सन्दीप सम्मिलित दिल्ली प्लेअफमा, बेंगलुरु आउट

समाधान संवाददाता २०७६ वैशाख १६ गते ८:३०

समाधान सम्वाददाता

आइपीएलको आइतबारको खेलमा जित हात पार्दै दिल्ली क्यापिटल्स प्लेअफमा प्रवेश गरेको छ । घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई १६ रनले पराजित गर्दै दिल्ली प्लेअफमा प्रवेश गरेको हो । हारपछि बेंगलुरु भने प्लेअफ दौडबाट बाहिरिएको छ ।

१८८ रनको लक्ष्य पाएको बेंगलुरुलाई दिल्लीले १७१ रनमा रोक्यो । दिल्लीलाई सहज जित दिलाउन बलिंगबाट कागिसो राबाडाले उत्कृष्ट बलिंग गरे । जारी लीगमा सर्वाधिक विकेट लिने बलरको सूचीको टपमा रहेका राबाडाले आइतबार २ विकेट लिए ।

Advertisement

यस्तै अमित मिश्राले पनि दुई विकेट लिए भने अक्षर पटेल, रदरफोर्ड र इशान्त शर्माले एक एक विकेट लिए । दिल्लीले ६ खेलाडीबाट बलिंग गराएकोमा नेपाली खेलाडी सन्दीप भने विकेट विहीन रहे । उनले तीन ओभरमा ३६ रनसमेत दिए । उनले आफ्नो कोटाको एक ओभर बलिंग गर्न नै पाएनन् ।

दिल्लीको फिरोज शाह कोटला मैदानमा घरेलु टिम दिल्लीले टस जितेर पहिला ब्याटिंग गर्दै १८७ रनको बलियो स्कोर बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयश अय्यरले ५२ र शिखर धवनले ५० रन बनाएका थिए । दिल्लीले अन्तिम पाँच ओभरमा १२ को रनरेटमा ६० रन बनाएको थियो । जसका कारण उसले बलियो स्कोर बनाउन सक्यो ।

Advertisement

जितपछि दिल्लीको १२ खेलबाट १६ अंक भएको छ र उ शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली प्लेअफमा पुग्ने दोस्रो टिम बन्यो । यसअघि चेन्नई सुपरकिंग्स प्लेअफमा पुगिसकेको छ । दिल्लीभन्दा रनरेट खराब भएपछि १६ अंक भए पनि चेन्नई दोस्रो स्थानमा छ । दिल्ली गत सिजनमा भने तीन खेल बाँकी रहँदै प्लेअफ दौडबाट बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया