भूकम्प पीडितलाई लालपुर्जा

समाधान संवाददाता २०७६ वैशाख १५ गते १३:४१

ताराप्रसाद शर्मा
बागलुङ

बागलुङको काठेखोला गाउँपालिका ५ काउलेका भूकम्प पीडितलाई जग्गाधनी प्रमाण पुर्जा(लालपुर्जा) हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन स्थानीय पूर्वाधार कार्यालयले चौथो भूकम्प स्मृति दिवसको अवसरमा काउलेका १० भूकम्प पीडितलाई एकमुष्ट रुपमा एकीकृत बस्ती जग्गा धनी प्रमाण पुर्जा हस्तान्तरण गरेको हो ।

भूकम्प पीडित सुमित्रा दर्जी, सुस्मिता दर्जी, धनबहादुर दर्जी, चिन्ते दमाई, बसीकुमारी दर्जी, धनमाया परियार, गंगाबहादुर परियार, डिलबहादुर दमाई, सविना नेपाली र भविराम दमाईलाई लालपुर्जा हस्तान्तरण गरिएको हो । २०७२ सालको बिनासकारी भूकम्पले जमिन धाजा फाटेर कमजोर बनेपछि त्यहाँका १४ घरपरिवार विस्थापित बनेका थिए । उनीहरुका लागि गाउँपालिकाको ५ को सहयोगमा ५ रोपनी १२ आना जग्गा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले खरिद गरेको थियो ।

Advertisement

१४ घरमध्ये राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन स्थानीय पुर्वाधार कार्यालयले १२ जनाको सिफारिस गरी पठाएको थियो । २ जनाको अन्यत्र जग्गा रहेको खुलेकाले १० जनाको नाममा मात्र अनुदान रकम आएको कार्यालयका प्रमुख इन्जिनियर रामासिंह साहले जानकारी दिए । जग्गाधनी प्रमाण पत्र हस्तान्त्रण गर्दै सांसद डा. सूर्य पाठकले भूकम्पबाट बच्नका लागि भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने बताए । नेपाल पनि भूकम्पपीय जोखिममा रहेको चर्चा गर्दै उनले यसबारे जनचेतना जरुरी रहेको औंल्याए ।

गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि राज्यले अवलम्बन गरेको नीति नियम सबैले अवलम्बन गर्नुपर्ने बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन स्थानीय पूर्वाधार कार्यालयका प्रमुख इन्जिनियर रामांसिस शाहले नेपाल सरकार र स्थानीय तहको सहयोगका कारण काउलेका भूकम्प पीडितको आवास निर्माण अगाडि बढाउन सहज भएको बताए ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङ उपप्रमुख विष्णु भुषाल, काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा, पूर्व सांसद गोबिन्दप्रसाद शर्मा कँडेल र महिला प्रतिनिधि ज्ञानकुमारी श्रीस शर्मा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया