हत्या भएकाे ४ वर्षपछि मात्र जिप्रकामा किटानी जाहेरी दर्ता

समाधान संवाददाता २०७६ वैशाख १५ गते १२:०४

समाधान संवाददाता
पोखरा

छोराको हत्या भएको ४ वर्षसम्म पनि हत्यारा नभेटिएपछि पोखरा ३२ की विष्णुकुमारी पाण्डेले जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएकी छन् ।

पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्धि श्रेष्ठ र उनका साथी पोखरा ९ बस्ने ध्रुव मानन्धरविरुद्ध विष्णुले किटानी जाहेरी दर्ता गराएकी हुन् । सूर्यको शव विभिन्न भागमा चोट लागेको अवस्थामा पोखरा ९ तुलसीघाटमा भेटिएको थियो ।

Advertisement

पटक पटक किटानी जाहेरी दिँदासमेत प्रहरीले दर्ता गराउन नमानेका कारण मानव अधिकारकर्मी लगायतका संस्थाको सहयोगमा शुक्रबार किटानी जाहेरी दर्ता गराइएको हो । २०७१ साल फागुन ७ गते सूर्यको शव भेटिएको थियो ।

सूर्यले मोटरसाइकल बनाउने कम्पनीमा काम गर्थे । शव भेटिएको अघिल्लो दिन बेलुका साथीसँग झगडापछि साथीहरुले नै सूर्यको हत्या गरेको आरोप जाहेरीमा छ । घटनाको ४ वर्षसम्म पनि हत्यारा पत्ता नलाग्नु प्रहरीले अनुसन्धान कमजोर भएको आरोप विष्णुले लगाएकी छन् ।

Advertisement

विष्णुलाई न्याय दिन मानव अधिकार आयोगले चासो देखाएको मानव अधिकार आयोग गण्डकी प्रदेश निर्देशक दिपकजंग कार्की बताउँछन् ।

सामान्यतया कर्तव्य ज्यानसम्बन्धीको मुद्धा मानव अधिकार आयोगको कामभित्र पर्दैनन् । तर पाण्डेले न्याय पाउने अधिकार नपाएका कारण मानव अधिकार आयोगले घटनामा चासो देखाएको कार्कीको भनाइ थियो ।

प्रहरी कार्यालयमा धाउँदा हैरान परेकी पाण्डे पछिल्लो समयमा न्याय खोज्दै इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग लगायतका संस्थामा पुगेकी थिइन् । त्यसपछिमात्रै किटानी जाहेरी दर्ता भयो । यद्यपि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरी छाडेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएपी रवीन्द्रमान गुरुङले किटानी जाहेरी दर्ता भएको बताउँदै अनुन्धान अघि बढाउने बताए । उनले पहिलादेखि नै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया