कन्दराले ल्यायो ‘चन्द्रकोटकी नानी’

समाधान संवाददाता २०७६ वैशाख ८ गते १४:२८

समाधान संवाददाता
पोखरा

नेपालमै चर्चित पोखराको ब्यान्ड ‘कन्दरा’ ले नयाँ गीत ‘चन्द्रकोटकी नानी’ बजारमा ल्याएको छ । म्युजिक नेपालको अफिसियल युटुबबाट शुक्रबार सार्वजनिक गरिएको गीतमा एलिसा राई फिचरिङमा छिन् ।

गीतकार स्व.विनोद गौचनको शब्दमा रहेको गीतलाई ब्यान्डकै सदस्य संगीतकार सुनील थापाले संगीत भरेका छन् भने स्वर विवेक श्रेष्ठकोे छ । कन्दराका तिमी पारी, लेककी हे माया, तगारोमा रुमाल राखी, हङकङ पोखरा, भेडीगोठैमा लगायतका दर्जनौं हिट भएका छन् ।

Advertisement

गीतमा गाउँ परिवेशमा बोलिने टिपिकल शब्दलाई प्रस्तुत गरिएको पाइन्छ । वीरेठाँटी गाउँसहित मोदी नदीको वर्णन गरिएको छ । काठमाडौंको चन्द्रकोटको सेरोफेरोमा रहेर छायांकन गरिएको गीतको म्युजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । मोहित मुनालले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोलाई विदुर पाण्डेले खिचेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको गीतमा विवेक श्रेष्ठ एलिसाको अपोजिटमा देखिएका छन् ।

पोखरा, माछापुच्छ्रे र कन्दरा एकअर्काका परिपूरक भएको गायक विवेक श्रेष्ठले बताए । विगत २७ वर्ष देखि आफ्ना गीतमार्फत् पोखरा, माछापुच्छ्रे र समस्त नेपाललाई विश्वमा चर्चित बनाउन ब्यान्डले उल्लेखनीय भूमिका खेलेको श्रेष्ठ बताउँछन् ।

Advertisement

चन्द्रकोटकी नानी पनि यसैको निरन्तरता भएको उनको भनाइ छ । स्वर्गीय गीतकार गौचनले आफ्ना सहपाठसँग अक्षर यात्राको क्रममा पोखरा आसपासका गाउँ घुम्दा, चन्द्रकोटको सेरोफेरोमा लेखिएको गीत नै ‘चन्द्रकोटकी नानी’ भएको श्रेष्ठले बताए । उनका अनुसार ब्यान्डले लोकपप शैलीमा गीतलाई जीवन्त बनाउने प्रयास गरेको छ ।

तपाईको प्रतिक्रिया