२ सय बढीकाे ज्यान गएपछि श्रीलंकामा कर्फ्यु लगाइयाे

समाधान संवाददाता २०७६ वैशाख ८ गते १८:२६

काेलम्बाे, एजेन्सी

स्थानीय समयअनुसार बिहान पौने ९ बजे श्रीलंकाका राजधानी कोलोम्बो र आसपासका तीन चर्चमा एकैसाथ बिस्फोट भए। विदेशी पर्यटक बस्ने राजधानीका पाँचतारे होटलमा बम पड्काइयो।

दिउँसो फेरि दुई ठूला बिस्फोट भए। अहिलेसम्म भएका ८ बिस्फोटमा परी कम्तीमा २०० जनाको ज्यान गएको छ। तीमध्ये ३५ जना विदेशी नागरिक छन्। घाइते भएका सैयौंको उपचार जारी छ।

Advertisement

श्रीलंका सरकारले देशभरि भोलि बिहानसम्मका लागि कर्फ्यू जारी गरेको छ भने गलत सूचना प्रवाह नहोस् भनेर सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ।

सन् २००९मा  विद्रोही तमिल टाइगरलाई सरकारी सेनाले पराजित गरेपछि श्रीलंकामा भएको यो सबैभन्दा ठूलो हिंसात्मक घटना हो। यो अवधिमा बहुल बौद्ध धर्मालम्बीले मुस्लिम र उनीहरूका सम्पत्तिमाथि आक्रमण गरेका केही घटना भएका थिए।

Advertisement

श्रीलंकाका झन्डै १५ लाख क्रिश्चियनलाई लक्षित गरी भने त्यस्ता कुनै आक्रमण भएका थिएनन्।

विश्व समुदायले यो आतंककारी र कायरतापूर्ण कार्यको निन्दा गरेको छ। 

प्रहरी अधिकारीहरूले घटनामा कसको हात छ भन्नेबारेमा अहिले नै बोल्नु हतार हुने बताएका छन्। भारतीय समाचार पत्र टाइम्स अफ इन्डियाले १० दिनअघि श्रीलंकाका प्रहरी प्रमुखले केहीदिनभित्र देशका प्रमुख चर्चहरूमा र कोलोम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती हमला हुन सक्ने बताएको उल्लेख गरेको छ।  त्यस्तो हमला श्रीलंकाको उग्रवादी मुस्लिम समूह नेसनल थोहवीथ जमात (एनटिजी)बाट हुन सक्ने उनको अनुमान थियो। एनटिजी गत वर्ष बुद्ध मुर्तिहरू तोडफोड गरेपछि  चर्चामा आएको थियो।

आज भएकामध्ये २ वटा आत्मघाती हमला भएको समाचार संस्था एपीले जनाएको छ। आजको बिस्फोटको प्रकृति हेर्दा निकै योजनावद्ध र ठूलो तहमा समन्वय गरेर घटना गराइएको देखिन्छ। यति ठूलो विस्फोट गर्न सक्ने गरी एनटिजीको संगठन बिस्तार भइसकेको थियो कि थिएन भन्ने खुलेको छैन। 

तपाईको प्रतिक्रिया