बजेटकाे अभाव र ठेकेदारकाे लापरबाहीले आधा दर्जन आयोजना अलपत्र

समाधान संवाददाता २०७६ वैशाख ११ गते १२:४७

रामकृष्ण लामिछाने
पर्वत

बजेट अभाव र ठेकेदारको लापरबाहीले पर्वतमा आधा दर्जनभन्दा बढी ठूला योजना अलपत्र बनेका छन् । कतिपय योजना सम्पन्न भए पनि अलपत्र देखिएका छन् भने केही निर्माणकै क्रममा लथालिङ छन् ।

निर्माणका क्रममा प्राविधिक पक्षमा ध्यान नदिँदा करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका केही योजना त्यतिकै छाडिएका छन् ।

Advertisement

साविक धौलागिरी अञ्चलको एकमात्र महिला बन्दी गृह, सदरमुकाम कुश्मा बजारको बसपार्क, घुम्ती–खनियाघाट भुरुंदीखोला पुल, ठूलीपोखरी खानेपानी र वायु उर्जा केन्द्रलगायत अलपत्र छन् । महिला बन्दी गृह ९ वर्षदेखि अलपत्र छ । १० वर्षअगाडि ७२ लाख लागतमा बन्दी गृह निर्माण सुरु गरिएको थियो ।

१४ लाखमात्र बजेट आएपछि निर्माणाधीन बन्दी गृह अलपत्र बनेको छ । १४ लाख रुपैयाँले गृह निर्माणस्थल सम्याउने, जग राख्ने र २ तर्फको भित्ता निर्माण भएको छ । सदरमुकाम कुस्मा बजारमा निर्माणाधीन बसपार्क पनि लामो समयदेखि अलपत्र छ । धौलागिरीका ४ जिल्ला आउजाउ गर्ने सवारीसाधन पर्वत आउँदा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । तत्कालीन अवस्थामा १ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण प्रारम्भ गरिए पनि काम अघि बढ्न सकेको छैन ।

Advertisement

तत्कालीन जिल्ला विकास समितिले बसपार्क निर्माण सुरु गरेको थियो । पर्वतको महाशिला गाउँपालिका ६ फलामखानीमा हावाबाट बिजुली निकाल्न १ करोड लागतमा वायु ऊर्जा केन्द्र निर्माण गरिएको थियो । निर्माण पूरा गरी १ वर्षसम्म विद्युत् उत्पादन गरे पनि यो आयोजना अहिले अलपत्र छ । विद्युत् उत्पादन बन्द भएसँगै केन्द्रमा जोडिएका लाखौं मूल्यका सामग्री त्यतिकै छन्।

१ करोड रुपैयाँ लगानी गरिए पनि त्यसपछि आवश्यक मर्मत र सुधार कतैबाट केन्द्र अलपत्र बनेको हो । कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा २०५२ सालमा निर्माण भएको टुनीखोला आयोजना निर्माण पूरा भए पनि अलपत्र छ । २३ वर्ष अगाडि जिल्लाको गौरव मानिएको यस खानेपानी आयोजनाबाट करिब ४ सय घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको थियो ।

कुस्मा नगरपालिका २ घुम्तीदेखि जलजला गाउँपालिका ८ खनियाघाट जोड्ने गरी निर्माण आरम्भ गरिएको सडकको केही भागको ट्रयाक खुले पनि सडक अलपत्र छ । २०७३ सालमा जयबाबा गोरख ओखलढुंगा कन्स्ट्रक्सन एन्ड सप्लायर्सले सडक निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो । २०७५ साल असारसम्ममा कालोपत्रेसहित काम सक्ने गरी ६ करोड ९६ लाख ९० हजार रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

पर्वतको मोदी गाउँपालिका १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका ८ जोड्ने भुरुङ्दी खोलामा ४ वर्षअघि पुल निर्माण सुरु भए पनि काम अघि बढेको छैन । निर्माण सुरु भएको केही महिनामै ठेकेदारले काम छाडेर हिँडेपछि पुल अलपत्र छ । ६ करोड १३ लाख रुपैयाँको लागतमा बन्न लागेको पुल आर्थिक वर्ष ०७४÷०७५ मा सम्पन्न हुनुपर्ने थियो ।

तपाईको प्रतिक्रिया