गाै संरक्षण केन्द्रमा ४ गाई मरे

समाधान संवाददाता २०७६ वैशाख १३ गते १४:१४

कृष्ण न्यौपाने
दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ घारीमा निर्माण हुँदै गरेको गौ संरक्षण केन्द्रमा ४ वटा गाई मरेका छन् । स्वास्थ्य जाँच र पोषण अभावमा केन्द्रमा रहेका ४ वटा गाई मरेका हुन् ।

छाडा चौपाया व्यवस्थापन गर्न शुक्लागण्डकी नगरपालिकाको १७ लाखको लगानीमा निर्माण हुँदै गरेको केन्द्रका रहेका २ सय ५० मध्ये ४ वटा गाई मंगलबार मरेको शुक्लागण्डकी ९ का अध्यक्ष लोकनारायण श्रेष्ठले बताए ।

Advertisement

उनका अनुसार केन्द्रमा दिनदिनै गाई थपिने क्रम बढेसँगै आहारा अभाव हुन थालेको छ । उनका अनुसार संरक्षण केन्द्रमा दैनिक १० वटा गाई थपिएका छन् । ‘खानेकुराको प्रबन्ध राम्रोसँग गर्न सकिएको छैन,’ उनले भने,‘तराईबाट ६० हजारमा ल्याइएको परालसमेत सकिएको छ ।’

गाईलाई पानी खुवाउन सोही ठाउँमा पोखरी खनिएको छ । तर पानी स्वस्थ छ कि छैन भनेर परीक्षण गर्न समस्या परेको श्रेष्ठले बताए । ‘गाईहरु दैनिक रुपमा थपिँदै जाने र गाईलाई आहारा खुवाउन नसक्दा भविष्यमा समेत समस्या हुन सक्ने देखिएको छ,’ उनले भने । संरक्षण केन्द्रकै हाताभित्रको घाँससमेत सकाएका छन् । जसका कारण चौर बालुवामा परिणत भएको छ ।

Advertisement

संरक्षण केन्द्रका गाईको हेरचाहका लागि नगरपालिकाबाट केही दिन अघिमात्रै २ जना हेरालो खटाइएको छ । हेरालोले गाईलाई घाँस भएको ठाउँमा चराउन लैजाने तयारी गरेका छन् । ‘खानेकुरा नपुगेपछि समय मिलाएर गाईलाई चराउन लैजाने व्यवस्था मिलाएका छौं,’ उनले भने ।

गौ संरक्षण केन्द्र अझै सम्पन्न भएकोे छैन । गौ संरक्षण समितिका संयोजक गीता महतका अनुसार हाल ट्रष्ट निर्माणको काम भइरहेको छ । ६ सय रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा जग्गालाई तारबार, चौपायाका लागि खानेपानीको लागि पोखरी निर्माण भने गरिसकिएको छ ।

छाडा चौपायाका कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

दूध दिन छाडेपछि किसानले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट समेत गाईवस्तु शुक्लागण्डकीमा भित्रिन थालेको थियो । स्थानीय तहको निर्वाचनपछि छाडा चौपायाको विषयलाई तत्काल समाधान गर्न स्थानीयवासीले नगरपालिकालाई पटक पटक आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया