सिर्जना माविमा सांकेतिक भाषा प्रशिक्षण

समाधान संवाददाता २०७६ वैशाख २२ गते १३:३७

समाधान संवाददाता
पोखरा

सिर्जना बहिरा माध्यमिक विद्यालयले आयोजना गरेको सुनाइ अपांगतामा आधारित समावेशी शिक्षा, शिक्षक तथा सांकेतिक भाषा पुनर्ताजगी तालिम सकिएको छ । पोखरा महानगरपालिको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । समावेशी शिक्षा विशेषज्ञ डा. बाबुराम ढुंगाना प्रमुख प्रशिक्षक रहेको उक्त तालिममा ३४ जना सहभागी थिए ।

तालिममा आइसिटीसम्बन्धी इ. बद्री लामिछाने सहजीकरण गरेका थिए । तालिम सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद शर्मा र शिक्षका किरण श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रम सञ्चालक दुवै जना बहिरा हुन् । मानव इतिहासमा विचार र भावनाको आदानप्रदान गर्ने सबैभन्दा पुरानो माध्यम नै सांकेतिक भाषा बनेको थियो ।

Advertisement

तालिम समापनमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य राजीब पहारीले बहिराको हक र हितका पक्षमा सदैव आवाज उठाइरहने प्रतिबद्धता जनाए । शिक्षक रुद्र पहारी र साबित्री बरालले बहिरा विद्यालयको इतिहासमा पहिलो पटक बहिरा शिक्षणमैत्री तालिम प्राप्त गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बरालले तालिममा सिकेका कुरा कक्षा कोठामा प्रयोग हुनुपर्ने कुरामा जोड दिए । तालिम १५ दिनसम्म सञ्चालन भएको थियो ।

सामान्य तालिमभन्दा फरक प्रकृतिको तालिम भएकाले शिक्षकहरुको क्षमता अभिवृद्दि गर्न प्रभावकारी उपयोगी भएको प्रधानाध्यापक अनीता सिग्देलले बताइन् । प्रअ सिग्देलले कान नसुन्ने र नबोल्ने बालबालिकाका लागि मात्र अध्यापन गराइने उक्त विद्यालयमा निशुल्क आवाससहित अध्ययन गर्ने व्यवस्था मिलाइएको बताइन् ।

Advertisement

उनले भनिन्, ‘म सबै अभिभावकलाई आफ्ना घरमा भएका बहिरा वा सुस्त श्रवण व्यक्तिलाई सांकेतिक भाषा सिक्न र सिकाउने उपाय, व्यवस्था मिलाईदिनुहोस् भनी अनुरोध गर्दछु ।’ सिर्जना बहिरा विद्यालयमा ४६ जिल्लाका २ सय ६४ जना विद्यार्थी अध्ययनरत छन् ।

सरकारले बहिरा समुदाय र सांकेतिक भाषालाई पहिलोपटक बजेट वक्तव्यमा सम्बोधन गरेकोे छ । बजेटको ४३ औं बुँदामा नेपाली सांकेतिक भाषाको विकास तथा अनुसन्धान, दोभाषे तालिम र यसको व्यावसायिक विकासलाई प्रोत्साहित गरिने उल्लेख छ ।

सांकेतिक भाषा हातका इसारा, ओठ र अनुहारको हाउभाउले अक्षर, शब्द वा परिस्थितिलाई बुझाउँछ । सबैतिर सांकेतिक भाषा एउटै हुन्छ तर शब्दकोश फरक हुन्छ ।

तपाईको प्रतिक्रिया