सामाजिक सञ्जालः अवसर कि दुव्र्यसन ?
हसिना बस्नेत
सूचना तथा सञ्चार प्रविधिको विकाससँगै फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालमा समाज द्रुत गतिमा दौडिएको छ । सामाजिक सञ्जालको प्रयोग चाहेर पनि कसैले रोक्न सक्ने स्थिति छैन । बालबालिका, युवा, वृद्धवृद्धा सबैको आधारभूत आवश्यकता बन्न पुगेको छ– इन्टरनेट ।
०७६ सालको सुरुआतमै यो वर्ष सामाजिक सञ्जाल कम चलाउने अठोट भन्दै केहीले फेसबुकमा स्टाटससमेत राखेका थिए । आजभोलि सकारात्मकभन्दा नकारात्मक रुपमा यसको प्रयोग बढेको छ ।
हामी बालबालिका हुँदा विद्यालयबाट बचेको समय घरका कामकाजमा सहयोग गर्ने, गोठालो जाने, साथीभाइसँग बाहिर खेल्न जाने गर्दै बिताउँथ्यौं । तर अहिलेको हाम्रा छोराछोरीको पुस्ता घरमा इन्टरनेट भएसम्म प्रायः बाहिर निस्कन रुचाउँदैनन् । इन्टरनेट नभए इन्टरनेट भएको ठाउँमा वा मोबाइलको डाटा प्रयोग गरेर बस्ने गर्छन् ।
बिहेको निम्तो मान्न १४ वर्षको छोरालाई हरतरहले फकाउँदा, उ मैले कसैलाई चिनेको छैन त्यहाँ, गएर के गर्ने भन्छ । परीक्षा सकिएपछि घुम्न जाउभन्दा रुचि देखाउँदैनन् । बाहिर खेल्नभन्दा घरभित्रै भर्चुअल दुनियाँमा रमाउँछन् आजकल केटाकेटीहरु ।
अहिले घरघरका हरेक बाबुआमालाई यस्ता समस्याले सताएको छ । सस्तो मनोरन्जनको साधन र समय कटाउने सजिलो मेसो अहिले इन्टरनेट बनेको छ । इन्टरनेटमा नचाहिने र काम नलाग्ने कुराहरु मात्र छैनन् राम्रा र उपयोगी सामग्रीहरु पनि छन् । तर सोचनीय प्रश्न छ, के होमवर्क गर्न इन्टरनेटको प्रयोग गर्ने बालबालिका सकारात्मक र फलदायी कुराहरुमा मात्र भुल्ने गर्छन् र ? यो सामान्य लागे पनि निकै सोचनीय विषय बनेको छ ।
मेरो छिमेकीको ४ वर्षे छोरालाई युट्युबमा भिडियो देखाउँदै खाना खुवाउनुपर्छ । उनको हजुरआमा गुनासो गर्दै भन्नुहुन्छ, खाना खुवाउन पनि भिडियो देखाएर बच्चा फकाउनुपरेको छ ।
स–साना बालबालिकालाई मोबाइल देखाइ भुलाएर आफू अन्य काममा लाग्नुपर्ने बाध्यता एकल परिवारको अहिले दैनिकी बनेको छ ।
बाबुआमाको व्यस्ततासँगै बालबालिका एक्लिएका छन् । धेरैजसो बालबालिकालाई खेल्ने ठाउँ पनि छैन । एकै ठाउँमा एकतमासले मोबाइलमा साना बालबालिका झुन्डिरहँदा शारीरिक व्यायाम नपुग्ने, स्मरण शक्ति कमजोर हुने र इन्टरनेटको कुलतमा फस्ने अवस्था आएको छ ।
बालबालिका, किशोरकिशोरी स्वभावैले जिज्ञासु हुन्छन् । प्रविधिका कुरामा त हामीभन्दा धेरै अगाडि नै छन् उनीहरु । सामाजिक सञ्जालमा केही नयाँ फिचर के आयो भन्ने बारे हामीभन्दा अघि नै उनीहरु जानकार हुन्छन् । तर उपवादबाहेक, उनीहरु होमवर्क गर्न वा आफ्नो मनमा लागेको जिज्ञासा मेट्नका लागि यसको सदुपयोग भने गर्दैनन् । बरु, अर्थहीन जिज्ञासा जगाउने भासमा फस्न पुगेका छन् । जसका कारण टिकटक, इन्स्टाग्राम र म्यासेन्जरको भुलभुलैयामा भुल्न पुगेका छन् ।
ह्यारी पोर्टरकी लेखिका जेके रोलिङ भन्छिन्, ‘इन्टरनेट बालबालिकाका लागि एउटा वरदान र एउटा श्राप हो ।’ हालै एसइई दिएर बसेका कैयन किशोरकिशोरीको माग परीक्षा सकिएपछि बाबुआमालाई मोबाइल किन्नु नै हो । २ महिना अगाडि साथीको घर जाँदा १३ वर्षे छोरीले पानीपुरी खाजा खुवाइन, मीठो खाजा कसरी बनायौ ? भन्ने जिज्ञासामा उनको उत्तर थियो, युट्युब हेरेर आन्टी ।
एकातिर बालबालिका युटयुबमा हेरेर नाच्न, गाउन, पकाउन, प्रतिभा प्रस्फुटन गर्न सिकिरहेका छन् भने अर्कोतर्फ हाम्रा भाषा, संस्कृति, चालचलन, परम्परासमेत युटयुबमा खाज्नुपर्ने हो कि ?
