शिक्षकलाई हाजिर नगराउन भीमाद र म्याग्देको आदेश

समाधान संवाददाता २०७६ वैशाख १० गते ९:२०

कृष्ण न्यौपाने, दमौली

तनहुँको २ स्थानीय तहले स्थायी भएर पदस्थापन भएका शिक्षकलाई तत्काल हाजिर गराउन रोक लगाएको छ । शिक्षा विकास तथा समन्वय इकाई तनहुँबाट नियुक्तिपत्र लिएर पदस्थापन भएका शिक्षकलाई भीमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले तत्काल हाजिर नगराउन पालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो ।

भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको वैशाख २ गतेको निर्णय अनुसार नगरपालिकासँग कुनै पनि सहकार्य र समन्वय नगरी धमाधम शिक्षकहरु पठाएको भन्दै शिक्षा शाखा प्रमुख नगेन्द्रराज पौडेलले हाजिर नगराउन सामुदायिक विद्यालयलाई परिपत्र गरेका हुन् ।

Advertisement

नगरपालिकासँग कुनै पनि सहकार्य र समन्वय नै नगरी धमाधम शिक्षकहरु पठाएको भन्दै तत्कालका लागि हाजिर गर्न रोक लगाइएको पौडेलले बताए ।

‘नेपालको संविधान तथा स्थानीय शासन सञ्चालन ऐन २०७४ अनुसार माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवार निकाय स्थानीय सरकार हो,’ उनले भने, ‘स्थानीय सरकारको मूल मर्म र भावनाको प्रतिकूल हुने गरी यस पालिकासँग कुनै पनि सहकार्य र समन्वय नै नगरी धमाधम शिक्षक पठाएकाले हाजिर हुन रोक लगाइएको हो ।’ उनका अनुसार जनशक्ति व्यवस्थापनसँग वित्तीय व्यवस्थापनको पाटोसमेत जोडिने हुँदा शिक्षक पठाउँदा तलब भत्ता तथा विषयगत शिक्षक मिलानमासमेत कठिनाई उत्पन्न हुने देखिन्छ ।

Advertisement

यसैगरी म्याग्दे गाउँपालिकाले स्थायी भएर पदस्थापन भएका शिक्षकलाई हाजिर गर्नबाट रोक लगाएको छ । शिक्षा शाखा प्रमुख विजयराज बडुले शिक्षक नभएर ताला लागेको विद्यालयमा शिक्षक नपठाई दरबन्दी धेरै भएका विद्यालयमा शिक्षक पदस्थापन भएपछि तत्काललाई हाजिर हुन रोक लगाइएको जानकारी दिए ।

उनले भने, ‘२ जना शिक्षकले अवकाश पाएपछि एउटा विद्यालयमा ताला लागेको छ । त्यो विद्यालयमा शिक्षक नपठाई २४ वटा दरबन्दी भएको विद्यालयमा शिक्षक पठाउने काम भएको छ ।’ उनका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पालिकाभित्रका प्रधानाध्यापकलाई पदस्थापन भई आएका शिक्षकलाई तत्कालका लागि हाजिर नगराउन निर्देशन दिएका छन् ।

उनले भने, ‘कहीँ शिक्षक नभएर विद्यालय बन्द हुने र कहीँ धेरै शिक्षक पदस्थापन गरेर शैक्षिक क्षेत्र तहसनहस बनाउन लागेको भन्दै अध्यक्षज्यूको निर्देशनमा तत्कालका लागि हाजिर गर्न रोक लगाइएको छ ।’

शिक्षा विकास तथा समन्वय इकाई तनहुँले भने सरकारले गरेको कामलाई रोक्न नहुने बताएको छ । समन्वय इकाई प्रमुख दामोदर आचार्यले अधिकांश शिक्षक पहिल्यै कार्यरत रहेकै ठाउँमा पदस्थापन भएकाले यसमा विवाद गर्न नहुने बताए । उनले भने, ‘बाहिरबाट आएका शिक्षकलाई पठाएको होइन । त्यही ठाउँमै पढाइरहेका शिक्षकलाई पदस्थापन गरिएको हो ।’

समन्वय इकाईले शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएका ४ सय ७ जना शिक्षकलाई नियुक्तिपत्र दिएर पदस्थापन गराएको थियो । आचार्यका अनुसार प्राथमिक तहका ३ सय ३५, निम्न माध्यमिक तहका ३९ र माध्यमिक तहका ३३ जना शिक्षकलाई पदस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया