शीर छेदन होस्, कालीगण्डकी डाइभर्सन हुँदैन !

समाधान संवाददाता २०७६ वैशाख ११ गते १०:४९

अमृत सुवेदी, समाधान

पछिल्ला केही दिन यता भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको चर्चा भइरहेको छ । आयोजनाको सुरुङ १ वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘ब्रेक थ्रु’ हुँदा कालीगण्डकी आसपासका मानिसको मनमा भने भय र चिन्ताले सतायो । भेरी बबई डाइभर्सनको सुरुङ बनेका कारण चिन्ता र भय सिर्जना भएको होइन । उनीहरुलाई त कालीगण्डकी नि यसरी नै डाइभर्सन हुन्छ कि भन्ने पीर र चिन्ता हो ।

केही वर्ष यतादेखि पुरै कालीगण्डकी नदीको बहाब परिवर्तन गर्ने सरकारको योजनाले स्याङ्जा, पाल्पा, तनहुँदेखि नवलपुर र चितवनसम्मका नागरिकलाई तसाईरहेको छ । कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउँ नदीमा खसाली रुपन्देहीर कपिलवस्तमा भरपर्दो सिँचाइ सेवा उपलब्ध गराउन कालीगण्डकी तिनाउँ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणको प्रक्रियामा छ । कालीगण्डकी तिनाउ डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ । त्यसैको केही तल पाल्पाको रम्भा र स्याङ्जाको मालुङ्गाको सीमा कालीगण्डकी तीरमा भेटिएका स्थानीयले काली डाइभर्सन गरिए त्यसभन्दा तल चितवनसम्मका स्थानीयको अस्तित्व समाप्त हुने चिन्ता व्यक्त गरे ।

Advertisement

‘कालीगण्डकी डाइभर्सन भयो भने त्यसआसपासका पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर र नवलपरासीसम्मका जनताको दैनिकी सकिन्छ, सम्भावना सकिन्छ, मूल्यमान्यता सकिन्छ,’ तनहुँ बैंडीका पेस्कबहादुर कार्कीले भने, ‘कालीगण्डकी डाइभर्सन कसैका लागि फाइदाजनक होला तर हाम्रा लागि आस्था र जीवनको आधार नै सकिन्छ,’
शालिग्राम पाइने कालीगण्डकी र यसको आसपासमा रहेका थुप्रै धाम, मठ मन्दिर हिन्दू धर्मालम्बीको आस्था र विश्वासको केन्द्र भएको स्थानीयको भनाइ छ । कालीगण्डकी डाइभर्सन हुन नदिन कालीगण्डकीसँग जोडिएका चितवनसम्मका नागरिकलाई आन्दोलनमा उत्रन राम्दी तलका जनप्रतिनिधि र सरोकारवालाले आह्वान नै गरेका छन् ।

कालीगण्डकी आसपासका पाल्पाको रम्भा, रामपुर, स्याङ्जाको चापाकोट, गल्याङ र तनहुँको घिरिङ गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि र सरोकारवालासमेत कालीगण्डकी तीर पाल्पाको खाडामै भेटिए । उनीहरुलाई कालीगण्डकी डाइभर्सनबारे लागेको छ, ‘यो त हाम्रो जीवन सक्ने आयोजना हो । हामी मर्न तयार छौं तर डाइभर्सन हुन दिँदैनौं ।’

Advertisement

कालीगण्डकी डाइभर्सन आयोजनाको डिपिआर अन्तिम चरणमा छ । राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजनाका रुपमा सरकारले झण्डै ४० अर्ब रुपैयाँको लगानीमा कालीगण्डकी तिनाउ डाइभर्सन गर्ने बताएको छ ।
‘कालीगण्डकी डाइभर्सन तिनाउँ हुँदै भारत लैजाने योजना हो । उताको भूमि सुक्का हुँदै गइरहेको छ र भारतले यताबाट पानी लैजान चाहन्छ । तर, हामीले हाम्रो हरेक हिसाबले जीवनसँग जोडिएको आस्ताको नदी डाइभर्सन हुन दिँदैनौं,’ रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले भने ।

मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी उस्तै हिसाबले बग्न दिन थापाले सरकारसँग आग्रह गरे । कालीगण्डकी डाइभर्सन गर्नु भनेको कसैको स्वार्थमा एकातर्फका सन्तानलाई मारेर अर्कोतर्फको सन्तानलाई काखी च्याप्नेमात्रै नभए छिमेकीलाई नै सुम्पिनु भएको पाल्पा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । कालीगण्डकी तिनाउ आयोजना अगाडि बढ्न नदिन गण्डकी प्रदेश र प्रदेश नम्बर ५ लाई आसपासका जनप्रतिनिधिले आह्वान गरेका छन् ।

कालीगण्डकी डाइभर्सनले राम्दी, केलादी धामदेखि देवघाट धामसम्मका थुप्रै धार्मिक आस्था र सम्भावनाको केन्द्रलाई समाप्त गर्ने तनहुँ घिरिङ गाउँपालिका अध्यक्ष रनबहादुर रानाले बताए । ‘कालीगण्डकी डाइभर्सन हुन नदिन हामी के गर्नुपर्छ तयार छौं । प्रदेश सरकार पनि तयार हुनुहोस्, तपाईहरुले खुट्टा नकमाउनु होला ।’

कालीगण्डकी एक नदीमात्र नभएर सभ्यता पनि भएकाले स्थानीयको भनाइ छ । कालीगण्डकीमार्फत धार्मिक, सांस्कृति, पर्यटकीय विकासको प्रचूर सम्भावना सदुपयोग गर्दै समृद्धिको बाटोमा हिँड्ने र यसको महत्वलाई पनि बचाइराख्ने बाटोमा स्तानीय तहहरु लागिरहेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम अर्यालले बताए ।
कालीगण्डकीसँग जोडिएको स्याङ्जा, पाल्पा र तनहुँका स्थानीय तहले संयुक्त पर्यटकीय सम्भावना पनि खोजिरहेका छन् । हालै कालीगण्डकीसँग जोडिएका ५ स्थानीय तहले कालीगण्डकी ¥याफ्टिङ फेस्टिभल गरेका छन् । भूगोलका हिसाबले पनि दुई प्रदेशलाई कालीगण्डकीले जोडेको र त्यसैको माध्यमबाट विकास खोजिरहेको रामपुरका मेयर थापाले बताए ।

कालीगण्डकी डाइभर्सनको कु्राले कालीगण्डकी आसपासका जनतालाई तर्साएको स्थानीयवासी तथा पूर्वसचिव शान्तबहादुर श्रेष्ठ बताउँछन् । ‘राम्दी तलका जनतालाई कालीगण्डकी डाइभर्सनको कुराले तर्साएको छ । कालीगण्डकी नहुँदा त्यस आसपासका मानिसका जीवन र आस्थाको केन्द्र सकिन्छ।’ कालीगण्डकी उपत्यका विकास समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया