सुजितको शिलान्यास बजारमा

समाधान संवाददाता २०७६ वैशाख १६ गते १४:१७

समाधान संवाददाता, काठमाडौं

इतिहास र वर्तमानका विषय जोडेर लेख्न प्रख्यात सुजित मैनाली आफ्नो नयाँ पुस्तक ‘शिलान्यास’ सहित बजारमा आएका छन् । शनिबार उनको पुस्तक विमोचन भयो ।

पत्रकार सुधीर शर्मा, मानवशास्त्री गौरव केसी र अन्तर्राष्ट्रिय मामिलाविद् लिला न्याइच्याइले विमोचन गरेका थिए । कार्यक्रममा पत्रकार सुधीर शर्माले शिलान्यासले वर्तमानका प्रश्नहरुलाई इतिहासको आलोकबाट सम्बोधन गरेको उल्लेख गरे । ‘इतिहासको प्रसंग भए पनि लेखकले वर्तमानकै प्रश्नलाई उठाइरहनुभएको छ,’ शर्माले भने ।

Advertisement

पुस्तकले नेपाली इतिहास, समाज र संस्कृतिबारे किताबले सरल ढंगमा व्याख्या गरिएको शर्माले टिप्पणी गरे । ‘नेपाली इतिहास, समाज र संस्कृतिबारे लेखिएका महत्वपूर्ण सबै दस्तावेज छिचोलेर सरल ढंगमा लेखिएको छ’, शर्माले भने, ‘एकदमै लोकप्रिय इतिहास नभए पनि यो सरल इतिहास लेखन भने अवश्य हो । पुस्तकमा इतिहासलाई लोकप्रिय ढंगले प्रस्तुत गरिएको छ ।’

मानवशास्त्री गौरव केसीले इतिहासका अन्य पुस्तकमा नगरिएको काम शिलान्यासमा गरिएको दाबी गरे । ‘पुस्तक संक्षिप्त, सरल र सबैले बुझ्ने भाषामा लेखिएको छ । नेपाली इतिहासलाई छोटो समयमा बुझ्न चाहने जोकोहीका लागि यो पुस्तकले ह्यान्डबुकको रुपमा काम गर्छ’, शर्माले भने ।

Advertisement

किताबमा नेपाल राज्यको निर्माण, नेपाली शासकले विभिन्न कालमा देखाएको रणनीति र कुटनीतिको समग्र चर्चा गरिएको केसीले उल्लेख गरे ।

‘वर्तमान जति कन्तबिजोक भए पनि इतिहास जीवन्त हुँदोरहेछ । वर्तमान बिर्सिए पनि इतिहास नबिर्सिँइदो रहेछ । कुनै न कुनै हिसाबले हामीले इतिहास सम्झिने रहेछौं । यो पुस्तक पनि त्यसैको अभिव्यक्ति हो,’ केसीले टिप्पणी गरे ।

अन्तर्राष्ट्रिय मामिलाविद् लिला न्याइच्याइले पुस्तकले नेपाली इतिहासको सचित्र व्याख्या गरेको उल्लेख गरिन् । ‘शोधकार्यको महत्व उसको प्रश्न कति वजनदार हुन्छ भन्नेमा भर पर्छ । सुजितजीका प्रश्न वजनदार छन्,’ न्याइच्याइले भनिन् ।

लेखक सुजित मैनालीले वर्तमानका अनेकौं प्रश्नलाई हल गर्न इतिहासको सहारा लिइएको उल्लेख गरे । किताब सामुहिक प्रयत्नको परिणाम भएको उनले जनाए ।

‘प्रकाशकले अग्रसरता नलिएको भए यो पुस्तक लेखिदैनथ्यो’, मैनालीले भने ।

तपाईको प्रतिक्रिया