पाेखरामा मजदुर दिवसः कम्युनिष्टका नारा एक, भेला अनेक

समाधान संवाददाता २०७६ वैशाख १९ गते ८:४६

श्याम कुँवर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) गण्डकी र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)कास्कीले बुधबार अलगअलग रुपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन् । जब यी दुवै पूर्व एमाले र माओवादी केन्द्रका भातृसंस्था हुन् ।

कम्युनिस्ट पार्टीको नारै हुन्छ—संसारभरका मजदुर एक हौं । तर पार्टी नै एक भइसकेकाहरुका मजदुर संगठनले भने दिवस धरि एक भएर मनाउन सकेनन् । उता, दुई पार्टी एकीकरण क्रममा चयन भएका पार्टीका गण्डकी प्रदेश अन्तर्गतका जिल्ला अध्यक्ष र सचिवहरुको सपथ मजदुर दिवसकै दिन पारेर बुधबार गरिएको थियो ।

Advertisement

बरु पार्टी एकीकरण नहुँदै गत वर्ष संयुक्त रुपमा मनाएका थिए । दुबै ट्रेड युनियन यसपालि भने एकै ठाउँ उभिन सकेनन् । तर पार्टी एकीकरण भएपछि पनि ट्रेड युनियनहरुले कास्कीमा फरकफरक रुपमा श्रमिक दिवस मनाए । काठमाडौंमा भएको केन्द्रीय कार्यक्रम सबै टे«ड युनियनहरुले संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसिसी)ले संयुक्त रुपमा श्रमिक दिवस मनाएका छन् ।

जिफन्ट गण्डकी प्रदेश कमिटी पोखराले गरेको कार्यक्रममा पार्टीका स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि थिए । पार्टीका स्थायी समिति सदस्य सोमनाथ प्यासीको प्रमुख आतिथ्यतामा अन्टुफ कास्कीको कार्यक्रम भएको थियो ।

Advertisement

नेकपाका गण्डकी प्रदेश कमिटीका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीले मजदुर आन्दोलनलाई एकताबद्ध गर्न नसकेको बताए । ट्रेड युनियनहरुलाई एक ठाउँमा ल्याउन नसक्नु पार्टीको कमजोरी रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले नेताहरु दुबै ट्रेड युनियनले गरेको कार्यक्रममा यता जाने कि उता भन्ने समस्यामा रहेको टिप्पणी गरे ।

‘बलबुता र क्षमताले भ्याएसम्म गण्डकी प्रदेशको मजदुर आन्दोलनलाई एकताबद्ध गर्ने छौं,’ नेता गुरुङले भने, ‘श्रमिकका सवाललाई साँच्चीकै रुपमा परिणाममा परिणत गर्न मजदुर आन्दोलनलाई सुदृढ गर्नु आवश्यक छ ।’ नेता गुरुङले श्रमीकहरु कम्युनिस्ट आन्दोलनको भरपर्दो शक्ति भएकाले थोरैधेरै राजनीतिकरण हुने बताए । मजदुर र किसान विरोधी कानुनहरुलाई खारेज गर्ने उल्लेख गर्दै उनले प्रदेशमा श्रममैत्री कानुन बनाउने प्रतिबद्धता जनाए ।

नेकपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले जनवर्गीय संगठनको एकीकरणको काम पुरा नहँुदा सबै श्रमिक एकै ठाउँमा आउन नसकेको बताए । दुबै ट्रेड युनियनले कास्की जिल्ला र प्रदेशले छुट्टाछुट्टै रुपमा कार्यक्रम गरेको उल्लेख गर्दै अध्यक्ष पाण्डेले जनवर्गीय संगठनको समायोजन, छलफल र एकताका लागि निरन्तर लाग्ने प्रतिबद्धता जनाए । उनले पार्टीको स्पिरिट अनुसार काम नहँुदा ट्रेड युनियनहरुमा समस्या देखिएको उल्लेख गरे ।

नेकपाका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले श्रमिकका सवाललाई नीतिगत व्यवस्था गर्दै कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त गरे । उनले सत्ता पक्षलाई पार्टीले आवश्यक निर्देशन दिन पर्ने बताए ।

