म आफै सन्तुष्ट छैनः मन्त्री विकास लम्साल

समाधान संवाददाता २०७६ वैशाख १७ गते १२:२०

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकारले सोचे अनुरुपको विकास गर्न नसकिएको बताएका छन् । प्रदेश मन्त्रालयले आयोजना गरेको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटनपछि पोखरामा उनले कर्मचारीको असहयोगका कारण विकासमा साझेदारीका लागि समस्या परेको उल्लेख गरे ।

दशर्कौं नीति निर्माणमा बसेका कर्मचारी गोष्ठी र छलफलमा यो भएन भनेर भाषण गरेको देख्दा अचम्म लागेको उनले बताए । मन्त्री लम्सालले विभिन्न बाहानामा काम हुन नदिने परिपाटी अहिले पनि विद्यमान रहेको आरोप लगाए । आफू अहिले मन्त्रालयको कामप्रति सन्तुष्ट नभएको उनको भनाइ थियो ।

Advertisement

विकासका लागि ट्रयाक परिवर्तन आवश्यक भए पनि कर्मचारीतन्त्रले नयाँ ट्रयाक मन नपराएकोले समस्या आएको उनले औंल्याए । पुरानै परिपाटीलाई निरन्तरताको लागि संघीयता नआएका बताउँदै कर्मचारीलाई उच्च मनोबलका साथ अप्ठेरालाई सहजतातर्फ लैजाने खालका काम गर्न आग्रह गरे । वस्तुको उत्पादन तथा बजारीकरणको व्यवस्था मिलाउने योजना निर्माण गर्न गोष्ठी भएकाले सोही खालका सुझाव दिन उनले सुझाए ।

प्रदेश सरकारले १ स्थानीय तह १ उद्योग ग्राम निर्माण गर्न लागेकाले सोही अनुसारको काममा लाग्न र जनताको जीवनस्तर उकास्नतर्फ सोच्न उनले निर्देशन दिए । महाशाखा प्रमुख नारायण आचार्यले मन्त्रालयले कस्तो योजना बनाउने भन्नेबारे सही र प्रभावकारी सुझाव दिन आग्रह गरे । २ दिनसम्म चल्ने गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका मन्त्रालय अन्तर्गतका उद्योग अधिकृतको सहभागिता छ ।

Advertisement

तपाईको प्रतिक्रिया