सडक खन्दा भत्किएका संरचना लाेकमार्ग आयाेजनाले बनाउने

समाधान संवाददाता २०७६ वैशाख १६ गते १२:२५

रामकृष्ण लामिछाने
पर्वत

सडक खन्ने क्रममा भत्किएका खानेपानीका संरचना मध्यपहाडी लोकमार्ग आयोजनाले बनाउने भएको छ । सदरमुकाम कुश्मा बजारमा वितरण गर्दै आएको खानेपानीका संरचना आयोजनाले विगारेपछि स्थानीय उपझोक्ता आक्रोशित थिए ।

स्थानीय प्रशासनको विशेष पहलमा पटक पटक भएको खानेपानी उपभोक्ता समिति र आयोजनाबीचको छलफलमा बिग्रिएका संरचना बनाउने सहमति भएको हो । ‘दसैंको फूलपातीदेखि यो समस्या बल्झिरहेको थियो,’ प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भने, ‘दुबै पक्षलाई राखेर छलफल गराएर सहमतिमा पुगिएको हो ।’ मध्यपहाडी लोकमार्गको कुश्मास्थित आयोजना कार्यालयका पदाधिकारी, इन्जिनियर, कुश्मा खानेपानीका अध्यक्ष बाबुराम जोशी, प्रबन्धक राजेन्द्र रोका लगायत सरोकारवालाको बार्तापछि आयोजनालले संरचना बनाउन तयार भएको हो ।

Advertisement

सहमति अनुसार आयोजना कार्यालयले सडक चौडा पार्ने क्रममा खानेपानीको मुख्य पाइपलाइन, शाखा लाइन, वितरण च्याम्बर लगायतको काम गर्नेछ । गत वर्षदेखि निर्माणाधिन पर्वत खण्डको मध्यपहाडी राजमार्गको कुश्मा बजार खण्ड ४ लेनको बन्दैछ । सुरुमा २ लेनको सडक मापन गरिएकोमा पछि आयोजना कार्यालयले बजार क्षेत्रको आवश्यकतालाई ध्यानदिँदै खरेहा गेटदेखि चिलाउने चौतारास्थित जिल्ला प्रहरी कार्यालयसम्म ४ लेन बनाउने निर्णय गरेको हो ।

स्टमेट अनुसार काम अघि बढाउने क्रममा सडक छेउबाट कुश्मामा ल्याइएको खानेपानीको पाइपमा क्षती पुगेको थियो । समिति अध्यक्ष जोशीका अनुसार करिव १ करोडको क्षती पुगेको छ । मध्यपहाडी आयोजना कार्यालयले खानेपानी उपभोक्ता समितिको प्राविधिक सहयोगमा क्षतीग्रस्त पाइप, वितरण प्रणाली, भल्ब, च्याम्बर लगायतका फिटिङ उपकरण उपलव्ध गराउने भएको छ ।

Advertisement

खानेपानीले माग गरे बमोजिमको बजेटमा केहि कमी हुन सक्ने भन्दै आयोजना प्रमुख आशिष थापामगरले अपुग रकम सम्बन्धित निकायमा माग गर्नु पर्ने बताए । ‘उपभोक्ता समितिको ९९ लाख स्टमेट छ,’ उनले भने, ‘हामीसँग त्यो बजेट छैन । सकेको सहयोग गर्छौं । अपुग रकम जुटाउन सबैले पहल गर्नु पर्छ ।’ अपुग रकमकालागि कुश्मा नगरपालिका र प्रदेश सरकारसँग माग गर्ने निर्णय भएको प्रजिअ ढकालले बताए  ।

मध्यपहाडी आयोजनाले बजार क्षेत्रमा सडक बिस्तार गर्न सुरु गरेपछि विगत २ महिना यता कुश्मामा खानेपानीको अभाव छ । दैनिक २ हजार उपभोक्तालाई पानीको समस्या परेको खानेपानी उपभोक्ता समितिका प्रबन्धक राजेन्द्र रोकाले बताए ।

तपाईको प्रतिक्रिया