पहिचान मेटिएकोमा दुखी दुराडाँडा

समाधान संवाददाता २०७६ वैशाख १४ गते १७:२१

बद्रीविनोद प्रतीक

Advertisement

यो सालको पहिलो रात तुर्लुगकोट होमस्टेमा बिताइयो । दिउँसोको कार्यक्रम सकेर त्यो रात त्यही बिताएका थियौं । एउटा घरमा जम्मा २ कोठा अर्थात् ४ ओछ्यानमात्र थिए । हामी सबै एउटै घरमा अटिएन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एउटा घर मिल्यो । हामी अरुअरु घरमा बाँडिएर बस्यांै । त्यही खाना खायौं र सुत्यौं । होमस्टेको बिछ्यौनाबाट दिउसो देखेका दृश्य सम्झन मन लाग्यो । मेरा साथी थिए पत्रकार युवराज श्रेष्ठ । उनी युवा थिए । खानापछि समाजघरमा नाच हेर्न गए । म एक्लै थिएँ । दिउँसोका ती दृष्यहरुले राति धेरै बेरसम्म घोत्लन वाध्य पारेका थिए ।

दक्षिणपूर्व फर्केको समग्र बस्ती दुराडाँडा त्यहीं छ । अल्पसंख्यक जाति दुराहरुको वस्ती भए पनि उनीहरुको पहिचान बोकेको गाउँ दुराडाँडा भन्ने शब्दावलीको नाम छैन । पूर्वसचिव सुरेशमान श्रेष्ठले औपचारिक समारोहमै भने ‘अहिलेको पुनसंरचनाले दुराडाँडाको नामनिसानै मेटाइदियो । पहिचानको लडाइँ लडेका नेताहरुले विवादै नभएको नाम मेटिँदा पनि १ शब्द बोलेनन् । जसले जे गरे पनि हाम्रो मनमा भने दुराडाँडा झन् गढेर वसेको छ ।’ उनको चिन्ता ठिकै हो । दुराडाँडा गाउहरुँको संयुक्त नाउँ थियो । यसको वरिपरि दुराडाँडा, चन्द्रेश्वर, धुसेनी, नेटा, सिन्दुरे र पुरानाकोट गाविस थिए । ती सबैलाई चिनाउने ऐतिहासिक एउटै नाउँ थियो दुराडाँडा । जसको नाम यति बेला नयाँ नेपालको नक्साबाट हटेको छ ।

Advertisement

दुराडाँडा वरिपरिका ती गाउँहरु यति बेला तीन तिर वाडिएका छन । राज्यको नयाँ संरचनाले दुराडाँडा, चन्द्रेश्वर, धुसेनी र सिन्दुरे, सुन्दरबजार नगर पालिकामा, नेटा मध्यनगर नगर पालिकामा र पुरानोकोट गाविस बेसीसहर नगरपालिकामा गाभिएका छन् । नयाँ नगरपालिकालाई जनसंख्या पु¥याउन राजनीतिज्ञकर्मीले गाउँहरुको पहिचान मेटाउने काम गरे । परिणामस्वरुप समग्र दुराडाँडा ३ क्षेत्रमा विभाजित भयो । स्थानीयहरु भन्छन ‘जति चिरा पारे नि पारिरहून हाम्रो मन चिरिने छैन ।’ यो उनीहरुको भावना बोलेको हो । व्यवहारिकतामा भावनाको संरक्षण कसरी हुन्छ भन्न सकिँदैन । उनीहरुको भावनात्मक एकातालाई सलाम टक््रयाएँ । यी मनहरु सधैं एकै ठाउँमा देख्न पाऊँ भनेर उनीहरुका कुरा सुनिरहें ।

