—सम्पादकीय— पोविविको बेथित

समाधान संवाददाता २०७६ वैशाख १६ गते १४:४३

पोखरा विश्वविद्यालयको बेथिति सधैं छताछुल्ल भइरहेको छ । पछिल्लो समय थुप्रै विद्यार्थीले परीक्षा दिन पाउने÷नपाउने बारेको विवादले विश्वविद्यालय लफडामा पर्‍यो । काठमाडौंका ४२ क्याम्पसले अवैधानिक रुपमा भर्ना गराएका ‘डी प्लस’ योग्यताका ३ सय ४४ विद्यार्थीलाई परीक्षामा सामेल गर्ने÷नगर्ने विषयले विश्वविद्यालय लफडामा परेको हो ।

व्यवस्थापन संकाय अन्तर्गत भर्ना हुन कक्षा ११ र १२ मा १ वा सोभन्दा बढी विषयमा न्युनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने मापदण्ड विश्वविद्यालयले निर्धारण गरेको छ । तर सम्बन्धनप्राप्त कलेजले त्यस विपरीत ३ सय ४४ विद्यार्थी भर्ना गरेको पाइयो । तिनलाई परीक्षाबाट बञ्चित गर्न लाग्दा सर्वाेच्च अदालतले नगर्नु भनेको छ । विश्वविद्यालयले बदमासी गर्ने कलेजलाई कारबाही गर्नुको साटो विद्यार्थीलाई बिचल्ली पार्न आँटेको थियो । त्रिभुवन विश्वविद्यालय लगायतले सोही योग्यताका विद्यार्थीलाई भर्ना लिने तर पोविविले नलिनुपर्ने कारण के हो भनेर सर्वाेच्च अदालतले सोध्यो र विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगराउन आदेश गर्‍यो ।

यता ती विद्यार्थीलाई परीक्षा दिने मौका उपलब्ध गराउने भनिएपछि अरु विद्यार्थीचाहिँ आन्दोलित छन् । नेविसंघको अगुवाइमा भएको विद्यार्थी आन्दोलनका सहभागी यस्ता बेथिति र लापरबाहीको जिम्मेवारी विश्वविद्यालयका पदाधिकारी भएको बताउँछन् । हो, पक्कै पनि यस्ता बेथितिको जिम्मेवार पदाधिकारी हुन्छन् । विशेषतः उपकुलपति र रजिस्ट्रार जिम्मेवार बन्नुपर्छ ।

Advertisement

उत्तरदायी बन्नुपर्छ । उनीहरु भने जागिरमात्रै पकाउने गरी हरेकपटक बेथिति र विसंगतिमा गैरजिम्मेवार र गैरजवाफदेही देखिने गरेका छन् । अरु त अरु उनीहरु सञ्चारमाध्यमको सम्पर्कमा पनि आउन र त्यसबारे प्रष्ट पार्न अन्कनाउँछन् । प्राज्ञिक व्यक्तित्वहरुका लागि त्यस्तो स्वभाव सुहाउँदो पक्कै होइन ।

कहिले स्ववियु पदाधिकारीको पदावधि जबरजस्ती लम्ब्याउने मामलामा भिसी र रजिस्ट्रार अपरिपक्क निर्णय गर्छन् गराउँछन् । कहिले परीक्षा नियन्त्रणका कार्यालयबा डाटा चोरी हुँदा दोषीहरुलाई कारबाही गर्न खुट्टा कमाउँछन् । यसले पोखरा विश्वविद्यालयको विश्वस्नीयता धरापमा परेको छ । प्राज्ञिक थलोको बेइज्जत हुने गरेको छ ।

Advertisement

नेतृत्व अर्थात पदाधिकारीका यस्तै गैरजवाफदेहीपनले २० वर्षभन्दा पुरानो भइसक्न आँटेको विश्वविद्यालयको हालत टु्यसन र कोचिङ सेन्टरको जस्तो मात्रै देखिने गरेको छ । पोखरा विश्वविद्यालयले आजसम्म गौरवपूर्ण इतिहासको यात्रा सुरु गर्न सकेको छैन ।

पोखरा विश्वविद्यालयमा आज जो पदाधिकारी छन्, जसले जागिर खाइरहेका छन्, तिनलाई यसको स्थापनाको कथाव्यथा थाहा नभएको पनि हुन सक्छ । दसकौं लामो संघर्षपछि पोखरेलीको पहल कदमीपछि विश्वविद्यालय स्थापना भएको हो । स्थानीयको सपना गौरवपूर्ण प्राज्ञिक थलो निर्माण गर्ने हो । यसबाट दक्ष जनशक्ति उत्पादन गर्ने हो । तर त्यो सपना पूरा गर्ने दिशामा पोखरा विश्वविद्यालयमा गइरहेको छैन । जसले सम्पूर्ण पोखरेलीलाई पनि लज्जित बनाएको छ ।

तपाईको प्रतिक्रिया