फरार वीपेन्द्र बतासको अन्तिम तुरुप पनि फेल

समाधान संवाददाता २०७६ वैशाख १४ गते ८:३०

समाधान सम्वाददाता

व्यवसायी वीपेन्द्रराज बतासले दायर गरेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्न इन्कार गरेको छ ।

आफूविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा वैशाख २ गते ठगी मुद्दामा जाहेरी परेपछि वीपेन्द्रले उच्चको ढोका ढकढक्याएका थिए । पक्राउ पर्नबाट जोगिन वीपेन्द्रले वैशाख ३ गते अन्तरिम आदेशसहितको परमादेश माग गर्दै वारेसमार्फत रिट दर्ता गराएका हुन् ।

Advertisement

शुक्रबार दुवै पक्षको बहसपछि न्यायाधीशद्वय रामचन्द्र यादव र नरबहादुर शाहीको इजलासले उक्त रिटमा निवदेकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको उपरजिस्ट्रार पुष्प दाहालले जानकारी दिए ।

‘आफूविरुद्ध ठगी मुद्दा चल्ने आशंका व्यक्त गरी निवेदन परेको स्थितिमा निवेदकले आशंका गरे अनुसार निज उपर ठगी मुद्दाको जाहेरी परी पक्राउ पुर्जी जारी गरेको भन्ने यथार्थ निवेदकले खुलाउन नसकेको स्थितिमा फौजदारी प्रकृतिको ठगी विषयमा कारबाही नगर्नू नगराउनू भनी विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरिरहन परेन । नियमानुसार गर्नू,’ आदेशमा उल्लेख छ ।

Advertisement

शुक्रबार निवदेकका तर्फबाट अधिवक्ताद्वय मुकुन्दराज अर्याल, कमल अर्याल र जिल्ला प्रहरी कार्यालयको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयका शाखा अधिकृत महेन्द्रप्रसाद अधिकारीले बहस गरेका थिए ।

उक्त रिटमा वैशाख ४ गते न्यायाधीश सुवास पौडेलको एकल इजलासले विपक्षी कास्की प्रहरीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

ठगी र त्यसबारे प्रकाशित समाचारबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) मा उजुरी परेर अनुसन्धानकै क्रममा रहेको, जिल्ला अदालत कास्कीमा सोमबारै गाली बेइज्जती मुद्दा दर्ता भएकाले पक्राउ पुर्जी जारी नगर्न आदेश माग गर्दै वीपेन्द्रले वारेसमार्फत रिट दायर गरेका थिए ।

वीपेन्द्रले ताण्डव न्युज साप्ताहिकका सम्पादक अर्जुन गिरीसहित व्यवसायी जनक पहारी र दालप्रसाद श्रेष्ठलाई विपक्षी बनाएर वैशाख २ गते लिखित गाली बेइज्जती मुद्दा दायर गरेका थिए । गिरीले प्रकाशन गरेको समाचारकै आधारमा उजुरी दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साइबर क्राइम मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा गिरी साधारण तारेखमा रिहा भइसकेका छन् ।

पोखरा ६ का जनकराज पहारी र दालप्रसाद (मनोज) श्रेष्ठले वीपेन्द्रबाट आफूलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको भन्दै वैशाख २ गते जाहेरी दर्ता गराएपछि ३ गते जिल्ला अदालतले पुर्जी जारी गरेको थियो । प्रहरीले वीपेन्द्रको खोजी भइरहेको जनाए पनि अझै पक्राउ परेका छैनन् ।

वीपेन्द्रले पहारीको २ करोड २५ लाख र श्रेष्ठको १ करोड ९८ लाख ठगी गरेको जाहेरीमा उल्लेख छ । उनीहरुले लेकसाइडस्थित रामकृष्ण देवकोटाले जग्गा र होटल लेनदेनका क्रममा वीपेन्द्रबाट ठगिएको जाहेरी दिएका हुन् ।

तपाईको प्रतिक्रिया