गाउँमा राजनीति होइन विकास चाहिएको छ । त्यसैले होला राजनीतिका विपरीत धु्रव १ ठाउँमा जोडिएका छन् । विकासका लागि भएको यो एकता सकारात्मक छ । गएको पछिल्लो चुनावमा सबैदलका नारा एउटै थिएँ । गाउँगाउँमा सिंहदरवार । सिंहदरबारको अधिकार वडावडामा आउँछ । अब सिंहदरवार धाइरहनु पर्दैन । मीठा र आशालाग्दा थिए ती नारा । अन्तत जनताबाट तिनै नारा अनुमोदित भए । जे जस्तो अवस्थामा रहे पनि जनताले चुनेका प्रतिनिधि नै राज्य सत्तामा छन् । गाउँगाउँमा सिंहदरबार बनाएर शासन सत्ता सुरु गरेका छन् । पुरानो राज्य प्रणाली भत्काएर सुरु भएको यो प्रणालीले कस्तो परिणाम दिन्छ हेर्नै बाँकी छ । तिमीहरुलाई के चाहिन्छ ? भनेर सोध्ने मुख्यमन्त्री गुरुङले गाउँगाउँका सिंहदरवारलाई कसरी निर्देशित गरिहन्छन् त्यो हेर्नै बाँकी छ ।

Advertisement

पुरानो सिंहदरवार पनि यथावत छ । उ सकभर आफूमा निहीत अधिकार आफैसँग राख्न चाहन्छ । प्रदेश सरकार अधिकार चाहियो भनेर केन्द्र सरकारसँग माग्ने र नगर गाउँ सरकारहरु प्रदेशसँग माग्ने रहिरह्यो भने खासै अर्थ नरहला । साच्चिकै अधिकार तल तल आउने हो भने गाउँगाउँमा थपिएका सिंहदरवारहरु चम्किला हुनेछन् । अबको उनीहरुको भूमिका हेर्नै बाँकी छ ।

यतिबेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘अहिलेसम्म हामी जग निर्माणको अवस्थामा थियौं । अब बेगवानका साथ अगाडि बढ्छांै । मुख्यमन्त्रीको बेगवान कस्तो हुन्छ थाहा छैन । सायद तीब्रगतिको विकास भन्न खोजेका होलान् । उनको कुरामा सत्यता छ भने आशा गरांै यो शासन प्रणाली विकासको मेरुदण्ड हुने छ । अहिले विल्कुल अभ्यास नयाँ छ । संघीय र स्थानीय तहमा केही पूर्वाधारहरु भए पनि प्रदेशको कुनै पूर्वाधार थिएन । शून्यबाट सुरु गर्दा कामको मेलो चलेन स्वाभाविक हो । अहिले ऐन कानुन निर्माण भएका छन् । अब कहिं रोकिनु पर्दैन भन्ने मूल आसयमा टेकेर होला मुख्यमन्त्री गुरुङबाट बेगवान शब्द बाहिर आएको छ ।

विकासको नाममा गाउँ गाउँमा डोजर कुदेका छन् । वडा दरबारका प्रतिनिधि डोजरको पछि लागेका छन् । जसको उद्देश्य द्रव्य प्राप्ति बढी छ । समृद्धि वडावासीको होइन वडा सरकार हाँक्नेका लागि भएको छ । धेरै ठाउँमा देखिएका यी आम चरित्रसँग प्रदेश सरकार निर्मम ढंगले लाग्नुपर्ने देखिएको छ । विकासको ढाँचा पहिल्याउन सकिएन र यसरी नै डोजर इन्जिनियरिङमा चल्न दिइयो भने मुलुकले छोटै समयमा माहविपत भोग्नुपर्ने छ । यो कुरा अहिले नै सोच्नु जररी छ । दीगो र भरपर्दो विकास मोडेल निर्माण गरी गाउँ नगर सरकारलाई दिनुपर्छ । मुख्यमन्त्रीको ध्यान यतातिर जानु जरुरी छ ।

दुरा जाति अन्य जातिभन्दा सोझा र ढिला रहेछन् । कार्यक्रमको प्रमुख अतिथि भएका मुख्यमन्त्री गुरुङले कुराकानीको सिलसिलामा बीचबीचमा भनिरहन्थे ‘अरु जाति भन्दा गुरुङ, गुरुङ भन्दा मगर र मगरभन्दा पनि दुरा ढिला जाति हुन् । यिनीहरु कहिल्यै पनि चाँडै तात्दैनन् ।’ सुरुमा उनको भनाइ बुझिएन । कार्यक्रमको व्यवस्थापन र सञ्चालन हेर्दै र बुझ्दै जाँदा थाहा भयो । उनीहरु समयमा केही काम गर्न नसक्दा रहेछन् । काममा ढिला भए पनि इमान्दार भने रहेछन् । १० लाखमा २ लेनको २ किलोमिटरको कच्ची सडक तयार पारेका वडाअध्यक्ष्य पे्रमबहादुर दुराले त्यही सडकबाट हामीलाई ठूलस्वाँराको गैरीगाउँ पु¥याए । फर्कंदा अर्कै बाटो ल्याए । बिहानको बाटो किन ल्याएनाैं भन्दा पो थाहा भो १० लाखमा खनेको नमुना रोड देखाउन पो रहेछ । इमान्दार भएर काम गरे त हुँदोरहेछ नि भन्ने कुरा हामी सबैमा पर्‍यो ।

