नेपालसँग जापान सरकारले माग्यो सीपयुक्त जनशक्तिको विवरण

समाधान संवाददाता २०७६ वैशाख १७ गते ९:०४

समाधान सम्वाददाता

जापान सरकारले रोजगारका लागि किटान गरेका १४ वटा क्षेत्रमध्ये नेपालले तत्काल पठाउन सक्ने श्रमिकको सीपयुक्त क्षेत्रको श्रमिक जनशक्ति विवरण माग गरेको छ ।

श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’ पछि श्रमिक अध्ययन गर्न बनेको जापानको प्राविधिक टोलीले नेपालबाट पठाउन सकिने सीपयुक्त जनशक्तिको विवरण माग गरेको हो ।

Advertisement

नेपाली कामदार लैजाने गरी जापानसँग सम्झौता भएपछि थप प्रक्रिया श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघि बढाइरहेको छ । जापानले पाँच वर्षभित्र नेपालसहित नौ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजान लागेको छ ।

जापानले यसअघि नै कामदार लिँदा प्राविधिक कामदार लिने नीतिसमेत तय गरेको छ। ज्यालामा स्वदेशी र विदेशी कामदारबीच कुनै विभेद नगर्ने गरी जापानको संसदले कानुन पास गरिसकेको छ।

Advertisement

१४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा विदेशी कामदार प्रयोग गर्ने जापानी तयारी छ।

जापानले नयाँ नीतिसँगै पहिलो पाँच वर्षमा ६० हजार नर्स भित्र्याउने लक्ष्य राखेको जनाएको छ। त्यस्तै रेष्टुरेण्ट क्षेत्रमा ५३ हजार भित्र्याउने लक्ष्य राखेको छ। जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार १ सय ५० कामदार लैजाने तयारी गरेको छ।

नेपालसँगै भियतनाम, चीन, फिलिपिन्स, इण्डोनेसिया, थाइल्यण्ड, म्यानमार, कम्बोडिया र मंगोलियाबाट जापानले कामदार लिने जनाएको छ। जापानले कामदार भित्र्याउनु अघि नयाँ भिसा सिस्टम लागु गरिसकेको छ।

जापानले कामदार भित्र्याउँदा आफ्नो साना र मझौला कम्पनीसँगै कृषिमा उत्पादन बढ्ने प्रक्षेपण गर्दै आएको छ।

जापानले चिसो याममा नर्सहरूले अस्पताल छाड्ने समस्या भोग्दै आएको छ। प्रधानमन्त्री सिन्जो आबेले सन् २०१७ को हिउँदमा अस्पतालहरू नर्सविहीन भएको रिपोर्ट पाए लगत्तै विदेशी कामदार ल्याउन निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया