आलु पारखीको रोजाइमा मुस्ताङे आलु

समाधान संवाददाता २०७६ वैशाख १८ गते ११:४१

सुन्दरकुमार थकाली
मुस्ताङ

मुस्ताङमा स्याउ र फापर जस्तै आलु खेतीको संम्भावना छ । चिसो जमीनमा उत्पादन गरिने मुस्ताङे आलुको स्वादले आकर्षित गरेको छ । जुनसुकै परिकार बनाए पनि मुस्ताङे आलुको तुलनामा अन्य स्थानका आलु कम स्वादिलो भएको बताइन्छ । केही मिनेटमा पाकिहाल्ने मुस्ताङे आलुको विशेषता हो ।

जिल्लाका ५ वटै स्थानीय तहका ९६ गाउँबस्तीमा आलु लगाइन्छ । तल्लो मुस्ताङका ३ स्थानीय तहका स्याउबारीभित्रै आलु लगाएर मुस्ताङका किसानले दोहोरो लाभ लिएका छन् । विशेषगरी मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आलु उत्पादन बढी हुन्छ ।

Advertisement

जिल्ला कृषि विकास कार्यालय र संघीयतापछिको स्थानीय तहले मुस्ताङमा कति आलु उत्पादन हुन्छ भन्ने तथ्यांक राख्न नसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए ।

स्थानीय तहले स्याउमा राजश्व लिने गरे तापनि आलुमा कुनै शुल्क नलगाएको घरपझोङ गाउँपालिकाकी कृषि अधिकृत विष्णु भट्टराईले जानकारी दिइन् । उनले आलु किसानलाई प्राविधिक सहयोग गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

Advertisement

प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तर्गत केही वर्षअघि थासाङ गाउँपालिकालाई आलु पकेट क्षेत्र घोषणा गरिएको थियो । तर आलु खेती गर्ने किसानलाई अनुदान तथा प्राविधिक सहयोग प्राप्त भएको छैन ।

घरपझोङ गाउँपालिका ४ का किसान अजित थकालीले आलुको बिउ बिजन, औषधि र बजारकरण सबै सेवाग्राही आफैंले व्यवस्था गर्ने गरेको बताए। उनले सरकारले आलु खेती प्रबद्र्धन गर्न सहयोग गर्नुपर्ने जनाए ।

मुस्ताङमा हिउँदयाममा आलु लगाएर वर्षायाममा आलु निकालिन्छ । मुस्ताङका किसानले स्थानीय सेतो र विकासे जातको रातो आलु लगाउने गरेका छन् । स्थानीय आलु उत्पादन हुन ६ महिना र विकासे आलु उत्पादन हुन ३ महिना समय लाग्छ । मुस्ताङको चिसो भूगोलमा उत्पादन हुने भएकाले विकासे रातो आलुको स्वाद पनि स्थानीय आलुभन्दा स्वादमा कम छैन ।

रातो आलु उत्पादन व्यावसायिक बनेको घरपझोङ ४ का स्थानीय गणेश शेरचनले जानकारी दिए । मुस्ताङमा यतिबेला आलु गोडमेलको चटारो छ । आलुको बोट वरिपरि खनेर माटो खुकुलो पार्न माटो चुलाइन्छ । स्थानीय सेतो आलु साउन÷भदौ र रातो विकासे आलु जेठ÷ असारमा निकालिन्छ ।

मुस्ताङका आलु पोखरा र काठमाडौं सहरमा निर्यात हुने गरेको छ । मुस्ताङका आलु किसानले २ मुरीदेखि ५० मुरीसम्म आलु उत्पादन गर्दछन् । पछिल्लो समय सामूहिक आलु खेती थालिएको छ ।

तपाईको प्रतिक्रिया