३ दिनको मेला तथा महोत्सवमा दुरा जातिहरुको राष्ट्रिय माहाधिवेशन पनि भयो । दुरा जातिको भाषा संस्कृति र जातीय उत्थानबारे छलफल भए । उनीहरुले शिक्षा र रोजगारीमा सरकारले विशेष व्यवस्था गरिदियोस् र अल्पसंख्यक जातिको संरक्षण गरोस् भनी माग पनि गरे ।

हामी संसारकै धनी छौं । हाम्रा शासकहरुको मानिसकता गरिब हुनाले दुखी छौं । गाउँका सामान्य मानिसको भनाइ हो यो । उनले आफ्नो भनाइलाई पुष्टि गर्दै भनेका थिए । ‘युरोप अमेरिका जापानतिर २ दिन बन्द हड्ताल भयो भने मानिस भोकै हुन्छन् हाम्रोमा छ महिना बन्द हड्ताल भए पनि खानाबिना कोही मर्दैनन् ।’ उनको कुरामा सत्यता छ । हामीले केही अनुभव विगतका जन आन्दोलनहरुमा बटुलेका थियौं । हाम्रा विज्ञहरुले जे जस्तो आर्थिक प्रतिवेदन पेस गरुन् हाम्रो यथार्थ जीवनमा मेल खाएको छैन । उनीहरुको कुरा बुझेर योजना बन्नसक्यो भने सिंहदरबार गाउँगाउँमा स्थापित हुनसक्थ्यो । अन्यथा सिहदरवार भने पनि वडा दरबार भने पनि जनता र शासकबीचको पर्खाल उस्तै भएर रहिरहने छ । दरबारिया एकातिर र अरु अर्कोतिर भइनै रहने छन् । जसले हामी बीचको द्वन्द्व मेटाउन सक्दैन । संसारकै धनी भएर पनि ‘भिल्लका देशको मणि’ भएर यो देश रहनेछ ।

यो क्षेत्र हरेक किसिमले महत्वपूर्ण छ । धार्मिक र ऐतिहासिक पर्यटकहरुलाई आकर्षण गर्ने धेरै ठाउँ छन् । तिनीहरुको संरक्षण र सम्वद्र्धन जरुरी छ । तुर्लुङकोट कालिकाको महत्व र प्रभाववारे चर्चा परिचर्चाको साथै प्रचार प्रसारलाई ध्यान दिनु जरुरी छ । घले राजालाई विस्थापन गरेर शाहवंशका राजा स्थापना गर्ने ऐतिहासिक थलोकोबारे थाहा दिनु जरुरी छ । साथै ठाउँ हेर्न र अध्ययन गर्न लायक बनाउनु पर्दछ । अबको विकास भनेको हाम्रो प्राचीन इतिहासको संरक्षण पनि हो । नेपालको एकीकरण गोर्खाबाट भएको हो भनिए पनि त्यसको पूर्वाधार लमजुङको दुराडाँडा क्षेत्रबाट भएको तथ्य किन लुकाएर राख्ने ? विसं १५४० मा कास्कीका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई ल्याएर पहिलो २४ से राज्य स्थापना गर्ने खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, लक्ष्मण दुरा, कुसुमाकर घिमिरेको अध्ययन गर्ने थलोको रुपमा किन विकास नगर्ने ? घले राजाहरुको बेग्लै इतिहास छ ।

