जनताको जीवनस्तरमा सुधार नआएसम्म समृद्धिको अर्थ रहन्नः रक्षामन्त्री इश्वर पाेखरेल

समाधान संवाददाता २०७६ वैशाख १५ गते ११:३९

समाधान संवाददाता
पोखरा

प्रमुख राजनीतिक दलका नेताहरुले गरिबीको रेखामुनि रहेका जनताको जीवन स्तरमा सुधार नआएसम्म समृद्धिको अर्थ नरहने बताएका छन । उनीहरुले केही निश्चित व्यक्ति धनी हुने र बाटाघाटा चिल्ला हुँदैमा खास अर्थमा समृद्धि हासिल नहुने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले समृद्धिको लागि जनताको जीवन स्तरमा सुधार आवश्यक रहेको बताए । नेकपाको ७० औं स्थापना दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन कास्कीले शनिबार आयोजना गरेको वर्तमान आर्थिक सामाजिक संरचना र समृद्धिको यात्रा विषयक बहस कार्यक्रममा नेता पोखरेलले खाली धनीमात्र बन्ने काम समृद्धिमा नपर्ने तर्क गरे ।

Advertisement

खाली पैसा कमाउने सोचले अगाडि बढे विकृति बढ्ने दाबी गर्दै उनले समृद्धिमा आम जनताको जीवन स्तर विगतमा भन्दा राम्रो हुन पर्ने तर्क गरे । राजनीतिक क्रान्तिको पूरा भएको अबको राजनीतिक कार्य दिशा समृद्धितर्फ केन्द्रित हुनुपर्ने नेता पोखरेलको भनाइ थियो । ‘अबको राजनीति समृद्धिमा केन्द्रित हुनु पर्छ । खण्डखण्डमा नभएर समग्रतामा समृद्धि खोज्नुपर्छ,’ उनले भने, ‘समृद्धि हासिल गर्न सरकारले नीति योजना, कार्यक्रम ल्याउने छ ।’

फरक प्रसंगमा उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले राजनीतिक प्रणालीमा आएको परिवर्तनसँगै संरचना बन्न नसक्दा सेवा प्रवाह प्रभावकारी बन्न नसकेको उल्लेख गरे । विशेष कानुन, नीति र संरचना बन्नु पर्नेमा केही कानुन बने पनि संरचना बनाउन नसक्दा सरकारले सेवा प्रवाह गर्न नसकेको दावी गर्दै उनले परिवर्तित प्रणालीसँग गाँसिएका मुद्दालाई अगाडि बढाउन चुनौती पूर्ण रहेको बताए ।

Advertisement

जनता राजनीतिक रुपमा सचेत नभए अराजकता बढ्ने चर्चा गर्दै उनले राजनीतिक शून्यतालाई चिर्न जनस्तरमा सचेतनामूलक कार्यक्रम गर्ने उल्लेख गरे । उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले चुनावमा राजनीतिक प्रतिस्पर्धा गरे पनि अब आर्थिक समृद्धि र दिगो विकासका लागि सहकार्य गर्न नेपाली कांग्रेसलाई आग्रह गरे ।

नेकपाका स्थायी समितिका सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले गरिबीको अन्त्य, सिमान्तकृत र उत्पीडित जनताको जीवनमा परिवर्तन ल्याउन सरकार र पार्टीले प्रयास गरेको बताए । युवा शक्तिको परिचालन र जनताको सहभागिताबिना समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै उनले राजनीतिलाई व्यवस्थापकीय ढंगले अगाडि बढाउन नसकेसम्म समृद्धिको आधार तयार गर्न नसकिने धारणा राखे ।

नेता शर्माले पार्टी एकता क्लब जस्तो बनाउन नभएर मुलुकको राजनीतिक स्थीरता र दिगो विकासका लागि भएको दाबी गरे । कम्युनिस्टका नेता तथा कार्यकर्ताहरु अनुशासन र संस्कारको पालना गरी विधि र पद्धतिमा चल्न पर्ने चर्चा गर्दै उनले राजनीतिक संघर्ष नसकिएको बताए ।

नेपाली कांग्रेसका नेता तथा राजनीतिक चिन्तक प्रदीप गिरीले एक दलीय व्यवस्था अंगालेको कारण विश्वव्यापी रुपमा कम्युनिस्ट शासन असफल भएको बेलामा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कारण नेपालका कम्युनिस्ट आन्दोलन बलियो भएको बताए । नेता गिरीले मुलुकले नयाँ मदन भण्डारी र बिपी कोइराला जस्ता नेता चाहेको धारणा राखे । भौतिक विकास, औद्योगिकरण र समृद्धिले मात्र समाजवादी क्रान्ति पूरा नहुने उनले उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाज तथा रेल ल्याउने विषयलाई टिप्पणी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छोडिदिएको चर्चा गर्दै उनले तत्कालीन राजा ज्ञानेन्द्रबाट पाएको अधिकार आफूलाई अड्कलेर तल पठाउन सुझाव दिए । सत्ता जनताको भएकाले प्रदेश र स्थानीयतहलाई अधिकार दिन नेता गिरीले आग्रह गरे ।

कार्यक्रममा मदन भण्डारी फाउन्डेसन कास्कीका अध्यक्ष माधव बाँस्तोला, कार्य समितिका सदस्यहरु विष्णु गौतम, गंगाधर तिमिल्सिना र सुनीता बस्नेत लगायतले बोलेका थिए । कवि नारायण बस्तोलाले युवाको बारेमा कविता सुनाएका थिए ।

तपाईको प्रतिक्रिया