जीवन शिक्षाकै अर्काे नामः उपप्रमुख मञ्जुदेवी गुरुङ

समाधान संवाददाता २०७६ वैशाख १८ गते ११:४७

समाधान संवाददाता
पोखरा

पोखरा महानगरले महिलालाई सशक्त बनाउन छुट्टै कार्यक्रम सञ्चालन गरिरहेको छ । महिलालाई तालिम, शिक्षा, अनुदान, सचेतना जस्ता क्रियाकलाप समेटेर उपप्रमुखसँग महिला कार्यक्रम ल्याएको हो । पोखरा १७ मा मंगलबारदेखि शैक्षिक सहजता कार्यक्रम सुरु भएको छ ।

पोखराका उपप्रमुख मञ्जुदेवी गुरुङले ८२ वर्षीया विष्णुमाया अधिकारीलाई शैक्षिक सामग्री हस्तान्त्ररण गरी कार्यक्रम सुरुआत गरिन् । उनले मानव जीवनलाई शिक्षाकै अर्काे नामको संज्ञा दिइन् । समृद्धिको यात्रामा पिछडिएका महिलाका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले बताइन् ।

Advertisement

महानगर सबै बासिन्दालाई विकास र समृद्धिको यात्रामा लैजाने योजनामा रहेको उल्लेख गर्दै उनले कमजोरहरुलाई विशेष प्राथमिकता दिइएको सुनाइन् । उपप्रमुख गुरुङले भनिन्, ‘एकल महिला, गरिब र अपांगका लागि पनि विशेष कार्यक्रम छन् ।’

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले महतगौडा, सीतापाइला र दोबिल्ला क्षेत्रमा बस्ती विकास भइरहेकाले विकासका कार्य व्यवस्थित रुपमा गर्न त्यहीका बासिन्दा सचेत हुनुपर्ने औंल्याए । उनले यस क्षेत्रको विकासका केही योजना आगामी वर्ष पूरा गर्ने प्रतिवद्धता गरे । अधिकारीले भने, ‘महतगौडाको यो डरलाग्दो गल्छी आगामी वर्ष भत्किन्छ ।’

Advertisement

महानगरका कार्यपालिका सदस्य राधिकादेवी शाही योगीले सिकाइ जीवनभर चल्ने भएकाले उमेरले यसलाई नछेक्ने बताइन् । उनले भनिन्, ‘कमजोर आर्थिक अवस्था, सानैमा बिहे, छोरीमाथि हुने विभेद जस्ता कारणले पढ्न नपाएका महिलालाई सक्षम बनाउन कार्यक्रम उपयोगी छ ।’

कार्यक्रममा वडा सदस्यहरु बैकुण्ठ भण्डारी, तारा परियार र शान्तिादेवी गुरुङ, सदशिवजी हरिहर मन्दिर अध्यक्ष दीपक आचार्य, समाजसेवीत्रय सुभास ढुंगाना, वेदनाथ भण्डारी र नरेन्द्र गुरुङ, जनकल्याण टोल विकास संस्थाका अध्यक्ष रघुनाथ भण्डारी, समृद्धि टोल विकास संस्थाका अध्यक्ष माधव पनेरु, सचिव जीवन सुवेदी, शैक्षिक सहजता कार्यक्रमका सहजकर्ता अनिषा बराल लगायतले बोलेका थिए ।

विभिन्न कारणले औपचारिक शिक्षाको अवसर नपाएका महतगौडा, सीतापाइला, लामातरा र दोबिल्ला क्षेत्रका बासिन्दा कार्यक्रममा सहभागी हुने छन् । ३ महिने कार्यक्रमबाट नागरिकले सामान्य व्यवहारिक शैक्षिक ज्ञान पाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया