१७ जिल्लाका विद्यार्थी एउटै विद्यालयमा

समाधान संवाददाता २०७६ वैशाख १० गते १३:४१

सुन्दरकुमार थकाली
मुस्ताङ

Advertisement

एउटै विद्यालयमा १६ जिल्लाका बालबालिका पढ्छन् भन्ने सुन्दा कतिपयलाई अपत्यारिलो लाग्न सक्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीस्थित जनशान्ति माविमा यतिबेला मुस्ताङबाहेक १६ जिल्लाका विद्यार्थी अध्ययन गरेको पाइएको छ ।

विभिन्न कामका लागि मुस्ताङ आएका मजदुरका बालबालिकाले उक्त विद्यालय भरिएको हो । चालु शैक्षिक सत्रमा १ सय ६८ जना विद्यार्थीमध्ये करिब ७५ प्रतिशत विद्यार्थी जिल्ला बाहिरकै भएको विद्यालयले जनाएको छ ।

उक्त विद्यालयमा डोल्पा, म्याग्दी, कास्की, तनहुँ, बाग्लुङ, रुकुम, रोल्पा, रामेछाप, ओखलढुंगा, धादिङ, धनकुटा, कपिलवस्तु, चितवन, सोलुखुम्बु, गोरखा र उदयपुर जिल्लाका बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक प्रेम गौतमले जानकारी दिए ।

मुस्ताङमा निर्माणको काम गर्ने मजदुर ,खेतीपाती गर्ने र कर्मचारीका बालबालिकाले विद्यालय भरिएको हो । मुस्ताङमा पूर्वाधार विकास निर्माण कार्य तीव्र गतिमा सञ्चालन भइरहेको र मजदुरका बालबालिकालाई विद्यालयले शैक्षिक पठनपाठनदेखि रेखदेख र छात्राबास सुविधा दिएकाले पनि विद्यार्थी संख्या वृद्धि भएको प्रधानाध्यापक गौतमको भनाइ छ ।

Advertisement

उनले काम सकेपछि अन्यन्त्र काम गर्न जाने भएकाले विद्यार्थी संख्या घटबढ हुने गरेको उल्लेख गरे । प्रधानाध्यापक गौतमका अनुसार विद्यालयको सामुदायिक छात्रबासमा नर्सरी देखि ३ कक्षासम्मका ६२ जना बालबालिका, हिमाली छात्राबासमा ७८ जना र बालविकास केन्द्रमा ९ जना बालबालिका छन् । यस्तै, घरबाटै आउजाउ गर्ने १९ जना बालबालिका रहेको उनले बताए ।

विद्यालयमा हाल २० जना सरकारी दरबन्दी र २ जना निजी स्रोत शिक्षक छन् । बालविकास सहजकर्ता २ जना र ५ जना कर्मचारी छन् । २०२० सालमा स्थापित विद्यालय २०५८ सालमा माध्यमिक तह सञ्चालनमा आएको थियो । २०६६ सालमा हिमाली छात्राबास सेवा प्राप्त विद्यालयले २०६४ सालदेखि नै निजी रुपमा छात्राबास सञ्चालन गरेको थियो ।

कागबेनी धर्मशाला नजिकै जोडिएको यस बिद्यालय ५ रोपनी २ आना क्षेत्रफलमा छ । ‘विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छौं, उनले भने, ‘नर्सरीदेखि कक्षा ९ सम्म यहाँ पढाइ हुने भएकाले अन्यत्र गाउँका बालबालिकासमते आएका छन् ।’

मुस्ताङका स्थानीयले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने परिपाटी तथा विभिन्न धार्मिक संघ, संस्थाले निशुल्क शिक्षा प्रदान गरेकाले सामुदायिक विद्यालयमा स्थानीय बालबालिकाको उपस्थिति न्यून भएको प्रधानाध्यापक गौतम बताउँछन् । मुस्ताङका विद्यालयमा विद्यार्थी संख्या कम भएका कारण मर्ज गर्नुपर्ने अवस्थामा छन् ।

तपाईको प्रतिक्रिया