के अब खाना खाने तरिका, हिँड्ने तरिका, सुत्ने वा उठ्ने तरिका र सोच्ने तरिका नै इन्टरनेटमा हेरेर सिक्नुपर्ने हो ? इन्टरनेटमा उपलब्ध बौद्धिक सामग्रीको प्रयोगभन्दा अहिले सतही र तत्कालका लागि जे गर्दा फाइदा हुन्छ त्यहीं तात्कालिक कुरामा भुल्न हाम्रा केटाकेटी पुगिरहेका छन् ।
तथ्यांकले के देखाउँछ भने नेपालमा इन्टरनेट प्रयोगकर्ताहरु मध्ये एक चौथाइ १३ देखि १९ वर्ष उमेर समूहका छन् । बालबालिकालाई खाना खुवाउन वा व्यस्त राख्न भिडियो देखाउने या मोबाइल खेल्न दिने बाबुआमा अहिले त्यो बानी छुटाउन नसक्दा दिक्क छन् । भविष्यको निर्धारण वर्तमानले गर्छ यही क्रममा हामी हिँडिरह्यौं भने हाम्रा छोराछोरीको पुस्ताले न त गमलामा फूल फूलाउन सक्ला न त करेसाबारीको तरकारी टिप्न ।
आजभोलि कतिपय स्थानमा सामाजिक सञ्जाल र संगतले पार्ने प्रभावको विषयमा विद्यालय स्तरका बालबालिकालाई सचेत गराउनका लागि अभियान नै सुरु गरिएको छ । सन् २०१२ मा नै चीनमा गरिएको एक अध्ययन अनुसार चीनका वैज्ञानिकहरुले इन्टरनेटको कुलत रक्सी, गाँजा, कोकिन जस्ता लागुऔषधको सेवनबाट पर्ने जस्तै असर मस्तिष्कमा पार्छ भन्ने दावी गरेका थिए ।
त्यसयता चीनमा बालबालिका र युवालाई इन्टरनेट कुलतबाट छुटकारा दिन ३ सयभन्दा बढी पुर्नस्थापना केन्द्रहरु खोलिएका थिए । सामाजिक सञ्चालका कारण भविष्यका कर्णधार हाम्रा बालबालिकाको सिर्जनात्मक क्षमतामा कमी नआओस् भनेर अब अभिभावकले मात्र होइन सरकारले पनि सोच्ने बेला आएको छ ।
बालबालिकालाई खेल्ने, टहलिने र साथीभाइ जम्मा भएर गफ गर्ने ठाउँ सार्वजनिक जमिन, खेलमैदानको संरक्षण र विकास गर्न सरकारले ध्यान दिनुपर्ने बेला आएको छ । यसका लागि अभिभावकले मात्र होइन, स्थानीय, प्रदेश र संघीय सरकारले सोच्नुपर्छ । इन्टरनेटको प्रयोगका सकारात्मक फाइदा र प्रयोगबारे अब विद्यालय स्तरमै शिक्षकले बालबालिकालाई ज्ञान दिनु आवश्यक छ ।
यसका लागि शिक्षक आफैं पनि यसबारे जानकार हुनुपर्छ । अन्यता, भोलि यिनै बालबालिकाले देशको शासन कसरी चलाउने ? अपराध, र अन्य जघन्य कुरा पनि सामाजिक सञ्जालमा सर्च गर्न थाल्लान् भन्ने डर छ । सामाजिक सञ्जाललाई बौद्धिक विकासमा प्रयोग गर्ने कि विनासमा प्रयोगकर्तामा भरपर्ने कुरा हुन् । यद्यपि, प्रयोगकर्तालाई के कुरा खोज्न वा हेर्न प्रोत्साहन गर्ने भन्ने कुरा अभिभावक, शिक्षक र सरकारको हातमा छ ।
किन कि संसारमा विकास गरिएका धेरै कुरा बौद्धिकताका लागि वा मानवीयताका लागि गरिएका विकास हुन् । तर यसको प्रयोग मानवताका विरुद्ध पनि भएका छन् र भइरहेका छन् । भोलि सामाजिक सञ्जाल नै हाम्रा लागि सबभन्दा खतरा र चुनौती नबनोस् भनेर आजैदेखि सोच्नुपर्ने बेला आएको छ ।
तपाईको प्रतिक्रिया