स्मार्ट घलेगाउँ बनाउन प्रेशको ३० लाख लगानी

समाधान संवाददाता २०७६ वैशाख १२ गते १३:०४

अमृत सुवेदी
पोखरा

आन्तरिक पर्यटकको रोजाइमा पर्ने होमस्टे गाउँ हो, ‘घलेगाउँ’। लमजुङको क्होंलासोंथर गाउँपालिकाको घलेगाउँ हरेक दिन पाहुनालाई गाउँ भित्र्याउँछ । अधिकांश ढुंगा र टिनले छाएका घरआँगन नचरी र सोरठीले गुञ्जिन्छन् ।

होमस्टे र प्रकृति पारखीका लागि घले र गुरुङको बसोबास क्षेत्र घलेगाउँ उत्कृष्ट गन्तव्य हो । अन्नपूर्ण र लमजुङ हिमालको काखैमा रहेको घलेगाउँलाई सार्ककै नमूना ‘स्मार्ट भिलेज’को रुपमा विकास गरिएको छ ।

Advertisement

नमूना स्मार्ट भिलेजको बाटोमा हिँडिरहेको घलेगाउँमा दैनिक सरदर १ सय ५० जना पर्यटक पुग्ने गाउँपालिका अध्यक्ष प्रेम घले बताउँछन् । समान किसिमका घर । मोटरबाटो, बिजुली, इन्टरनेट सुविधा । गाउँकै उत्पादन र अर्गानिक खानाको स्वाद । निधारभरि दही र चामल मिलाइएको सेता अक्षतासहित न्यानो आतित्थ्य र सत्कार । घलेगाउँ पर्यटकको रोजाइ हुनुमा यिनै कुराको भूमिका छ । अब त्यसमा अर्को विशेषता पनि थपिँदै छ, सबै घरमा समान रङ ।

घलेका गाउँका सबै घरमा टिनका छाना बनाइनेछ भने भित्ता गाढा रातो रङले सजाइँदै छ । ‘स्मार्ट भिलेज बनाउने अभियान गएको वर्षदेखि थालेका हौं । सुविधा गाउँसम्मै पुर्‍याउएर पलायन रोक्ने, पर्यटकलाई आकर्षित गर्न होमस्टे गाउँलाई व्यवस्थित गरिरहेका छौं,’ क्हाँलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले भने, ‘स्मार्ट भिलेजका सबै घरमा एउटै रङ पोत्न थालिसकेका छौं । यसले गाउँलाई थप आकर्षक र समान देखाउनेछ ।’

Advertisement

गाउँपालिकाले गएको वर्षदेखि नै समान रातो रङ पोत्ने अभियान थालिसकेको छ । यो अभियानमा प्रदेश सरकार पनि हात मिलाउन आइपुगेको छ । स्मार्ट भिलेजका घरमा रातो रङ पोत्न र गाउँलाई अझ व्यवस्थित गराउन गण्डकी प्रदेश सरकारले २९ लाख २५ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

‘स्मार्ट भिलेजका लागि स्थानीय सरकारसँगको साझेदारीमा अनुदान दिने निर्णय भएको छ,’ गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘गण्डकी प्रदेश सरकारले जति नै स्थानीय तहले पनि रकम छुट्याउने छ ।’ घलेगाउँलाई स्मार्ट भिलेज अभियानको गएको पुसमा मुख्यमन्त्रीले शुभारम्भ गरेका थिए ।

स्मार्ट भिलेज हुन गाउँमा भरपर्दो इन्टरनेट, टेलिफोन सेवा, गाउँ सफा र शान्त चाहिने मुख्यमन्त्री पृथ्वीसुब्बाको भनाइ छ । सुविधा र पूर्वाधार पूरा गर्दै घलेगाउँलाई स्मार्ट बनाएर सार्ककै नमूना गाउँ बनाउन लागिएको मुख्यमन्त्री गुरुङले बताए ।

स्मार्ट भिलेजमा गुरुङ संग्रहालय, चियाबारी, भेडीगोठ व्यवस्थित हुनेछन् । बाटो वरपर फूल, गाउँका बाटोमा सिँढी निर्माण गरिनेछ भने भएका सिँढी मर्मत गरिने गाउँपालिका अध्यक्ष घलेले जानकारी दिए ।

घलेगाउँमा करिब १ सय २० घर छन् । जहाँका ३३ घरमा होमस्टे चलाइएको छ । परराष्ट्रमन्त्री स्तरीय बैठक बसेपछि घलेगाउँ अझ बढी चर्चामा आएको थियो । घलेगाउँ सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँ घोषणा भइसकेको छ ।

गाउँमा २०५७ सालबाट होमस्टे चलाइएको भए पनि अरु गाउँजस्तै सशत्र संघर्षले प्रभावित बन्यो ।

शान्ति स्थापनापछि घलेगाउँले दिनहुँ पाहुनालाई स्वागत गरिरहेको अध्यक्ष घले बताउँछन् । घलेगाउँले ६ सय वर्षभन्दा पुरानो इतिहास बोकेको गाउँले बताउँछन् । लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३२ किलोमिटर दूरीमा रहेको घलेगाउँमा साँच्चिकै नमूना बनाउन गाउँपालिका लागिपरेको अध्यक्ष बताउँछन् । ‘स्मार्ट मान्छेहरु बसोबास गर्ने, स्मार्ट पाहुना राख्ने, स्मार्ट गाउँ बनाउने अभियानमा हामी छौं,’ अध्यक्ष घलेले भने, ‘अभियानमा प्रदेश सरकारले पनि हात मिलाएको छ । संघले पनि मिलाउनेछ ।’

तपाईको प्रतिक्रिया