जापानका नयाँ सम्राट नारुहितोले सम्हाले राज गद्दी

समाधान संवाददाता २०७६ वैशाख १८ गते १३:४९

एजेन्सी, जापान

जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राज गद्दी सम्हालेका छन्।

उनी जापानी राजतन्त्रको इतिहासमा राज गद्दी सम्हाल्ने १२६ औं राजा भएका छन्।

Advertisement

शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उनलाई मङ्गलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतीक, एउटा बहुमूल्य रत्न दिइएको थियो। उक्त समारोहमा पूर्वसम्राट अकिहितोको पनि उपस्थिति थियो।

राज गद्दीमा आसिन भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै सम्राट नारुहितोले आफू बुबाकै पदचिह्नमा रहेर शान्तिका लागि कार्य गर्ने तथा जनताको सुखदुःखमा सधैं साथ रहने वचनबद्धता प्रकट गरे।

Advertisement

विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा ‘क्रिसेन्थिमम थ्रोन’ नाम दिइएको विशिष्ट रूपमा सजाइएको राज गद्दीमा राखिएको थियो। उनका बुबा सम्राट अकिहितोले मंगलबार राज गद्दी त्यागेका थिए।

 जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राज गद्दी त्याग गरेको यो पहिलो पटक हो।

‘मैले विशेष जिम्मेवारी ग्रहण गरेको बारेमा सोच्दै गर्दा ममा गम्भीरताको अनुभूति भएको छ,’ नारुहितोले भने। आफ्ना बुबाको शान्तिप्रतिको निष्ठाबारे टिप्पणी गर्दै नारुहिताले सम्राट अकिहितो र विगतका सम्राटहरूले कोरेको मार्गलाई आफूले गम्भीर रूपमा प्रतिबिम्बित गर्ने बताए।

उनले जापानको संविधानप्रति पूर्ण बफादार रहने प्रतिबद्धता व्यक्त गरे। संविधान बमोजिम जापानी सम्राटलाई राजनीतिक अधिकार हुँदैन। तर जापानी राजतन्त्रले राष्ट्रिय प्रतीकका रूपमा जिम्मेवारी वहन गर्ने परम्परा छ। उनले भने, ‘म जनताको खुसी तथा मुलुकको विकासका साथै विश्व शान्तिका लागि पूर्ण इमान्दारीका साथ कार्य गर्नेछु।’

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका नारुहितोलाई २८ वर्षको उमेरमा राज गद्दीको उत्तराधिकारी घोषणा गरिएको थियो । उनको विवाह सन् १९९३ मा मासाकोसँग भएको थियो।

जापानको राजसंस्था विश्वकै सबभन्दा पुरानो मानिन्छ। जापानी समाजमा ईश्वरको रूपमा लिइने राजसंस्थाको प्रारम्भ इसापूर्व ६०० देखि भएको मानिन्छ।

राज गद्दी त्यागेका अकिहितोलाई जापानी भाषामा ‘जोको’ भनेर सम्बोधन गरिनेछ। जोकोको अर्थ ‘बडासम्राट’ हो।

नारुहितो आधुनिक विश्वका नयाँ सम्राट हुन्। पिता पुर्खाभन्दा उनका सोचाइ र व्यवहार फरक छन् । अकिहितोको तीन दशकको राज्यकालमा जापानी राजतन्त्रको ‘युद्धउन्मूख’ विगतको भूमिकामा सुधार ल्याउनेतर्फ केन्द्रित थियो ।

नारुहितोकी आमा मिचिकोको जन्म नै सामान्य परिवारमा भएको थियो। मिचिकोको अध्ययन इसाई स्कुलमा भएको थियो। सम्राट अकिहितो र साम्राज्ञी मिचिकोले जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने प्रयत्न गरेका थिए। उहाँहरूले अशक्तता भएका मानिसहरू, विभेदमा परेका र प्राकृतिक विपदमा परेका व्यक्तिसँगको भेटघाटमा समय खर्चिएका थिए।

नारुहितोको राज्यभिषेक समारोहमा उनकी पत्नी साम्राज्ञी मासाको र छोरी आइकोलाई प्रवेश दिइएको थिएन । यो विशेष समारोहमा पुरुषहरुलाई मात्र प्रवेश गर्न दिइने प्रचलन छ । तर जापानी मन्त्रिपरिषदकी एक सदस्यलाई भने उक्त समारोहमा प्रवेश दिइएको थियो। उनी त्यस समारोहमा सहभागी हुन पाउने एकमात्र महिला थिइन्।

सम्राट नारुहितोको राज्याभिषेकलाई जापानीहरूले निकै महत्व र उत्साहका साथ स्वागत गरेका छन् । विशेष समारोह भइरहेको राजदरबारको बाहिर धेरै मानिस भेला भएका थिए । केही मानिस पूर्व सम्राट अकिहितोको बिदाई हेर्न भेला भएका थिए भने केही नयाँ सम्राटको आगमनको प्रतीक्षामा थिए ।

यही दिनको सम्झनामा केही व्यक्तिले विवाह पनि गरेका थिए । जापानमा मङ्गलबार मध्यरातपछि नयाँ युग ‘रेवा’ सुरू भएको थियो ।

जापानको संविधान बमोजिम राजनीतिक अधिकारविहीन राजतन्त्रलाई प्रतिकका रूपमा लिइन्छ । युद्धताकाका सैनिक सरकारहरुले राजतन्त्रलाई जीवित भगवानका रूपमा लिने प्रचलन थियो तर सन् १९४५ मा जापान पराजित भएपछि नारुहितोका हजुरबुबाले सक्रिय राजतन्त्र त्यागेका थिए।

नारुहितोले बुबा अकिहितोको पदचिह्नमा हिँड्ने र आमजनतासँग नजिकमा रहेर काम गर्ने बताएका छन्।

राजप्रासादका बारेमा जानकारहरूले सम्राट नारुहितोले विश्वका जल्दाबल्दा विषयमा ध्यान केन्द्रित गर्ने सम्भावना रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया