सन्तोषीकोे लापरवाहीः पुलै लच्किएपछि भत्काउनुपर्ने अवस्था

समाधान संवाददाता २०७६ वैशाख १७ गते ९:४८

अमृत सुवेदी

यो नयाँ वर्षको पहिलो दिन नै एउटा समाचार फैलियो— गुल्मीको बडीघाट खोलामा निर्माणाधीन पुल भाँचियो, काम गरिरहेका ५ जना घाइते नै भए । सामाजिक सञ्जालभरि यही खबर छायो । मुसीकोट नगरपालिकाको वडा नम्बर ३ र ७ जोड्ने पुल ढलान गर्दागर्दै भत्किएको थियो ।

केही ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माण क्षेत्र नै बद्नाम भइरहेको छ । ०७४ भदौमा पप्पु कन्स्ट्रक्सनले बनाइरहेको पुल उद्घाटन नहुँदै भाँचियो । गएको वर्ष वैशाख १० गते गल्छी गाउँपालिका र गजुरी गाउँपालिका जोड्ने त्रिशुली नदीको पुल काम भइरहेकै अवस्थामा भाँचिएको थियो । गएको साउन २७ मा काठमाडौं ढल्कुस्थित विष्णुमति नदीमा निर्माणाधीन अर्को पुल यसैगरी भाँचिएको थियो । गएको भदौ १७ गते सिन्धुलीको दुधौली खोला पुल खसेको थियो ।

Advertisement

अहिले अर्को त्यस्तै योजना छ, जुन निर्माण सम्पन्न नै नभई भत्काउनुपर्ने अवस्था आएको छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ६ साँखर सोल्टी होटल र तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ को बैंडी जोड्ने मोटरेबल पुल ठेकेदारको लापरबाहीकै कारण निर्माण सम्पन्न नै नभई भत्काउनुपर्ने देखिएको छ ।

सन्तोषी नागार्जुनदेवी चितवनले २०७२ असार २८ गतेभित्र निर्माण सकिसक्ने गरी २०७० असार २८ गते मैदीखोला पुलको ठेक्का लिएको थिायो । तर, अहिले २०७६ साल लागिसक्दा पनि निर्माणाधीन पुल अलपत्र छ । निर्माण सक्नुपर्ने समय गुजारेको ठेकेदार कम्पनीको लापरबाहीले पुल १५ सेन्टिमिटर लच्किन पुग्दा अहिले पुनै भत्काउनुपर्ने अवस्था आइपरेको सडक डिभिजन कार्यालय पोखराले बताएको छ ।

Advertisement

सन्तोषी नागार्जुनदेवी कम्पनीको खेलाँचीले ४ वर्षअघि निर्माण सक्नुपर्ने पुलले सडक डिभिजन कार्यालय र स्थानीयलाईसमेत झुक्याएको छ । यो नौलो प्रविधिबाट निर्माण गर्न लागिएको पुल हो । बिम ढलान गरिसकेपछि टुचन प्रयोग गरि १४ दिनपछि लोड तान्नुपर्ने पुलमा यसयमा कामै नगरिँदा यस्तो अवस्था आएको डिभिजन इन्जिनियर हरिकुमार पोखरेलले बताए ।

‘सुरुमा पुलमा प्रयोग हुने टुचन नै कमजोर र खिया लागेको लिएर आए । पछि अर्को ल्याएपछि पनि समयमा काम नहुँदा पुल नै भत्काउनुपर्ने अवस्थामा आइपुगेको छ,’ इन्जिनियर पोखरेलले भने, ‘२÷३ सेन्टिमिटर तलमाथि भएको भए पनि अर्को विकल्प प्रयोग गरी मिलाउन सकिन्थ्यो होला तर १५ सेन्टिमिटर लच्किएको छ, मिलाउन सक्ने अवस्था छैन ।’

पुल निर्माण गरिसक्ने बाचासहित २०७२ पुस २० गतेसम्मका लागि म्याद थप गरेको कम्पनीले अहिले निर्माण नै अलपत्र पारेको छ । ‘पुल निर्माण थालिएको ५÷६ वर्ष भइसक्यो । ३ वर्षदेखि त केही काम नै हुन सकेको छैन । सडक डिभिजनलाई पनि सोध्यौं, ठेकेदार कम्पनीलाई पनि ध्यानाकर्षण गरायौं, केही लागेन,’ स्थानीय पेश्क कार्कीले भने, ‘पुल निर्माण होला भनेर बसेको थियौं । अन्त सुनेको समाचार आफ्नै ठाउँमा भोग्यौं । अहिले पुलै काट्नुपर्ने अवस्थामा छ भन्ने सुनेको छु ।’

ठूलो मात्रामा लच्किएका कारण मिलाउन नमिल्ने भएकाले भत्काउनै पर्ने अवस्थामा आइपुगेको र ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको डिभिजन इन्जिनियर पोखरेलले बताए ।

५ करोड ८६ लाख ९३ हजार रुपैयाँ इन्जिनियरिङ इन्टिमेट गरिएको पुलको ३ करोड ५६ लाख ९३ हजार रुपैयाँमा सन्तोषीले ठेक्का हात पारेको थियो । ठेकेदार कम्पनीले अहिलेसम्म १ करोड ६० हजार रुपैयाँ भुक्तानी लगिसकेको छ ।

सन्तोषी नागार्जुनदेवीका मालिक उज्जवल कडेंल हुन् । यो कम्पनीले ठेक्का पाएको अन्य ठाउँको अवस्था पनि यस्तै रहेको छ । निर्माण क्षेत्रमा यो कम्पनीले बदनामी कमाइरहेको छ । यही कम्पनीले त्यही पुलदेखि तनहुँको घिरिङ गाउँपालिकासम्मको सडकमा नाली र ग्राभेलको ठेक्का पाएको छ तर काम कछुवाको गतिमा भइरहेको भन्दै स्थानीय असन्तुष्ट छन् ।

तपाईको प्रतिक्रिया