जनताको शीर छेदन हुन दिन्नौंः अर्थमन्त्री गुरुङ

समाधान संवाददाता २०७६ वैशाख ११ गते १०:३९

समाधान सम्वाददाता
धार्मिक महत्व तथा एउटा सभ्यता र ऐतिहासिक महत्व बोकेको कालीगण्डकी सधैं यसरी बगिरहने विश्वास छ, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङलाई । कोही कसैले चाहँदैमा कालीगण्डकीको डाइभर्सन हुन्छ भन्न नसोच्न अर्थमन्त्री गुरुङले चेतावनी दिए ।

Advertisement

कालीगण्डकीले संस्कृति, सभ्यता, धार्मिक र सांस्कृतिक महत्व राख्ने र सडक सञ्जालका कारणको यसको महत्व घटिरहेको मन्त्री गुरुङको भनाइ छ । इतिहास र नेपालको व्यापारिक महत्वसँग जोडिएको कालीगण्डकीको तिरैतिर करिडोर निर्माण भइरहेको बताउँदै मन्त्री गुरुङले कालीगण्डकी डाइभर्सन हुन नसक्ने बताए ।

डाइभर्सनको चिन्ता नगरी कालीगण्डकी उपत्यकाको एकीकृत विकासमा ध्यान दिन उनले जनप्रतिनिधिलाई आग्रह गरे । कालीगण्डकी डाइभर्सनको सम्भाव्यता अध्ययनकै प्रक्रियामा रहेको र त्यो राष्ट्रिय गौरवको योजना बनाउन खोजि पनि आफूहरुले त्यसलाई रोक्न आग्रह गरिरहेको गुरुङको भनाइ छ । ‘यस्तो धार्मिक, सांस्कृति र ऐतिहासिक महत्वको कालीगण्डकीको प्राकृतिक बहावलाई परिवर्तन गर्नु हुँदैन,’ अर्थमन्त्री गुरुङले भने, ‘त्यसो गर्नु डाइभर्सन हुने ठाउँभन्दा तल रहेका कालीगण्डकी क्षेत्रका नागरिकको शीर छेदन गरेर सरह हो ।’

मन्त्री गुरुङ लाखौं–लाख जनताको शीर छेदन हुने गरी कालीगण्डकी डाइभर्सन हुन नदिने बताए । ‘हामीले भनेका छौं । बरु हाम्रो शीर छेदन होस्, तर जनताको शीर छेदन हुन दिँदैनौं ।’ अर्थमन्त्री गुरुङले राष्ट्रिय योजना आयोगलाई गण्डकी प्रदेशसँगको सहमतिबिना यो डाइभर्सनको निर्णय गर्न नपाउने गरी मुख्यमन्त्रीसहित सरकारले दबाब दिएको विश्वस्तसमेत पारे । कालीगण्डकी शीरदेखि तीरसम्म बग्न पाउनुपर्ने उनको भनाइ थियो ।

Advertisement

तपाईको प्रतिक्रिया