कास्कीबाट ल्यएर राजा बनाएर अपदस्थ गरिएका घले राजाले तिनै राजा कालु शाहको हत्या गरेर पुन आफ्नो राज्य फिर्ता लिएको इतिहास कम रोचक छैन । त्यसको १० वर्षपछि कुलमण्डलका कान्छा छोरा यशोव्रह्म शाहलाई राजगद्धीमा राखेर घले राजालाई पुनःअपदस्थ गरिएको रोमञ्चकारी इतिहास अहिलेको पुस्तालाई पढाउन अध्ययान अनुसन्धान केन्द्रको स्थापना किन नगर्ने ? घले राजाहरुले बसालेको राजपरम्परा पनि एउटा गर्विलो इतिहास हो । जसको अस्तित्व शाहवंशीय राजाको पालामा पनि मेटिएको थिएन । ती राजाहरुको बारे अध्ययन गर्न चाहने अध्यतालाई गाउँमा तान्नुपर्छ तब पो गाउँको विकास हुन सक्छ भन्नेबारे पछिल्लो दिनमा मात्र छलफल भयो । जब कि सुन्नुपर्ने मुख्य मानिसहरुको उपस्थिति कम थियो ।

यति बेला तुर्लुङकोट, ठूलोस्वाँरा, र पुरानोकोटमा घरवास सेवा सुरु भएको छ । यस क्षेत्रको अध्ययन गर्न आउनेहरुलाई केही सहयोग हुने देखिएको छ । यो एउटा सकारात्मक पक्ष हो । यत्तिले मात्र सबै कुरा पूरा हुन सक्दैन । यसका लागि धेरै कुरा चाहिन्छ । तेस्रो दिनको कार्यक्रममा प्रस्तुत कार्यपत्रले आवश्यक पूर्वाधारहरुको लागि बाटो देखाएका छन् । प्रदेश सरकारले कार्यक्रम बनाउँदा ती कार्यपत्रले उठाएका विषय पनि समेट्न सके धेरै नै राम्रो हुनेछ । त्यस क्षेत्रको समग्र विकासको लागि पर्यटन, शिक्षा, कृषि र महिला सशक्तीकरणका विषयमा कार्यपत्र पेस भएका थिए । संघीय सासद देव गुरुङसहित बसेर गरिएको अन्तक्र्रियाबाट निकालिएका निष्कर्ष महत्वपूर्ण छन् । समाजमा पछाडि परेको जाति दुरा त थिए नै, तीभन्दा पनि पछाडि परेका महिलाको बारे रश्मि अधिकारी खनालले प्रस्तुत गरेको कार्यपत्र निकै महत्वपूर्ण थियो । उनको प्रस्तुतिको सार महिलाको सशक्तीकरण बिनाकुनै पनि विकासले स्थायित्व प्राप्त गर्न सक्दैन भन्ने नै थियो । एकाध महिलालाई नेतृत्व तहमा पु¥याउनु ठूलो कुरा होइन । उनीहरुलाई निर्णय गर्ने अधिकार कति दिइएको छ भन्नेले पनि सशक्तीकरणको मापन गर्छ । जबसम्म उनीहरुलाई सम्पतिमाथि निर्णय गर्ने पूर्ण अधिकार हुँदैन तबसम्म महिलाको नामको सम्पतिले अर्थ राख्दैन । उनले महिला सम्बन्धी अन्तर्राष्ट्रिय बेजिङ सम्मेलन सन् १९९५ ले उठाएका विषयलाई पनि जोड दिएकी छन् । कार्यपत्रको निचोडमा परनिर्भरता त्याग्न र जिम्मेवारी लिन, आर्थिकरुपमा सम्पन्न सानो ठूलो नभनी आयआर्जनको काम गर्न, परिआएको बेलामा जस्तोसुकै जोखिम मोल्न पनि पछि नहट्ने र महिलाले महिलालाई हेप्ने होइन सहकार्यबाट अगाडि बढ्न बढाउन महिलाहरुलाई नै सुझाव दिएकी थिइन् ।

कार्यक्रम लामो भए पनि लामो लागेन । कार्यपत्रमाथि बहस जति गरे पनि समय कम भएको अनुभूत गरेका थिए गाउँबासीले । संघीय ससदका सांसद तथा नेकपाका प्रमुख सचेतक देव गुरुङले कार्यक्रमको बिट मारे । विकासका लागि १ भएर अगाडि बढ्न सबैलाई अनुरोध गरे । मुलुक विकासको नयाँ चरणमा प्रवेश गरेको कुरा उनले पनि छुटाएनन् । समग्रमा तुर्लुङकोट दुराडाँडाको ३ दिने कार्यक्रमले त्यस क्षेत्रको समग्र विकासका लागि ढोका खोलेको छ ।

तपाईको प्रतिक्रिया