं ।’

वालिङ नगरपालिकाले वृद्धभत्ता, कर्मचारीका तलब, निवृत्तिभरण तथा सेवाग्राहीलाई नगद एवं चेकमार्फत् गरिने भुक्तानीहरु अब सेवाग्राहीको बैंक खातामा सिधै जम्मा गरिदिने वा नगरपालिकालाई सेवाग्राहीले भुक्तानी गर्नुपर्ने रकम अनलाइनबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने नेपाल क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बताए ।

उनले सेवाग्राही कार्यालयमा आउनै नपर्ने र लाइनमा बस्नुपर्ने झन्झट नभई घरबाटै सेवा लिने र घरबाटै अनलाइनमार्फत् आफ्नो बैंकको खातामार्फत नगरपालिकाको बैंक खातामा पठाउन सकिने बताए ।

सेवा लिएबापत् सेवाग्राहीले अनलाइनमार्फत सरकारको राजस्व खातामा रकम जम्मा गरिदिने र सेवाग्राहीलाई नगरपालिकाले भुक्तानी गर्न चेक काट्नुपर्ने झन्झटको अन्त्य हुने प्रधानले बताए ।

केन्द्रीय तहमा कार्य गर्दै आएको नेपाल क्लियरिङ हाउसले अनलाइन भुक्तानी तथा यससम्बन्धी अन्य गतिविधि पहिलो पटक स्थानीय तहको हकमा वालिङ नगरपालिकासँग गरेको कार्यकारी अधिकृत प्रधानले जानकारी दिए ।

नगरपालिकाले अगाडि सारेको पेपरलेस अभियान र अनलाइन भुक्तानी सेवाका बारेमा नगरबासीलाई अभिमुखीकरण तालिम प्रदान गरिने वालिङ नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया