इटहरीमा थन्किएको बेलिब्रिज विजयपुर ल्याइदै

ईश्वर देवकोटा
पोखरा
मुख्य पोखरा बजारको प्रवेशको मुख्य नाका विजयपुर बनेको १ दसकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज राखिने भएको छ । बर्खा अगावै बेलिब्रिज राख्न सडक डिभिजन कार्यालय पोखराले तयारी गरेको हो ।
‘२ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाएका छौं,’ डिभिजन प्रमुख हरिकुमार पोखरेलले भने, ‘फास्ट ट्र्याकबाट बोलपत्र आह्वान गरी चाँडै काम सक्ने किसिमले बेलिब्रिज राख्ने छौं ।’
इटहरीमा प्रयोगविहीन रहेको बेलिब्रिजको सामग्री यहाँ ल्याउन लागिएको हो । सडक विभाग अन्तर्गतकै आयोजनामा थन्किएको बेलिब्रिजको सामग्री प्रयोगमा ल्याइने हुँदा विजयपुरमा फिटिङका लागि लामो समय नलाग्ने अनुमान छ ।
१ सय टन क्षमताको बेलिब्रिज हाल भइरहेको स्टिल ब्रिज पुलको केही मिटर माथिपट्टि भागमा राखिने छ । बेलिब्रिज स्थायी भने होइन । नेपालमा धेरै ठाउँमा प्रयोगमा ल्याइएका बेलिब्रिजमा केही वर्षमा नै स्टिल पाता उप्किएर समस्या आउने गरेको छ ।
स्थलगत निरीक्षण पश्चात्त बेलिब्रिज राख्ने प्रक्रिया अघि बढिएको डिभिजन प्रमुख पोखरेलले जानकारी दिए । ‘अस्थायी रुपमा भएपनि बेलिब्रिज तत्कालको आवश्यकता भएकोले ठूला मालवाहक सवारी आउजाउमा सहज हुनेछ,’ उनले भने ।
२२ दिनको म्यादसहित बोलपत्र सूचना जारी गरेर बेलिब्रिज राख्न सडक विभागले आन्तरिक तयारी थालेको हो । पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने प्रमुख नाका विजयपुर जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई खोलामाथि ह्युमपाइप हालेर बनाइएको डाइभर्सनबाट वारपार गराइएको छ । योग्य ठेकेदार कम्पनी छनोट गरेर काम थाल्न सके बर्खा अघि विजयपुरमा बेलिब्रिज राख्न सम्भव भएको विज्ञको राय छ ।
अध्ययन टोलीले बुझाएन प्रतिवेदन
सञ्चालनमा आएको ११ वर्षमै ११ ठाउँबाट विजयपुर पुल भाँच्चिएपछि पुलचोक इन्जियरिङ क्याम्पसबाट १ टोली अध्ययनका लागि भन्दै पोखरा आइपुग्यो । क्याम्पसका सिभिल विभाग प्रमुख डा. भरत मण्डलको टोलीले त्यसै साता पुलको अध्ययन अवलोकन गरेर काठमाडौं फक्र्यो ।
पुलको क्षति के कति भएको विषयमा टोलीले लेन्स प्रयोग गरेर अध्ययन गरेको सडक विभागको भनाइ छ । स्टिल ब्रिज भएकाले स्टिल अल्ट्रासाउन्ड मेसिन प्रयोग हुनुपर्नेमा उक्त मेसिन नेपालमा उपलब्ध नहुँदा क्रेनको सहायताले लेन्सबाट टोलीले सुक्ष्म अध्ययन गरेको हो ।
विस्तृत अध्ययन पश्चात्त पुलको मर्मत सम्भव छ वा छै भन्ने विषयमा सडक विभागलाई १ महिना भित्रमा प्रतिवेदन बुझाउने भनिएको थियो । तर उक्त टोलीले सडकलाई औपचारिक जानकारी दिएको छैन । ‘१ महिना भित्रमा टोलीले प्रतिवेदन बुझाउने त भनेको हो,’ डिभिजन प्रमुख पोखरेल भन्छन्, ‘सायद जेठको दोस्रो सातासम्म आउन सक्छ कि ।’
पुलको ११ ठाउँबाट बटम कड भाँच्चिएको भए पनि २३ ठाउँमा स्टिल पाता गाँसेर मर्मत गरिएको डिभिजन प्रमुख पोखरेलले जानकारी दिए । जोखिम कम गर्न स्टिल क्रसचेम्बर थपेर समेत मर्मत गरिएको छ ।
सोही पुललाई थप मर्मत गरेर प्रयोगमा ल्याउन सकिन्छ वा सकिँदैन भन्ने कुरो प्रतिवेदन आएपछि मात्रै पत्तो पाइने पोखरेल बताउँछन् । प्रतिवेदनले मर्मत सम्भव हुने सुझाए पनि शून्य भार बनाएर मर्मत गर्नुपर्ने हुँदा विकल्पमा बेलिब्रिज आवश्यक भएको उनले जानकारी दिए । प्रतिवेदनले मर्मत सम्भव नहुने सुझाएमा पुल भत्काउनुपर्ने हुन्छ ।
उक्त पुल ३ करोड ७० लाख ७६ हजार रुपैयाँ लागतमा बिटी, इलाइट, बिपी र एड्भेन्चर कम्पनीको ज्वाइन्ट भेन्चर (जेभी)ले बनाएको थियो । सडक विभागले इस्टिमेट गरेको ७ करोड ४७ लाख ६९ हजार रुपैयाँ लागतभन्दा झण्डै ५० प्रतिशत कम लागतमा कम्पनीले पुल निर्माणको ठेक्का लिएको थियो ।
२०६० जेठ १५ मा २ वर्षभित्र पुल निर्माण सक्ने सम्झौता गरिएको थियो । तर ३ वर्ष म्याद थपेर २०६५ जेठबाट सञ्चालन आएको थियो । ट्राफिक प्रहरीका अनुसार विजयपुर पुल हुँदै दैनिक ६ हजार बढी सवारी आउजाउ गर्छन् ।
पोखरा प्रवेश गर्ने अर्को महत्वपूर्ण मार्ग सिद्धार्थ राजमार्गस्थित कालीगण्डकी नदीमाथिको राम्दी पुलको अवस्था ५ वर्ष यता जीर्ण छ ।
स्याङ्जा र पाल्पाको सीमानामा पर्ने उक्त पुल धरापजस्तो बन्दा मालवाहक सवारीलाई सहज आवागमनमा वाधा छ । त्यसको प्रत्यक्ष असर पोखरालाई परिरहेको छ । १० टनभन्दा माथिका सवारीलाई निषेध गरिएको छ ।
त्यसको ठूलो प्रभाव स्याङ्जालाई परेको त्यहाँका नागरिकको गुनासो छ । राम्दी पुलको उचित विकल्पको रुपमा सरकारबाट कुनै काम भएको छैन ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया