युवाले खोले हाम्राे सहकारी संस्था

समाधान संवाददाता २०७६ वैशाख २० गते १३:५१

समाधान संवाददाता
दुलेगौंडा

शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्रमा क्रियाशील युवाले स्थापना गरेको सहकारी सञ्चालनमा आएको छ । शुनपा ४, दुलेगौंडामा स्थापित हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नगरपालिकाका मेयर किसान गुरुङले उद्घाटन गरे । उनले सहकारीको सिद्धान्त र मर्म अनुसार सहकारी सञ्चालन गर्न आग्रह गरे । ‘नगरमा थुप्रै सहकारी सञ्चालनमा छन्, उनले भने, ‘अझैं पनि उनीहरु उद्देश्यमा पुग्न सकेका छैनन् ।’

युवाहरु मिलेर स्थापना गरेकाले यस सहकारी आफ्नो उद्देश्यमा पुग्ने मेयर गुरुङले विश्वास व्यक्त गरे । उनले विपन्न वर्गलाई आम्दानीको स्रोत बनाउन सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोख्रेलले वित्तीय संस्था धेरै हुने क्षेत्रमा विकासको लहर बढ्ने बताए ।

Advertisement

उनले सञ्चालनमा आएको सहकारीले उत्पादन क्षेत्रमा लगानी गरी रोजगारमा टेवा पुर्‍याउनुपर्ने बताए । सहकारीले पुँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने युवराज भट्टराईले जानकारी दिए ।

सहकारीका कोषाध्यक्षमा सुजन श्रेष्ठले सहकारीले प्रदान गर्ने सेवाबारे जानकारी दिए । उक्त अवसरमा वडा नम्बर ४ का अध्यक्ष शिवकुमार श्रेष्ठ, ७ का अध्यक्ष रामबहादुर क्षेत्री थापा, शुक्लागण्डकी नागरिक समाजका सहसचिव विवेक खनाल, सहकारीका उपाध्यक्ष शिवबहादुर विक, सचिव कृष्णकुमार श्रेष्ठ लगायतले छरिएको पुँजीलाई एकत्रित गरीउत्पादनमा लगाउन सहकारीको भूमिका महत्वपूर्ण हुने बताए । सहकारीमा ४० वर्ष मुनिका युवायुवतीमात्र आवद्ध छन् । हाल ७० युवा आवद्ध रहेको सहकारीमा सदस्य थपिँदै लगिने श्रेष्ठले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया