राज्याभिषेकको तीन दिनअघि थाई नरेशले गरे आफ्नै अंगरक्षकसँग चौंथो बिहे

समाधान संवाददाता २०७६ वैशाख १९ गते ११:०८

एजेन्सी

राज्याभिषेकको तीन दिनअघि थाई नरेश महाबजिरालोङकोरनले आफ्नै अगंरक्षकसँग तेस्रो बिहे गरेका छन् ।

६६ बर्षीय नरेशले ४० बर्षीया सुथिदासँग बुधबार बिहे गरेको थाई राजदरबारले जनाएको छ । सुथिदाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समयसम्म काम गरेकी छन् । शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका थिइन् । त्यसैबेला थाई यूवराजले उनलाई भेटेको कतिपय सञ्चारमाध्यामले लेखेका छन् ।

थाई नरेश युवराजले नै उनलाई राजदरबारको  सुरक्षा हेर्ने निकायमा राखेका थिए । युवराजको सुरक्षामा राम्रो काम गरेको भनेर उनले सन् २०१२मा पदक पाइन् । अहिले सम्म उनले छ वटा पदक पाइसकेकी छन्। 

सन् २०१३ मा उनलाई मेजर जनरलमा पदोन्नती गरियो । आफू राजा भएपछि थाई नरेशले उनलाई फेरि पदोन्नती गरेर ‘फुल जनरल’ बनाएका थिए । अहिले  सुथिदा राजाको सुरक्षा हेर्ने निकायको उपप्रमुख छिन् ।

बुवा भुमिवल अदुल्यादेजको तीन बर्षअघि मृत्यु भएदेखि थाई नरेशले गद्दी सम्हाल्दै आएका छन् । उनको राज्याभिषेक आउँने शनिबार हुँदैछ ।

नरेश र सुथिदाबीच प्रेम सम्बन्ध भएको थाई राजदरबारमा चर्चा चलेपनि त्यसबारे सार्वजनिकरुपमा टिकाटिप्पणी भएका थिएनन् ।

थाईल्याण्डमा राजपरिवारका सदस्यबारे प्रेसमा वा सार्वजनिक रुपमा टिप्पणी गरिँदैन । केही विदेशी संचारमाध्यमले भने यो प्रेमबारे लेखेका थिए ।

थाई नरेशले तेस्री श्रीमतीसँग पाँचबर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए ।उनीहरू बीच १३ बर्ष लामो वैवाहिक सम्बन्ध थियो ।  

यो भन्दा पहिलेका तीन विवाहबाट उनका सात सन्तान छन् । 

तपाईको प्रतिक्रिया