आमाको अथक प्रयास सफल, बल्ल समातिए अभियुक्त

समाधान संवाददाता २०७६ वैशाख १६ गते २०:२४

सुरेशराज अधिकारी, समाधान

नयाँबजार बस्ने सूर्य पाण्डेको हत्या भएको ४ वर्षपछि मात्र जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सुरु गरेको छ । जाहेरी ऊ बेला नै परे पनि गत शुक्रबार किटानी जाहेरीपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै ३ जनालाई पक्राउ गरेको छ ।

४ वर्षअघि पोखरा ९ नयाँबजार तुलसीघाटमा मृत अवस्थामा फेला परेका सूर्य पाण्डेको हत्याको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्धि श्रेष्ठ र उनका साथी पोखरा ९ बस्ने ध्रुव मानन्धर र ध्रवका दाइ रामचन्द्र मानन्धरलाई पक्राउ गरेको प्रहरी स्रोतको दाबी छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले आइतबार बेलुका पक्राउ गरेको हो । उनीहरुलाई सोमबार म्याद थप गरेर कास्की प्रहरीको हिरासत कक्षमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।

पक्राउ परेकामध्ये १ जनाले हत्या स्वीकारेको स्रोत बताउँछ । तर अनुसन्धानमा खटिएका प्रहरी उक्त बयान मान्न तयार छैनन् । ‘१ जनाले मात्र हत्या गरेको हुन सक्दैन,’ अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्, ‘घटनामा कम्तीमा पनि २ जनाको हात हुनुपर्छ ।’

Advertisement

४ वर्षसम्म पनि हत्यारा पत्ता नलागेपछि सूर्यकी आमा विष्णुकुमारी पाण्डेले जिल्ला प्रहरी कार्यालय कास्कीमा शुक्रबार पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्धि श्रेष्ठ र उनका साथी पोखरा ९ बस्ने ध्रुव मानन्धरविरुद्ध किटानी जाहेरी दर्ता गराएकी थिइन् ।

सूर्यको शव विभिन्न भागमा चोट लागेको अवस्थामा पोखरा ९ तुलसीघाटमा भेटिएको थियो । सोही कारण उनकी आमाले हत्यारा पत्ता लगाइदिन आग्रह गर्दै विभिन्न संघ संस्थामा धाउँदै आएकी थिइन् ।
पटकपटक किटानी जाहेरी दिँदासमेत प्रहरीले दर्ता गराउन नमानेका कारण मानव अधिकारकर्मी लगायत संस्थाको सहयोगमा शुक्रबार किटानी जाहेरी दर्ता गराइएको हो । २०७१ साल फागुन ७ गते सूर्यको शव भेटिएको थियो ।

Advertisement

सूर्यले मोटरसाइकल बनाउने कम्पनीमा काम गर्थे । शव भेटिएको अघिल्लो दिन बेलुका साथीसँग झगडा साथी हत्या गरेको रामचन्द्र मान्धरले प्रहरीलाई बयान दिएका छन् ।

विष्णुले न्याय नपाएको कारण घटनामा अत्यारा पत्ता लगाउन मानव अधिकार आयोगले चासो देखाएको मानव अधिकार आयोग गण्डकी प्रदेश निर्देशक दीपकजंग कार्की बताउँछन् । प्रहरी कार्यालयमा धाउँदा हैरान परेकी पाण्डे पछिल्लो समय न्याय खोज्दै इन्सेक, राष्ट्रिय मानवअधिकार आयोग लगायत संस्थामा पुग्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएपी रवीन्द्रमान गुरुङले केही व्यक्तिहरुलाई पक्राउ गरेको र केहीले हत्या स्वीकारेको बताए ।

तपाईको प्रतिक्रिया