रवीन्द्रको स्मृतिमा शैक्षिक सामग्री वितरण

समाधान संवाददाता २०७६ वैशाख १६ गते १२:३६

समाधान संवाददाता, पोखरा

अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले रवीन्द्र अधिकारीको ६० औं दिनको स्मृतिमा शान्ति उदय मावि पोखरा ३३ का १८० जना विद्यार्थीलाई स्टेसनरी र स्कुललाई खेलकुद सामग्री वितरण गरेको छ ।

संगठनले रवीन्द्र अधिकारीमा समर्पित फोटा र संगठनका विविध गतिविधि समावेश गरी नयाँ वर्षको क्यालेन्डर पनि प्रकाशन गरेको छ । उक्त क्यालेन्डर शान्ति उदय माविमै विमोचन गरिएको छ ।

Advertisement

अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष रश्मि आचार्य र वडा ३३ का अध्यक्ष शिव आचार्यले उक्त क्यालेन्डर विमोचन गरेका थिए । उपाध्यक्ष आचार्यले रवीन्द्र अधिकारीले शिक्षा क्षेत्रमा छोडेको छाप अमिट रहेको सुनाए । ‘विद्यार्थी परिचयपत्रको आधारमा दिइएको छुटमा उहाँ अझै जीवित हुनुहुन्छ,’ उनले भने ।

वडाको विकास र बाटोघाटो पुल निर्माणमा अधिकारीको अतुलनीय योगदान रहेको, जनताको हरेक घाउको मलम बनेर स्थापित नेता गुमाउँदाको पीडा व्यक्त गर्ने शब्द नभएको वडा ३३ का अध्यक्ष शिव आचार्यले बताए ।

Advertisement

संगठनका अध्यक्ष शेखर गौतमले रवीन्द्र अधिकारी अनेरास्ववियुको अध्यक्ष रहँदा देश, जनता र विद्यार्थीप्रति गरेको योगदान, प्रवीण गुरुङको हत्यारा पत्ता लगाउन गरेको ५ लाख २३ हजार हस्ताक्षर संकलन अभियान लगायतको सम्झना गरे । शान्ति उदय मावि रवीन्द्र अधिकारी कक्षा १० सम्म अध्ययन गरेको स्कुल हो । उनको बाल्यकाल ठाउँ रोजेरै कार्यक्रम गरिएको गौतमले सुनाए ।

तपाईको प्रतिक्रिया