समानान्तर पार्टीकाे कार्यालय तोडफोड

समाधान संवाददाता २०७६ वैशाख १९ गते ११:५१

कृष्ण न्यौपाने
दमौली

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी निकट समूहले स्थापना गरेको नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताले तनहुँको व्यास नगरपालिका २ स्थित मालपोत लाइनमा रहेको जोशी निकटको पार्टी कार्यालय बुधबार तोडफोड गरेका हुन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले आयोजना गरेको र्‍यालीमा सहभागी कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड च्यातेका हुन् । जोशी निकट कांग्रेस तनहुँका प्रवक्ता हरिशरण पण्डितले कायरतापूर्वक पार्टीको बोर्ड च्यातिएको प्रतिक्रिया दिए ।

Advertisement

उनले पार्टी कार्यालय तोडफोड गर्नु आपराधिक काम भएको भन्दै दोषीलाई कारबाहीको माग गरे । उनले भने, ‘आफैंले मान्दै आएको श्रद्धेय नेताको तस्बिर र चुनाव चिन्ह भएको बोर्ड च्यातेर राम्रो काम गरेनन् ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र पूर्व सहमहामन्त्री जोशीबीचको टकरावले तनहुँमा समानान्तर पार्टी समिति गठन भएको छ । गत माघ ८ गते जोशी पक्षले विशेष अधिवेशन भन्दै समानान्तर समिति गठन गरेका थिए ।

Advertisement

गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका जोशीको उम्मेदवारी पौडेलको निवेदनका आधारमा खारेज भएपछि जोशी पौडेलविरुद्ध आक्रामक बन्दै आएका छन् । उम्मेदवारी खारेज भएसँगै विपक्षीलाई जिताउन खुलेर लागेको आरोप जोशीविरुद्ध लागेको थियो ।

तपाईको प्रतिक्रिया