नेकपा कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेशका सदस्य कृष्ण थापाले दुबै ट्रेड युनियनको कार्यक्रमलाई एउटै मञ्चमा गर्ने प्रयास गरे पनि सफल नभएको बताए । अध्यक्ष थापाले दुबै कार्यक्रममा आफु र सचिव बखानसिंह गुरुङ एकैसाथ गएको उल्लेख गरे । उनले आगामी दिनमा दुबै युनियनलाई एउटै बनाएर अभिभावकीय भूमिका खेल्ने बताए । अध्यक्ष थापाले विगतमा ट्रेड युनियनसँग गरेका सम्झौता जस्ताको तस्तै कार्यान्वयन गर्न पर्ने धारणा राखे ।

जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश बडालले गण्डकी प्रदेश र पोखरा महानगरले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्ने माग गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चूडामणि जंगली, जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्री, सचिव लीलाबहादुर कार्की लगायतले बोलेका थिए । ‘सबै श्रमिक र रोजगारदातालाई आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान भन्ने नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस बुधबार मनाइएको हो ।

श्रमिक दिवसको अवसरमा नेपाल टे«ड युनियन महासंघ(जिफन्ट) गण्डकी प्रदेश कार्यालयले सचेतनामूलक र्‍यालीसमेत निकालेको छ । पोखरा ९ बसपार्कबाट सुरु भएको र्‍याली पृथ्वीचोक सभागृहचोक, सिर्जनाचोक हुँदै फर्केर पोखरा सभागृहमा श्रमिक सभामा परिणत भएको थियो ।

स्याङ्जामा पनि छुट्टाछुट्टै कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टी नेकपाको जिल्ला स्तरसम्म पार्टी एकता टुंगिए पनि स्याङ्जाका मजदुर भने विभाजित देखिएका छन् । पूर्वएमालेनिकट नेपाल टे«ड युनिय महासंघ र पूर्व माओबादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ स्याङ्जा १३० औ अन्तर्राष्ट्रिय श्रमिक दिवस नै छुट्टाछुट्टै कार्यक्रम गरी मनाए । जब कि उनीहरुको नारा हो—संसारभरका मजदुरहरु एक हौं ।

जिफन्टले गरेको कार्यक्रमा नेकपा गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले सम्बोधन गरे । अखिल नेपाल ट्रेड युनियन महासंघले गरेको कार्यक्रममा प्रदेश सदस्य शैलेन्द्र घिमिरेले सम्बोधन गरे ।

नेकपा नेता नेपालीले श्रम र श्रमजीवीलाई राज्यले सम्मान गर्नुपर्ने विचार व्यक्त गरे । मे १ श्रमिकको लागि महान दिन भएको बताए । ‘मजदुरको श्रम र पसिना सिँचित नगरेसम्म सरकारले लिएको समृद्धिको नारा अधुरो हुन्छ,’ उनले भने । सचिव नेपालीले वैदेशिक रोजगारीमा गएका सबै समृद्ध देश बनाउन आफ्नै गाउँ फर्कनुपर्ने खाँचो औंल्याए । नेकपा केन्द्रीय सदस्य सीता सुन्दासले श्रमजीवी मजदुरको अधिकार सुनिश्चित गर्ने पार्टी सत्तामा भएकाले मजदुरको हित हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे, प्रदेश सदस्य सीमा क्षेत्री, रामबहादुर थापा, नगर अध्यक्ष तारा शर्मा, सुवास खाती लगायतले मन्तव्य राखे । अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा घिमिरेले सम्पूर्ण मजदुर एकजुट हुनुपर्ने भन्दै मजदुरको हकहितका लागि अखिल नेपाल टे«ेड युनियन महासंघ कटिबद्ध रहेको बताए ।

कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष नारायणप्रसाद लम्साल, संगठनका जिल्ला सचिव शिव ढकाल, वडा अध्यक्ष निर्मलकुमार शेरचन, नेकपाका नेता मनबहादुर थापा, संघ ताम्राकार, डिलबहादुर मोची लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया