छोरीको शिक्षा र स्वास्थ्यमा इन्द्रमायाको चिन्ता

समाधान संवाददाता २०७६ वैशाख १७ गते ११:३६

कृष्ण न्यौपाने
दमौली

‘छोरी बेला–बेलामा बिरामी पर्छे, छोरीको औषधि उपचारका लागि मलाई धौ–धौ परिरहेको छ । मलाई अरु केही चाहिएको छैन, छोरीको स्वास्थ्य र शिक्षाकै चिन्ता छ ।’

तनहुँको व्यास नगरपालिका वडा नं १० डिहीगाउँ निवासी इन्द्रमाया तामाङ कुसुण्डालाई आफ्नी ११ वर्षीया छोरी सीमान्त कुसुण्डालाई कसरी राम्रो स्वास्थ्य र शिक्षा दिने भन्ने चिन्ता सधैं छ । लोपोन्मुख र तनहुँकै एकमात्र कुसुण्डा जातिका स्व. राजामामा कुसुण्डाका श्रीमती इन्द्रमायालाई छोरी सीमान्तको स्वास्थ्य उपचार र शिक्षाका लागि समस्या परेको हो ।

Advertisement

सामाजिक सुरक्षा भत्ता बापत नेपाल सरकारले प्रतिव्यक्ति एक हजार रुपैयाँ भत्ता दिने गरेको छ । जसअनुसार इन्द्रमायाले आफ्नो र छोरीको समेत गरी मासिक २ हजार रुपैयाँ भत्ता पाउँछन् । तर उक्त भत्ताले घरखर्च समेत चलाउन धौ–धौ परेको उनले बताइन् ।

केही समयअघि सोही वडास्थित सतीश बोर्डिङ स्कुलमा कार्यालय सहयोगी रुपमा काम गर्दै आएकी उनीसँग अहिले रोजगारीसमेत छैन । विद्यालयले घरमा समेत काम गर्न आग्रह गरेपछि उनले दुवैतिर काम गर्न नसक्ने जानकारी गराएका थिइन् । त्यसयता विद्यालयले उनको स्थानमा अरुलाई नै रोजगारी दिएको छ । उनले भनिन्, ‘अहिले रोजगारी पनि छैन । रोजगारी नभएपछि आम्दानीको बाटो समेत बन्द भयो । घरखर्च चलाउनसमेत समस्या परिरहेको छ ।’

Advertisement

सीमान्त सतीश बोर्डिङ स्कुलमा ४ कक्षामा अध्ययन गर्छिन् । छोरीको मासिक शुल्क १ हजार ४ सय रुपैयाँ छ । उनका अनुसार सोही बोर्डिङमै कार्यरत रहेकाले जेनतेन छोरीको मासिक शुल्क तिर्न पुगेको थियो । उनले भनिन्, ‘तर अब रोजगारी नभएपछि कसरी शुल्क तिर्ने भन्ने चिन्ता पनि थपिएको छ ।’

कुसुण्डा भाषा बोल्न जान्ने राजामामाको गत वर्ष वैशाख ५ गते निधन भएको थियो । राजामामाको निधनपछि कुसुण्डा भाषासमेत लोप हुने चिन्ता बढेको इन्द्रमायाले बताइन् । उनले भनिन्, ‘मलाई पनि कुसुण्डा भाषा खासै आउँदैन । राजामामासँग विवाह गरेपछि अलि–अलिमात्रै बोल्न जानेको छु । तर कोसँग बोल्ने, यो भाषा बोल्ने मान्छे अरु छैनन् ।’ आफूलाई समेत राजामामाले नै अलिअलि बोल्न सिकाएको उनले बताइन् ।
सोही वडाका अध्यक्ष तुलसीराम सापकोटाले सीमान्तको पढाइको जिम्मेवारी वडा कार्यालयले लिने प्रतिबद्धता जनाए । उनले आगामी आर्थिक वर्षको बजेटमै वडाबाट सीमान्तको शिक्षाको लागि बजेट छुट्याउने तयारी गरिएको जानकारी दिए । इन्द्रमायाको रोजगारीका लागि समेत आफूले नगर प्रमुखसँग छलफल गर्ने उनको भनाइ छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरिद गरी तीन कोठे घर निर्माण गरिदिएको छ । प्रतिष्ठानले नै २०६१ पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो ।

सीमान्तको सहयोगका लागि अभियान
साहित्यकार एवं साभ नेपाल संस्थाका अध्यक्ष तुलसी प्रवासले सीमान्तको सहयोगका लागि अभियान सुरु गरेका छन् । नेपालका विभिन्न जातजातिको अनुसन्धानमा लागेका उनले कुसुण्डा बालिकाको सहयोग अभियान सुरु गरेका हुन् ।
कुसुण्डा परिवारको आर्थिक अवस्था ज्यादै दयनीय रहेकोले सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान सञ्चालन गरेको उनले जानकारी दिए । तनहुँको व्यास नगरपालिकामा बसोबास गर्ने ३९ प्रकारका जातजातिको सामाजिक सांस्कृतिक पक्षको अनुसन्धानका सिलसिलामा उनले कुसुण्डा परिवारलाई भेटेका थिए । तनहुँमै एकमात्र कुसुण्डा सन्तति रहेकी सीमान्त कुसुण्डाको शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नका लागि आफूले अभियान सुरु गरेको उनको भनाइ छ ।
उनले भने, ‘अध्ययनकै शिलशिलामा त्यस ठाउँमा पुग्दा उनीहरुको समस्या बारे जानकारी पाएँ र यो अभियान सञ्चालन गर्ने भावना जाग्यो ।’ उनका अनुसार अभियान सञ्चालन गरे लगत्तै देश तथा विदेशबाट केहीले सहयोग गरिसकेका छन् भने केहीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अमेरिकामा रहेका आफ्ना साथीले सीमान्तलाई कक्षा १२ सम्म अध्ययन गराउने प्रतिबद्धता समेत जनाइसकेको प्रवासले जानकारी दिए । उनका अनुसार अभियानबाट सङ्कलित रकमले कोष बनाइनेछ । उक्त कोषबाट प्राप्त रकमले सीमान्तको शिक्षा र स्वास्थ्य उपचारमा खर्च गरिनेछ ।
उनले भने, ‘सिधै हातमा पैसा दिनेभन्दा पनि स्वास्थ्य र शिक्षामा लगानी गर्ने उद्देश्य हो । साथै चाडपर्वको समयमा चाडपर्व मनाउन समेत केही पैसा दिने योजना बनाएका छौं ।’ उनले अभियानबाट सङ्कलित रकमलाई पारदर्शी बनाउने समेत प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया