बेथितीमा उपभोक्ता समिति

महालेखा परीक्षकको ५६ औं प्रतिवेदन सार्वजनिक भएसँगै विभिन्न टीकाटिप्पणि सुरु भएका छन् । पुरानै संरचनामा चलिरहेका कार्यालयको बेरुजुमा भन्दा पनि यतिबेलामा आम नागरिकको चासो स्थानीय तहमा केन्द्रित छ ।
आँगनका सरकारको रुपमा परिचित स्थानीय तहले काम थालेको पहिलो वर्षमै ठूलो अंकमा बेरुजु देखिनु पक्कै पनि राम्रो संकेत होइन ।
यसपालिको प्रतिवेदनले रकम मात्र नभएर कार्यमूलक तथा विशेष लेखा परीक्षणमा समेत विभिन्न विषय समेटेको छ । त्यसमध्ये प्रमुख विषय हो, उपभोक्ता समिति । विकास जनताका लागि र जनसहभागिता भएको विकास संरचना सुरक्षित, टिकाउ, उपयोगी र अकितम लाभयुक्त हुन्छ भन्ने मान्यताका साथ उपभोक्ता समितिको अभ्यास प्रारम्भ भएको हो ।
२०२८ सालमा खानेपानी आयोजनाका लागि पाइप बोक्ने र पाइप बिच्छ्याउने काम लाभग्राही समूहलाई नै विकास कार्यमा सहभागी गराउने सिद्धान्तसहित जनसहभागिताको नाममा कार्य सुरु भएको थियो । त्यसै क्रममा गाउँ विकास समितिहरुले २०४९ सालमा ५० हजार र २०५१ मंसिर १४ गतेदेखि ३ लाख रुपैयाँ अनुदान दिन थालेपछि विकास निर्माणका कार्यमा उपभोक्ताहरूलाई लागत सहभागिता सहित संलग्न गराउने क्रम बढेको हो ।
राम्रो सोचका साथ उपभोक्ता समितिको अवधारणा आए पनि अहिले आएर यसमा विकृति मिसिएको छ । उपभोक्ता समितिमार्फत् गराउनुपर्ने विकास निर्माणका काममा समेत ठेकेदारको सहभागिता बढेको छ । हाल स्थानीय तहमा विकास भनेकै बाटो र जनप्रतिनिधि भनेकै साविकका उपभोक्ता समितिका पदाधिकारी, स्थानीय ठेक्कापट्टामा संलग्न व्यक्ति, डोजरका मालिक तथा स्थानीय शिक्षकमध्ये कुनै एक भएको देखिन्छ ।
वडास्तरमा जनप्रतिनिधिको रोहवरमा उपभोक्ता समिति गठन गर्ने र सोको कारण निर्वाचित दल निकट व्यक्तिहरु उपभोक्ता समितिमा वर्चस्व रहने गरेका छन् । कतिपय स्थानमा आवरणमा उपभोक्ता समितिका पदाधिकारी स्थानीय व्यक्ति देखिए पनि त्यसको रेखदेख र सञ्चालन अप्रत्यक्ष रुपमा जनप्रतिनिधि, स्थानीय व्यवसायी, हार्डवयर सञ्चालन, वन उपभोक्ता समिति र खानेपानी उपभोक्ता समितिका पदाधिकारीबाट हुने गरेको देखिएको छ । फरक क्षेत्र र भूमिकामा रहेका व्यक्तिले प्रभावमा पार्ने गरी वा स्वार्थको द्वन्द्व हुने गरी कार्य भइरहेको छ ।
कानुनी रुपमा वा कागजातमा नागरिकता प्रमाणपत्रको आधारमा उपभोक्ता समितिको पदाधिकारी बन्ने तर त्यसको नियन्त्रण र सञ्चालनमा अमुक व्यक्ति हाबी हुने क्रम बढेको छ । जसका कारण डोजर सञ्चालक, जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीमध्ये कुन भूमिकामा व्यक्ति उपस्थित भएको हो भन्ने कुन स्थानमा र कहाँ उक्त व्यक्ति छ भन्ने विचार गर्नुपर्ने स्थिति रहेको महालेखाले प्रतिवेदनमा औंल्याएको छ ।
सार्वजनिक खरिदका विभिन्न माध्यमहरुमध्ये उपभोक्ता समितिमार्फत कार्य सम्पादन गर्नु एक महत्वपूर्ण पक्ष हो । जनताको सबैभन्दा नजिकको सरकारका रुपमा रहेका स्थानीय तहमा अधिकांश कार्य उपभोक्ता समितिमार्फत सम्पादित हुने गरे पनि जनसहभागिता निकै कम जुट्नु दुखपूर्ण हो । उपभोक्ता समितिबाट आकस्मिक, अत्यावश्यक तथा स्थानीय स्रोत साधन उपयोग हुने योजनामा बाहेक अन्य कार्य सञ्चालन गर्न कानुनले दिँदैन ।
उपभोक्ता समितिहरु स्वशासित, पारदर्शी, जवाफदेही र उत्तरदायी भए नभएको सम्बन्धमा सरकारी संस्थाले नियन्त्रण गर्न सक्ने गरी कानुनमा परिमार्जन र विद्यमान कानुनको व्यवहारिक कार्यान्वयनमा ध्यान दिनुपर्छ ।







‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया