कहिले बन्छ भानुगृह ?

समाधान संवाददाता २०७६ वैशाख १८ गते १२:००

कृष्ण न्यौपाने
दमौली

मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरु छन् घरभित्र नै छन्
त्येस् घाँसीले कसरी आज दिएछ अर्ती
धिक्कार हो मकन बस्नु नराखी किर्ती । (भानुभक्त आचार्य)

आदिकविको माटो र ढुंगाले बनेको २ वर्षभन्दा पुरानो त्यही घरको गाह्रो अहिले चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ । घरभित्रै विभिन्न जातका ठुल्ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन ।

Advertisement

नेपाली भाषाका धरोहर आचार्यको जन्मघरको यो दुर्दशा देख्ने जो कोहीको पनि मन कटक्कै खान्छ । तनहुँको भानु नगरपालिका ४ शिखरकटेरीस्थित भानुगृह पुनर्निर्माण नहुँदा बेवारिसे अवस्थामा पुगेको छ ।

केही दिनअघि साहित्यकार डा. नवराज लम्सालले आचार्यको खण्डहर घर अगाडि बसेको तस्बिर फेसबुकमा पोस्ट गर्दै भानुगृहको संरक्षण हुन नसक्नु दुखद भएको लेखेका थिए । उनले लेखेका छन्, ‘नेपाली साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्य जन्मेकै घरको जग हो यो ।

Advertisement

यो तीर्थस्थल हो कविहरूको र अन्तर्राष्ट्रियरुपमा नेपालीले देखाउने ठूलो संग्रहालय पनि हो । कसैलाई केही भन्ने ताकत त मसँग छैन तर यत्ति भन्छु– भाषणै भाषणले थिलोथिलो भएको देशको नाम नेपाल हो ।’

उनले भनेजस्तै भानुगृह निर्माण गर्ने भनेर भाषणमा भनिए पनि निर्माणको काम सुरु हुन सकेको छैन । पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको पुनर्निर्माणका लागि शिलान्याससमेत गरेको थियो । विसं २०७३ साल चैत २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालीन मुख्य सचिव डा. सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लीलामणि पौडेल र मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले शिलान्यास गरेका थिए ।

भानृगृह करिब ६८ लाख रुपैयाँको लागतमा निर्माण हुने भनिए पनि निर्माण सुरु नभएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिए । उनले भने, ‘पुनर्निर्माणको शिलान्यास त भयो तर, काम अगाडि बढेन ।’

मञ्चसँग पटक पटक सम्पर्क गर्दा शिखर कटेरी ‘हामीले नै बनाउँछौ’ भनेर जवाफ आउने गरेको रानाभाटले बताए । उनले भने, ‘३ पटकसम्म त घरको नक्शा परिवर्तन भइसक्यो तर, काम किन सुरु भएन बुझ्न सकेका छैनौं ।’ मञ्चका संस्थापक अध्यक्ष कोनेले खानेपानीको अभाव, बाटाको समस्या र समन्वय अभावका कारण भानुगृहको काम अगाडि बढ्न नसकेको जानकारी दिए । स्थानीय तहले खानेपानी, बाटो र सुरक्षाको राम्रो प्रबन्ध गराए भने भवन निर्माण तत्कालै सुरु गर्ने उनले बताए ।

‘शिखर कटेरीसम्म पुग्ने बाटो ग्राभेल मात्रै गर्न सकियो भने पनि काम गर्न सहज हुन्थ्यो’, उनले भने, ‘जंगलको बीचमा भएको कारण सुरक्षाको खतरासमेत उत्तिकै छ ।’ उनका अनुसार निर्माण व्यवसायीले सुरक्षाको कारण देखाउँदै काम गर्न मानिरहेका छैनन् । उनले भने, ‘जंगलै जंगलको बीचमा भएकाले सामग्रीहरु हराउने डरसमेत उत्तिकै छ । त्यहीमाथि भवनकोसमेत सुरक्षा हुन्न कि भन्ने लागेको छ ।’

कोनेले स्थानीय तहलेसमेत राम्रो समन्वय नगरिदिएको गुनासो गरे । उनले बाटो र सुरक्षाको प्रबन्धका लागि स्थानीय तहलाई समेत पटक पटक आग्रह गरिए पनि कुनै सम्बोधन नभएको बताए । नेपाली साहित्यका धरोहर आदिकविको योगदानलाई सरकारले समेत चिन्न नसकेको उनको गुनासो छ । ‘साहित्यिक तीर्थस्थल बन्न सक्ने यस ठाउँको विकासका लागि संघीय सरकारले बजेट विनियोजन गर्न सकिरहेको छैन’, उनले भने । उनका अनुसार भवन निर्माणका लागि बजेटको अभाव भने रहँदैन ।

मञ्चका संस्थापक पूर्वमहासचिव तथा भानुघर निर्माणका लागि मञ्चका समन्वयकर्ता धर्मराज बराल भवन बनाउन ५÷७ लाख जुटिसकेको जानकारी दिँदै चालु आवमा पनि काम नभएमा आगामी आवमा आफूले समन्वय गरेर भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । मञ्चका संरक्षक सदस्य बरालले नेपाल सरकारले नै यसमा ध्यान दिएर भानुघर बनाउनुपर्नेमा जोड दिए । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका उपाध्यक्ष संगम सापकोटाले भानुको घर पुनर्निर्माण नहुनु साहित्य क्षेत्रलाई बेवास्ता गर्नुसरह भएको बताए ।

उनले भने, ‘भारतको दार्जिलिङमा भानुभक्तको ठूलो सम्मान छ तर, आफ्नै देशभित्र उनको सम्मान हुन सकेन ।’ भानुभक्तको जन्मघर पुगेका घिरिङ गाउँपालिका वडा नं १ अत्रौलीका रोमाकान्त पोख्रेलले भानुगृह खण्डहर अवस्थामा देख्दा नमज्जा लागेको बताए । उनले नेपाली भाषाबाट राष्ट्रिय एकीकरण गर्ने भानुभक्तलाई राज्यले चिन्न नसक्नु दुखद भएको बताए । उनले भने, ‘विश्वले चिनेको भानुभक्तलाई नेपालले चिन्न नसक्नु दुखद हो ।’

विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर १ लाखमा पुनर्निर्माण गरेका थिए । जंगलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी हुँदा १ लाख २७ हजार रुपैयाँ बराबर क्षति भएको थियो ।

साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्न र उक्त ठाउँलाई भानुग्राम बनाउने उद्देश्यले मञ्चले गुरुयोजनासमेत बनाएको थियो । गुरुयोजना अनुसार भानुभक्तको घर २ तलाको हुनेछ । १० रोपनी क्षेत्रफलमा फैलिएको जग्गाभित्र भानुभक्तको घरसहित पोखरी, फूलबारी, घरबास धर्मशाला, संग्रहालय, भ्युटावर, चौतारा लगायतका पूर्वाधार निर्माण गर्ने लक्ष्य छ ।

तपाईको प्रतिक्रिया